काठमाडौं । नेपाली कांग्रेस चौधौँ महाधिवेशनको संघारमा छ । यतिबेला सबैको कौतुहल कांग्रेसको केन्द्रीय नेतृत्व कस्तो आउला भन्नेमै छ । महाधिवेशनका लागि वडास्तरको सकिएर अहिले पालिकाको निर्वाचन चल्दै छ । ७० बर्ष लामो लोकतान्त्रिक इतिहास बोकेको नेपाली काँग्रेसभित्र पुस्तान्तरण देखि रुपान्तरणसम्मका वहसहरु तीब्र रुपमा चलिरहेको छ ।
मुख्य सवाल के हो भने यति लामो इतिहास र लोकतान्त्रिक परम्परा बोकेको काँग्रेस पार्टीको माउ भूमिकामा कस्तो व्यक्ति आउनुपर्छ भन्ने हो । अन्तिममा काँग्रेस सभापतिमा कति जना उम्मेदवार खडा हुने हुन् अहिल्यै भविष्यवाणी गर्नु हतार हुनेछ । आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो शक्ति बनाउने, ससक्त र बलियो कांग्रेस पछिल्लो पुस्तालाई हस्तान्तरण गर्ने आकांक्षासहित वर्तमान पार्टी सभापति शेरबहादुर देउवा अघि बढिसक्नु भएको छ । कांग्रेसको सभापतिका लागि दोस्रो कार्यकाल स्वभाविक दावेदारी हो । जिल्ला–जिल्लामा महाधिवेशनको माहौल तात्दै गर्दा सभापतिमा देउवा बाहेक केही नेताहरु उम्मेदवारी घोषणा गर्न प्रतिस्पर्धा गरिरहेको देखिन्छ ।
रामचन्द्र पौडेल, डा.शेखर कोइराला, विमलेन्द्र निधि, डा. शशांक कोइराला, प्रकासमानसिंह र कल्याण गुरुङलेसमेत पार्टी सभापतिको उम्मेदबार बन्ने प्रतिस्पर्धामा आफुलाई उतारेका छन् । एउटा बुझनुपर्ने कुरा के हो भने संसदीय लोकतान्त्रिक प्रणाली अंगालेका मुलुकका लागि राजनीतिक दल र संसदीय निर्वाचन महत्वपूर्ण पक्ष हो । अझै सबै तह र तप्काका जनताको मन जितेर सत्तामा पुग्ने र जनसेवा गर्नका लागि संसदीय निर्वाचन त एउटा ठूलो अवसर हो । यसैबाट नै जनआधारको पत्तो लाग्दछ ।
तर दुखद् संयोग नै भन्नुपर्छ कांग्रेस जस्तो संसदीय लोकतन्त्रको हिमायती पार्टीमा आफ्नै निर्वाचन क्षेत्रमासमेत चुनाव हारेका नेताको झन् चर्को स्वर सुनिन थालेको छ । गत संसदीय चुनाबमा आफ्नै निर्वाचन क्षेत्रमा असफल रामचन्द्र पौडेल, शेखर कोइराला र विमलेन्द्र निधिले कांग्रेस सभापतिमा प्रतिस्पर्धा गर्ने नैतिक आधार कति रहला ? अझै संसदीय चुनाव हारेका अनि पार्टीमा मनोनीत उपसभापतिको हैषियतमा रहेका व्यक्तिले नै चुनौती खडा गर्नु त झन् अनौठो बिषय बनेको छ । पार्टी सभापति देउवासंगै प्रतिस्पर्धामा उत्रने रणनीतिमा लागेका निधिले त झन् उनैबाट मनोनित उपभासभापतिबाट राजिनामा दिने न्यूनतम् नैतिकता पनि देखाएका छैनन् ।
यतिको लामो इतिहास बोकेको पार्टीमा आफ्नै निर्वाचन क्षेत्रमा हारेका व्यक्ति पार्टी सभापतिमा लड्न कुन नैतिक धरातलले दिन्छ ? जब की संसदीय लोकतन्त्रमा जनअनुमोदन न्यूनतम् शर्त हो । शेखर कोइरालाले त क्रान्तिको विगुल फुकेको विराटनगर जस्तो ठाउँमा पनि आफ्नो विरासतसमेत थाम्न सकेनन् । उनलाई विराटनगरका जनताले नै रुचाएनन् । काँग्रेसको गढ मानिने तनहँँुमा पौडेललाई हराउन किसान श्रेष्ठ नै काफी भए । यता निधिले जनकपुरमा राजेन्द्र महतोसँग प्रतिस्पर्धा गर्ने हैषियतसम्म देखाउन सकेनन् । आफ्नै निर्बाचन क्षेत्रमा चुनाव जित्न नसकेका नेताले ७० बर्ष इतिहास बोकेको जिवन्त पार्टीको नेतृत्व कसरी समाल्न सक्छन् भन्ने प्रश्न निसन्देह उठ्छ ।
दुखद संयोग नै भन्नुपर्छ, पौडेल, कोइराला र निधिको स्वार्थ लिप्साका कारण कांग्रेसमा विगतमा गुटहरु जन्मेका थिए । गुटकै आधारमा अवसरहरु उपभोग गर्ने दुषित मनस्थितिका कारण आज पनि कांग्रेस आक्रान्त छ । उनीहरुले भावि पुस्ताका लागि कस्तो नजिर बसाउलान् ? निश्चय नै संसदीय चुनाव हारेका नेता पार्टी सभापति भए भने तिन्ले लोकतन्त्रको गलत नजिर बसाउने छन् । गलत परम्परा बस्ने छ । यो कुरा पनि निश्चित छ की जनमत भन्दा नीजि स्वार्थ सिद्धीका लागि गरिने कर्मले कुनै हालतमा कांग्रेसको विचार र सिद्धान्त पक्षपोषण गर्न सक्दैन । अन्ततः आफै अवसरवादमा परिणत हुने खतरा रहन्छ ।
नेतृत्व हस्तान्तरण जनअनुमोदित अनि विधिवत र प्रक्रियागत रुपमा हुनुपर्छ । तब मात्र थिति बसाउन सकिन्छ । आफ्नै गृह जिल्लामा तिरस्कृत भएका व्यक्तिले संस्थागत परम्परा विकास हुन असंभव छ ।
देउवा, जो अहिलेसम्मका हरेक चुनावमा भारी मतले विजयी हुदै आएका छन् । कांग्रेसले पराजय भोगेको २०५१ र २०६४ को कठिन चुनावमा पनि देउवाले उत्साहजनक मतले विजय हासिल गरेका थिए । तसर्थ नेता बन्ने वा पार्टीको नेतृत्वमा पुग्ने नेताले जनताको अनुमोदन गर्नै पर्छ । आफ्नै निर्वाचन क्षेत्रमा चुनाव जित्न धुलमुल हुने व्यक्ति कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीको सभापति बन्न सम्भव छैन ।
त्यसैले अहिले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी गरेका कतिपय नेताहरु सभापतिको न्युनतम योग्यता पनि पुरा गरेका छैनन् भन्ने सकिने अवस्था छ । कांग्रेस सभापति भावी प्रधानमन्त्री हुन्छ । तसर्थ कांग्रेसभित्र जनताले रुचाएको र सबै तह र तप्काले भरोसा गर्न सक्ने व्यक्ति पार्टी सभापति बन्नु पछ, त्यो पात्रा अहिले र्निविवाद शेरबहादुर देउवा हुन् । उनलाई साथ दिएर अघि बढे पार्टी र लोकतन्त्र दुवै मजवुत हुन्छ ।
त्यसैले नेपाली काँग्रेसका देशैभरिका नेता तथा कार्यकर्ताहरुमा यतिखेर नयाँ बहसको थालनी भएको छ– के आफ्नै निर्वाचन क्षेत्रमा त विजय हुन नसक्नेले काँँग्रेसजस्तो पार्टीको सभापति बन्न सक्छन् ? अनि अघिल्लो निर्वाचन भनेको नेपालको इतिहासमा नेपाली काँग्रेसका लागि एक कठिन परिस्थिति थियो । किनभने यो निर्वाचनमा देशभरका कम्युनिष्ट पार्टीहरु एक भएका थिए । उनीहरु अरुका लागि होइन कि काँग्रेसका विरुद्धमा एक थिए । उनीहरुको उद्देश्य नै काँग्रेस हराउने थियो । त्यस्तो कठिन परिस्थितिमा जो जसले काँग्रेसको बीउ जोगाए तिनीहरुलाई प्रभावका रुपमा मान्नु र हेर्नुपर्छ । अनि पार्टीलाई त्यस्तो अप्ठेरो परेका बेलामा आफूलाई जोगाउन नसक्नेलाई कसरी पार्टी महाधिवेशनमा सभापति मान्न सकिन्छ ? अनि उनीहरुलाई कसरी मत दिने भनेर पार्टी पार्टीभित्र व्यापक बहस चलेको छ ।