काठमाडौँ । बाह्रौँ राष्ट्रिय जनगणना प्रारम्भ भएसँगै आज उपराष्ट्रपति नन्दबहादुर पुनको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गरिएको छ ।
राष्ट्रिय योजना आयोग र केन्द्रीय तथ्याङ्क विभागका पदाधिकारीले आज लैनचौरस्थित ‘हरितगृह’ पुगेर उपराष्ट्रपतिको विवरण सङ्कलन गर्नुभएको हो । विवरण सङ्कलनका लागि आयोगका सदस्य डा रामकुमार फुयाँल, आयोगका सचिव केवलप्रसाद भण्डारी, विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, निर्देशकहरु हेमराज रेग्मी, डिल्लीराज जोशी र ढुण्डीराज लामिछाने उपराष्ट्रपति निवास पुग्नुभएको थियो ।
विभागका महानिर्देशक श्रेष्ठले गणकका रुपमा उपराष्ट्रपतिको पारिवारिक तथा व्यक्तिगत विवरण सङ्कलन गर्नुभएको थियो । गणकले सोधेअनुसार आफ्नो पारिवारिक तथा व्यक्तिगत विवरण उपलब्ध गराएपछि उपराष्ट्रपतिले राष्ट्रिय जनगणना, २०७८ को सफलताको शुभकामना गर्नुभएको थियो । उहाँले निर्धारित समयभित्र देशको वास्तविक चित्र आउने गरी राष्ट्रिय जनगणना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोगका सदस्य फुयाँलले जनगणनामा सहभागिता जनाएर विवरण उपलब्ध गराइदिनुभएकामा उपराष्ट्रपतिमा आभार प्रकट गर्नुभएको थियो । उहाँले आम जनतामा राष्ट्रिय जनगणनाको सकारात्मक सन्देश प्रवाह गर्न राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिएको बताउनुभएको थियो । सो अवसरमा आयोगका सचिव भण्डारीले जनगणनाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
महानिर्देशकसहितको टोलीले गणककारुपमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तथ्याङ्क सङ्कलन गरेको विभागले जनाएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ आजदेखि राष्ट्रिय जनगणना, २०७८ प्रारम्भ भएको छ । जनगणना आजदेखि आगामी मङ्सिर ९ गतेसम्म गरिनेछ । रासस