काठमाडौं । जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास गर्न गृहमन्त्री खाण कात्तिक ३ गते बुधबार सर्लाही जाने कार्यक्रम तय भएको छ । सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालयको नयाँ भवन निर्माण गर्न ९ करोड ४० लाख रुपैयाँ ठेक्का लागिसकेको छ । पहिलेकै स्थानमा भवन निर्माण गर्न लागिएको हो ।
त्यसका लागि पुरानो भवन भत्काइसकिएको छ । हाल जिल्ला समन्वय समिति साबिकको जिल्ला विकास समिति (जिविस) को कार्यालय अगाडि जिल्ला प्राविधिक कार्यालयको निर्माणाधीन भवनबाट जिल्ला प्रशासन कार्यालयको सेवा संचालन हुँदै आएको छ ।
वुधवार भवन शिलान्यास गर्न सर्लाही आउदा गृहमन्त्री खाणले जिल्लास्थित कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिने कार्यक्रम छ । गृहमन्त्री खाणले शिलान्यास गरेपश्चात भवनको निर्माण कार्य अघि बढ्ने प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिए । गृहमन्त्री आउने भएपछि आईतवार जिल्लाका सुरक्षा अधिकारीहरुले कार्यक्रमको तयारीबारे छलफल समेत गरेका छन् । यसैबीच, आफ्ना नेता समेत रहेका गृहमन्त्री खाण जिल्ला आउँदा नेपाली कांग्रेस सर्लाहीले कार्यकर्तासँग भेटघाट गराउने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको भवन शिलान्यास र कार्यालय प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम सकिएपश्चात सदरमुकाम मलंगवास्थित कुसुम पार्टी प्यालेसमा कार्यकर्तासँग भेटघाट कार्यक्रम राखिएको कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायद्वारा जानकारीमा आएको छ ।माननीय गृहमन्त्री खाण काठमाण्डौंबाट जनकपुरसम्म जहाजमा र त्यहाँबाट सर्लाही सम्म गाडीमै जाने कार्यक्रम छ ।