काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिनेक्रममा यतिबेला संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का द्वीपक्षीय भेटघाटमा व्यस्त रहनु भएको छ । भेटवार्ता कति फलदायी भयो त्यो त समयक्रमले बताउँदै जानेछ, तर नेपालको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकका समकक्षीसँग भेटवार्ता गर्नु भएका परराष्ट्रमन्त्री खड्काका तस्वीरहरु भने स्वाभाविक देखिएका छैनन् ।
परराष्ट्र मन्त्रालय र राष्ट्रसंघस्थित नेपाली नियोगले सार्वजनिक गरेका द्विपक्षीय भेटघाटका तस्वीरहरुमा नेपालको झण्डा कतै पनि देखिएका छैनन् । तर उहाँका समकक्षी सबैजसोका तस्वीरसँगै उनीहरुका देशका झण्डा छन् ।
अर्थात् डा. खड्काले अरु नै देशका झण्डाको आडमा बसेर द्विपक्षीय भेट गरेको प्रष्टै देखिएको छ, जुन नेपाली कुटनीतिक व्यवस्थापनको एउटा लाजमर्दो विषय हो ।
हतार हतारमा नियुक्ति, शपथ र सोही दिन अमेरिकाको न्यूयोर्कतर्फ उड्नु भएका खड्काले शनिबार ७६ औँ महासभाका लागि अध्यक्षमा चुनिनु भएका माल्दिभ्सका विदेशमन्त्री अब्दुल्ला शाहिदसँग भेटवार्ता गर्नुभयो ।
साथै, बंगलादेशका परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, कुवेतका विदेशमन्त्री अहमद नासेर अल–मोहम्मद अल–अहमद अल जाबेर अल–सवाहसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
बंगलादेशका विदेशमन्त्री एके मोमेनसँगको तस्वीरमा डा. खड्का बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको तस्वीरको मुन्तिर देखिनु भएको छ । यसै गरी राष्ट्रसंघको शान्तिकार्य विभागको उपमहासचिव जो पिएगा लाक्वाँसँग भेटवार्ता समेत गर्नुभयो ।
परराष्ट्रमन्त्री डा खड्काले आइतबार भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्नु भएको छ । परराष्ट्रमन्त्री खड्काले सोमबार राष्ट्रसंघमा सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रसंघमा यतिबेला परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सम्मिलित प्रतिनिधिमण्डलका साथै राष्ट्रसंघस्थित नेपाली नियोग क्रियाशील छ । तर यति सामान्य शिष्टाचार र व्यवस्थापन पनि गर्न नसक्ने अवस्था कसरी सिर्जना भयो ? सर्वत्र आलोचना भइरहेको छ ।