१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सगोत्रको विवाह धार्मिक अपराध हो ?



अ+ अ-

विवाह नै सृष्टिको जरो हो, समाजको बीउ हो, जीवनको आधार हो, अस्तित्वको अंकुर हो । पशु, पंक्षीहरुले विधिविधानरहित तरिकाले सन्तान जन्माउने हुँदा उनीहरुको विवाह हुँदैन । मानिसलाई सामाजिक प्राणी बनाउने एउटा आधार विवाह हो । यसकारण यौनधन्दालाई विवाह भन्न सकिँदैन ।

सामाजिक, धार्मिक, सांस्कृतिक विधिविधानलाई पालन गरी, फरक गोत्र र पाछाका युवा–युवतिले वंशपरम्परा चलाउन गृहस्थ जीवनमा प्रवेश गर्नुलाई विवाह भनिन्छ । विशेष रूपेण वाभते अनेनेति विवाहः अर्थात्, विशेषरूपले वहन गरिने वा जिम्मेवारपूर्ण तरिकाले सम्पादन गरिने हुनाले विवाह भनियो । महादेवसँग सती र पार्वती, विष्णुसँग लक्ष्मीको विवाह भएकाले यो प्राचीन परम्परा भएको पुष्टि हुन्छ ।

कुलदेवता, इष्टदेवता र विद्वान्लाई साक्षी राखी दुबै पक्षका अभिभावक बसेर विवाहपूर्व वर वधूको कुल, स्वभाव, गोत्र, चिनालाई ध्यान दिई पारिवारिक जिम्मेवार वहन गर्न सक्ने नसक्ने छलफल गरिन्थ्यो । अभिभावकको निर्णय ठीक नलागे केटाकेटीले स्वविवेकको प्रयोग गर्न सक्थे तथापि छाडापन अत्यन्त कम थियो ।

युग परिवर्तनसँगै बसाइँसराइँ, जनसंख्यामा वृद्धि, संस्कार कमजोर हुँदै गएपछि एउटै पिता–पुर्खाका सन्तानहरूमा विवाह हुने अवस्था देखा प-यो । ऋषिहरूले छलफल गरी जुन ऋषिको सन्तान हो उही गोत्र राख्ने नियम तयार गरे । जस्तै भारद्वाज ऋषिका सन्तानलाई भारद्वाज गोत्र, कश्यप ऋषिका सन्तानलाई काश्यप गोत्र आदि । गोत्र राख्दा साक्षी बसेका ऋषिको संख्यालाई प्रवर भनिन्छ ।

मरीचेस्तनयो धातुः पुत्रो यः कश्यपो मुनिः ।
स धर्मिष्ठः सृष्टिकर्ता विद्याज्ञप्तः प्रजापतिः ।।
–शिवपुराण, (रुद्रसंहिता, युद्धखण्ड २७।४)

अर्थात्, “ब्रम्हा पुत्र मरीचिबाट कश्यप पैदा भए, धर्मात्मा कश्यप ब्रम्हाको आज्ञाअनुसार सृष्टिकर्ता प्रजापति बने ।” पुराण आदि ग्रन्थहरूले कश्यप र मनुका सन्तानलाई मानव (मानिस), कश्यप र दनुका सन्तानलाई दानव भनेका छन् । मानवका पुर्खा कश्यप ऋषि भएकाले गोत्र थाहा नहुनेहरूको काश्यप गोत्र राखिन्छ ।

कश्यप ऋषिका सन्तानलाई शारीरिक सम्पर्कबाट वंश परम्परा चलाएकाले उनलाई प्रजापति (मानवका सृष्टिकर्ता) भनिन्छ । अठासी हजार ऋषिमुनिहरूको चर्चा पुराणमा प्रशस्त पाइन्छन् । यीबाहेक अन्य ऋषि, महर्षिहरू पनि थिए । सभ्यता र संस्कृति संरक्षण गर्दै वंशपरम्परालाई सुव्यवस्थित गराउन एउटै ऋषिका सन्तानबीच विवाह नहोस् भनी गोत्र राखियो ।

सन्तानहरू शारीरिक र मानसिकरूपले कमजोर हुने, तामसी वा राक्षसी प्रवृत्तिका हुने, वंशपरम्परा तुहिनेलगायतका समस्या आउने हुनाले सगोत्र विवाहमाथि प्रतिबन्ध लगाइयो । किरातवर्ग (राईहरू)मा एउटै पाछामा विवाह गर्ने चलन छैन । उनीहरूले प्रयोग गर्ने सामे र पाछाले गोत्र र प्रवरकै काम गर्दछ । थर र जात फरक भए पनि एउटै गोत्रमा विवाह गर्दा एकै आमाबुबाका सन्तानबीच विवाह भएको मानिने हुनाले यसो गर्नु महापाप हुन्छ । विवाह न त यौनानन्दका लागि मात्र गरिन्छ, न त दाइजो प्राप्तिका लागि । संस्कार, धर्म, चिन्तन फरक पर्दा विवाह दुर्घटनामा पर्छ, जीवन निरश बन्छ र आत्महत्याजस्तो विकृति मौलाउँछ ।

अन्तरजातीय र सगोत्रीय विवाहले नेपालीसमाज दिन प्रतिदिन प्रताडित बनेको छ । आवेशमा आएर, समाजलाई देखाउन, कसैको शेखी झार्न, चुनौती दिन यस्ता विवाह गर्ने क्रम बढेको छ । बुझ्नभन्दा पनि जुद्धनका लागि विवाहमा पुग्दा केही दिनपछि सम्बन्ध विर्सजन हुन पुगेका छन् । विवाहपछि जोडीहरु अग्रजसँग आशीर्वाद लिन जानुभन्दा अदालत पुगेको हृदयविदारक दृश्य समाजमा छताछुल्ल देखिन्छ । पढेका, बुझेका, चिनिएकाहरुले नै विवाहलाई हाउगुजी बनाएका छन् ।

असपिण्डा च या मातुरसगोत्रा च या पितुः ।
सा प्रशस्ता द्विजातीनां दारकर्मणि मैथुने ।।
–मनुस्मृति (३।५)

अर्थात्, “संस्कारयुक्त व्यक्तिले आमातिर सात पुस्ताभित्र र बुबाको गोत्रमा पर्ने कन्या विवाह गरेर सन्तान उत्पादन नगरोस् ।” वैज्ञानिकहरूले पनि एउटै परिवारभित्र विवाह गर्नु विभिन्न कारणले नराम्रो हुने विषयलाई परीक्षण गरी स्वीकारेका छन् । मानव मोजका लागि मात्र होइन मुक्ति र उपकारका लागि पनि जन्मिएको हो । विवाहमा प्रयोग गरिएका प्रत्येक मन्त्र क्रियाकलाप र सामग्रीमा सामाजिक, वैज्ञानिक, धार्मिक आदि अर्थ एवं रहस्य लुकेका छन् । जस्तै पाँचवटा केराको घरी(थाम)बाट जगियाको निर्माण गरिन्छ । पाँच केराको बोटले पञ्चतत्वद्वारा भौतिक शरीर बनेको तथ्यलाई बुझाउँछ ।

पूर्वदिशामा तीनवटा केराको घरी राखिन्छ जो ब्रम्हा, विष्णु, महेशको स्वरूप हुन् । जसरी केरा एकपटक रोपेपछि आफैँ फैलँदै, झाँगिदै जान्छ त्यसैगरी विवाहितहरूको वंश, ज्ञान, वैभव आदि मौलाओस्, निरन्तरता पाओस्, पुस्तान्तरण होस् भन्न खोजिएको हो । जगियामा बाँस र शालको साना हाँगा राखिन्छ । बाँस अत्यन्त उपयोगी वनस्पति हो ।

तामाको रूपमा तरकारी र अचार खान, वस्तुभाउलाई घाँस खुवाउन, काठलाई घरायसी प्रयोजनमा, शीतलता प्राप्त गर्न, फोहोर पानीलाई शुद्धीकरण गर्न बाँस परम उपयोगी हुन्छ । बाँसबाट डोका, थुन्चे, भकारी, मान्द्रोलगायतका दैनिक उपयोगी सामग्री निर्माण गरिन्छ । शाल (सखुवा)को आयु चार हजार वर्षसम्म हुन्छ भन्ने उखान छ–हजार बढे, हजार पडे, हजार लढे, हजार सडे अर्थात् शाल हजार वर्षसम्म बढ्छ, हजार वर्षमा बलियो हुन्छ, हजार वर्षसम्म भुईँमा लडेर पनि कुहिँदैन र हजार वर्षको अवधिमा पूर्णरूपले कुहिन्छ । वरवधूको पारिवारिक जीवन त्यति नै लामो होस् जति शालको छ । शाललाई पवित्र वृक्ष मानिन्छ, यज्ञ गर्दा यसैको समिधा बनाइन्छ । शालको वृक्षजस्तै वरवधूको सम्बन्ध बलियो होस्, वंशतन्तु फैलियोस् भन्ने अर्थमा जगियामा शाललाई राखिन्छ ।

विवाहमा लेखिने लग्नपत्रिका नै श्रीमान् र श्रीमती बनेको तिथि मिति बताउने धार्मिक एवं कानुनी प्रमाण हो । प्राचीन कालमा यसैलाई विवाह दर्ताको कागज मानिन्थ्यो । कति बजेर कति मिनेटमा विवाह भयो भन्ने जानकारी विवाहपत्रिकाले दिन्छ । वरले वधूलाई सिन्दुर लगाएर पारिवारिक जीवनमा बाँधिएको साक्षीका लागि जन्ती जाने परम्पराको विकाश भयो ।

पारिवारिक सुखशान्ति होस् भनी दुबै पक्षका मिलेर गीत र श्लोकमा दोहोरी खेल्ने गर्दछन् । पञ्चेबाजा बजाएर मङ्गलमय जीवनको कामना गरिन्छन् । यज्ञकुण्डदेखि बेहुलीको सिउँदोसम्म राखिएको सेतोकपडामा नटुटाईकन सिन्दुर तीनपटक लगाइन्छ । सेतो र रातोले सन्तान जन्माउने प्रक्रियाको बोध गराउँछ । यज्ञको आगो परमात्माको प्रतीक हो, यो अलौकिक साक्षी हो, जन्तीहरू लौकिक साक्षी हुन् । सिन्दुर रातो हुन्छ जसले शक्तिको प्रतिनिधित्व गर्छ । सिन्दुरलाई निधारको उपल्लो भागदेखि शिरको मध्ये भागसम्म लगाइन्छ । जसले गृहस्थ जीवनका लागि चाहिने शारीरिक, मानसिक, सहन एवं संयमशक्ति बढाउनका साथै सन्तान उत्पन्न गर्ने क्षमता वृद्धि गर्दछ । मन्त्रको शक्तिले वैवाहिकसम्बन्ध कहिल्यै चुडिँदैनथ्यो, फुस्कँदैनथ्यो, तुहिँदैनथ्यो । पण्डितले समाजलाई साक्षी राखी दुलाह र दुलहीलाई शर्तनामा गराउँछन् । जस्तै “तिमी र म कहिल्यै छुटिने छैनौँ, नमीठो वचन र व्यवहार हुने छैन आदि । म तपाईको कुटुम्बको रक्षा गर्नेछु, सधैँ मीठो बोल्नेछु, दुःखमा धैर्य र सुखमा सुखी बन्नेछु ।”

जन्तीले बेहुलीलाई घरमा ल्याएपछि रत्यौलीमा जम्मा भएका महिलालाई साक्षी राखेर घरपरिवारमा बुझाउँछन् । अहिले त पण्डितलाई कर्मकाण्ड पूरा गर्नै नदिने अवस्था आएको छ । सबैलाई भोज खान,फोटो खिचेर फेसबुकमा राख्न हतार हुन्छ । विवाहका कैयौँ कर्महरू छुटिराखेका, त्रुटिहरू भइराखेका छन् ।

पण्डित बोलाउनु एक प्रकारले औपचारिकता पूरा गर्नुमात्र भएको छ । यसले न त धर्मको रक्षा गर्दछ, न कर्म पूरा हुन्छ, न त कर्तव्यको वहन हुन सक्छ । समयानुकूल बनाउने नाममा दुई दिनको विधिलाई दुई घण्टाबाट दुई मिनेटमा सिमित गराउँदा विवाहका शास्त्रीय पक्षहरूको इतिश्री भएका छन् । यति विकृतिले नपुगेर अन्तरधर्म एवं सगोत्री विवाहको सुनामी ल्याएर धर्मको सर्वनाश गराउने अभ्यास हुन थालेको छ ।

भोज, दाइजो, उपहार आदिको आर्थिक तडकभडक देख्दा त गरिबले विवाह नै गर्न नसक्ने हो कि जस्तो भएको छ । विवाह आर्थिक धक्कु, राजनीतिक आडम्बर देखाउने अवसरजस्तो हुन पुगेको छ । मठ, मन्दिर, विहार, गुम्बामा गएर देवीदेवतालाई साक्षी राखी सिन्दुर र पोतेमात्र लगाएर शास्त्रसम्मत तरिकाले विवाह गर्न सकिन्छ ।

अनावश्यक ढोङ्गमा फस्न थालेपछि विवाहको सामाजिक, धार्मिक र सांस्कृतिक स्वरूप विलीन हुन पुगेका छन् । विवाहले नै केटालाई वर र केटीलाई वधू बनाउँछ । वरितुं योग्यो वर वरण गर्न योग्य पुरुषलाई वर भनिन्छ । ‘बध बन्धने धातुको अर्थ बाँध्नुहुन्छ । वध्नाति वरं÷पतिं धारयति स्वरूपं इति वधू आफ्नो पतिलाई असल आचरण, उचित व्यवहारले वशमा राख्ने नारीलाई वधू भनिन्छ । पच्चीस वर्षसम्म गुरुकुलमा अध्ययन गरी विदुषी बनेकी कन्या विवाहका लागि योग्य हुन्छिन् ।

बिहेपछि बेहुलीको भूमिका माइतीघरमा गौण हुन्छ, त्यसदिन बुबाले छोरीको गोत्र परिवर्तन गरेर ज्वाइँको गोत्रमा हस्तान्तरण गरिदिन्छन् । परमात्मालाई साक्षी राखेर एउटै परिवारका सदस्यबीचमा विवाह भयो भने त्योभन्दा ठूलो अर्को कुन अपराध होला र ? सगोत्र विवाह धार्मिक दृष्टिकोणबाट मात्र होइन सामाजिक हिसाबले पनि अवैज्ञानिक, असभ्य र जङ्गली मानिन्छ । आफ्नै कन्यालाई विवाह गरेर आफ्नैमा भिœयाइयो भने ज्वाइँलाई ससुराले ढोग्ने कि, ससुरालाई ज्वाइँले ढोग्ने ? एउटै घरका वधू र वर भए कन्यादान कसले दिने ? कसले लिने ? एउटै गोत्रको विवाह धर्मको सर्वनाश एवं सामाजिक, अपराध हुन्छ । यसले पशुवत् व्यवहार र आचरणको सृजना गराउँछ, छाडावादले प्रश्रय पाउँछ ।

फरक गोत्रमा विवाह भएकाले प्राचीन कालदेखि पारिवारिक जीवनमा द्वन्द्व, पारपाचुके, आत्महत्यालगायतका कुरीति र कुकृत्य आर्यक्षेत्रमा थिएन । जे गरे पनि हुन्छ, जस्तो पनि चल्छ भन्ने गलत प्रवृत्तिले समाज सर्वनाशको लक्ष्मण रेखानजिकै पुगेको छ ।

झट्ट हेर्दा विवाह केटा र केटीको निजि मामिलाजस्तो देखिए पनि त्यसको सम्बन्ध धर्म, समाज र राष्ट्रसँग रहन्छ । अनुत्पादक परम्परालाई छोड्नुपर्छ, विखण्डनकारी संस्कारलाई तोड्नुपर्छ तर निजि कर्मले असर पार्छ भने त्यसलाई स्वीकार गर्न हुँदैन । अन्तरजातीय विवाह पीडा बोकेर टिकेका छन् तर सगोत्रीय विवाहले पूर्णता पाएको दुर्लभ रुपमा पनि भेटिँदैन ।

सगोत्रमा विवाह गरेमा वंशमा खिया लाग्छ, वर्णशंकरको संख्या बढ्छ , चाण्डालहरू (बुबा–आमाले एउटै गोत्रमा विवाह गरेर जन्मेका सन्तानलाई चाण्डाल भनिन्छ)को जन्म हुन्छ । चाण्डालहरूसँग शरम (लाज) र श्रम हुँदैन । यसबाट परिवार, समाज, संस्कार, संस्कृति र राष्ट्र बर्बाद हुन्छ । यस्तै विकृति र वेथितिलाई सहन नसकी प्रकृतिले भूकम्प, सुनामी, कोरोनाजस्तै विनाशकारी समस्या उत्पन्न गर्छिन् । प्रकृति र संस्कृति भुल्दा केही वर्ष त सुखभोग गर्ला तर त्यसले कैयौँ पुस्तासम्म पीडा दिई समाजलाई उजाड बनाउँछ ।

विवाहकै माध्यमबाट भावीपुस्तालाई विरासत हस्तान्तरण गर्दै समाज र राष्ट्रको श्रीवृद्धि गर्ने दायित्व सुम्पिन्छ । राष्ट्रको सानो इकाई परिवार हो, परिवारमा धमिरा लाग्यो भने समाज भत्किन्छ, राष्ट्र ढल्छ । संस्कृतिलाई बचाउन, समाजलाई उठाउन, राष्ट्रलाई जोगाउन, असल नागरिक र पारिवारिक सदस्य चाहिन्छ । योग्य, कर्मठ, ज्ञानी र स्वाभिमानी सन्तान जान्माउन पनि सगोत्रीय विवाह गर्न हुँदैन ।