काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीमा निरन्तर हुन आफुलाई बिभिन्न प्रलोभन आएको तर त्यसलाई आफुले अस्वीकार गरेको बताउनु भएको छ । प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले मुख्यमन्त्रीमा निरन्तरता दिन विभिन्न प्रलोभन आए पनि आफूले नैतकिताका आधारमा विश्वासको मत लिने बाटो रोजेको बताउनुभयो ।
उहाँले भन्नुभयो- “प्रदेशमा बहुमतप्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री भएपछि दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार अल्पमतमा पर्यो, त्यसपछि पनि मलाई विभिन्न प्रस्ताव आएका थिए, मुख्यमन्त्रीमा निरन्तरता दिने प्रलोभनसहित ।
तर, मैले त्यसलाई स्वीकार गरिनँ । नैतिकताका आधारमा विश्वासको मत लिने बाटो रोजेकी छु ।” उहाँले दुई महिना दुई दिनको बिचमा सरकारले गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो ।