भारतको बाइसौं राज्य सिक्किमका मुख्यमन्त्री श्री पवन चामलिङले पवित्र क्रान्तीको दार्शनिक पक्षको बारेमा विमर्श सुरु गरेका छन् । नेपाली आधुनिक वरिष्ठ कवि तथा समीक्षक श्री महेश प्रसाईंले यसै बारेमा एक पुस्तक लेख्नुभएको छ ‘पवित्र क्रान्ति परिशीलन’ । यो पुस्तकको बारेमा रामेछापको मन्थलीस्थित शहिद स्मृति क्याम्पस मन्थलीका प्राध्यापक पेशल आचार्यले पवित्र क्रान्ति परिशिलन : अन्यहीन रहस्य नामक समिक्षा लेख लेख्नुभएको थियो । जुन निकट भविष्यमा प्रकाशित हुन लागेको एक पुस्तकको एक भागको रुपमा प्रकाशित हुदैछ । सो लेख उहाँकै स्कुले विद्यार्थी दिपेश घिमिरेले पढ्नु भयो । समाजशास्त्रमा एमफिल गरेका घिमिरेले पवित्र क्रान्तिको दार्शनिक पक्षलाई समाजशास्त्रीय दृष्टिकोणबाट विश्लेषण गर्नुभएको छ । उहाँले पनि यसबारेमा एक लेख “पवित्र क्रान्ति : परिशीलनबारे, क्रान्ति र यसको पवित्र स्वरूप एक बहस” लेख्नुभएको छ । यो लेख पनि सोहि पुस्तकमा समेटिदैछ । आफ्ना शिक्षक आचार्यको लेख पढेर विद्यार्थी घिमिरेले लेख्नुभएको प्रतिक्रिया सान्र्दभिक लागेर यहाँ प्रकाशित गरिएको छ । सम्पादक) पेशल सर नमस्कार ! यहाँले लेख्नुभएको पवित्र क्रान्ति परिपरिशीलन : अन्यहीन रहस्य पढे । कुनैपनि अध्ययनको अन्तिम लक्ष्य भनेको जीवन र जगतलाई बुझ्ने नयाँ दृष्टिकोण प्रदान गर्नु हो । दुनियालाई हेर्ने नयाँ आयामलाई प्रष्ट्याउनु हो । हरेक अध्ययनमा मैले यहि कुराको खोज गर्ने गर्दछु । बुद्धिज्मका पुस्तक पढ्दा हामी त्यहि पाउँछौ । गान्धीबाद पढ्दा त्यहि पाउँछौ । इतिहासका हरेक कालखण्डका पुस्तकका अध्ययनले पनि हामीलाई त्यहि नयाँ आयाम दिन्छ । र म भन्छु छोटो मानवीय जीवनमा अध्ययनले लामो कालखण्डलाई बुझ्ने स्वर्णिम अनुभव दिन्छ हामीलाई । यहाँले लेख्नुभएको लेखले पवित्र क्रान्तीको दार्शनिक आधारलाई बुझ्ने एक नयाँ आयाम दिएको छ मलाई । म दाबाका साथ भन्न सक्छु ईतिहासबाट क्रान्तीलाई झिकिदिने हो भने शुन्य हुन्छ । शुन्यतामा केहिको अस्थित्व रहदैन । प्रकृतिसँग क्रान्ती गरेर संघर्ष गरेर नै माईक्रो अर्गानिज्मको उत्पती भयो र त्यसले निरन्तर रुपमा गर्दै आएको क्रान्तीको परिणाम आजको तपाई र म हौ । यो यथार्थतालाई कहिले वेदव्यासले लेखे कहिले कार्ल माक्र्सले लेखे । जसले लेखे त्यसलाई हामी सम्झिरहेका छौ । जसले थाहा पाएर पनि लेखेनन् तिनीहरुलाई ईतिहासले भुलिदियो हामीले पनि खोजी गरेनौ । यहाँको लेखले यो यथार्थतलाई नजिकबाट विश्लेषण गरेको छ । दिपेश घिमिरे मैले यो यथार्थताको नविन दृष्टिकोण सहितको लेख पढ्न पाए । आजको समय उपलब्धीमुलक रह्यो । संसारको ईतिहास जति पढ्यो उतिनै दुईलाईन संघर्ष देखिन्छ । संसारमा कहिल्यै पनि एउटै दृष्टिकोणको मात्र अस्थित्व छैन । दुईलाईन संघर्षको बारेमा बढी व्याख्या गर्ने तर कम कार्यान्वयन गर्ने माक्र्सवादीहरुले यो यथार्थतालाई बुझेनन् कि भन्ने लाग्छ मलाई । यदि बुझ्थे भने उत्तर कोरियामा किन विपरित दृष्टिकोण राख्नेहरु फाँसीको सुलीमा चढ्नु पर्छ ? किन ? धेरैले पढेर बुझे जस्तो गरेपनि दुईलाईन संघर्षलाई खासमा आत्मसाथ गर्न सकेका छैनन् । यहाँले लेख्नुभएको लेखमा यो यथार्थतालाई खासमा बोध गर्नुभएको छ । यहाँले लेख्नुभएको छ “सत्य असत्यको परिपाकका लागि अध्यात्मवाद र भौतिकवादका पक्ष विपक्षमा समुद्र मन्थन गरियो । देवदानवको मिसिलमा हजारौंहजार वर्ष देवासूर संग्राम भयो …….. ।” कुनैपनि नयाँ दृष्टिकोण, दर्शन, विचार, तथा सोचाई भौतिक अवस्थितीले निर्माण गर्दछ । युरोपको पुजीवादको नांगो कार्यान्वयनले माक्र्सवादलाई जन्माएको हो । त्यहाँ कार्ल माक्र्सले यो यथार्थतालाई नपक्डेका भए अर्कोले पक्डन्थ्यो । औद्योगिक क्रान्तीपछिको युरोपको सामाजिक जटिलतालाई बुझ्न असहज भएको सन्दर्भमा समाजशास्त्र जन्मियो । सन् १८३८ मा अगष्ट कोम्टले समाजशास्त्रको विकास गरे । त्यहाँ कोम्टले यो गर्न सक्दैनथे भने अर्कोले गथ्र्यो किनकी सामाजिक जटिलताको कारण नबुझ्ने र सबै भगवानकै सिर्जना हो भन्ने दृष्टिकोणले लामो समयसम्म बौद्धिक नेतृत्व गर्न सक्दैनथ्यो । म यहि यथार्थतालाई विश्वास गर्ने र आफ्नो अध्ययनको संस्कार मान्ने विषयको विद्यार्थी हुँ । यहाँको लेखको अध्ययन पछि मेरो यो बुझाईलाई झन् फराकिलो बनाउन मद्यत भयो । यहाँले लेख्नुभएको छ “अतुल ज्ञान र अज्ञेय दर्शनका लागि पवित्र भारत वर्ष कहिल्यै बाँझो रहेन ।” मलाई लाग्छ पूर्विय सभ्यताको अध्ययन गर्ने हो भने यहाँको गतिशिलता पश्चिमाको भन्दा बढी छ र पुरानो छ भन्नेमा शायद हामी सबै सहमत छौ । हामी मात्र होईन एकजना पश्चिमा विद्धान छन् समाजशास्त्रका एजी फ्र्यांक । उनले एउटा पुस्तक लेखेका छन् “रिओरियन्ट” । यो पुस्तकमा उनी तर्क गर्छन् संसारको सभ्यताको ईतिहास हेर्ने हो भने पूर्व खासगरी अहिलेको भारत र चीनबाट सुरुभएको हो । तथ्य, तथ्यांक र ईतिहासको प्रमाणको आधारमा उनले यो पुस्तक लेखेका छन् । म कन्भिन्स छु उनीसँग । यहाँले छोटो वाक्यमा यो यथार्थतलाई पक्डिनु भएको छ । लेख पढिरहदाँ कहि रोकिनु पर्दैन भने लेखाईको शक्ति त्यहि हो । तथापी एउटा कुरा, संसार परिवर्तनशिल छ । गतिमा छ । यसको प्रवाह बुझिनसक्नु छ । अनि प्रकृति अत्यन्तै अमूर्त छ । जति खोतल्दा पनि बुझ्न नसकिने अचम्मको छ । प्रकृतिलाई बुझ्न नसकेर विज्ञान पानी पानी भएको छ । नत्र मंगलग्रहमा पुग्न सक्ने विज्ञान यहि २० २५ किलोमिटर तल भईरहेको उथल पुथललाई बुझ्न किन सक्दैन र भुकम्पको विपत्ती भोग्नुपर्छ मानवले ? मैले यहाँ उठाउन खोजेको कुरा यदि प्रकृति अमूर्त छ र संसार परिवर्तनशिल छ भन्नेमा हामी सहमत हुन्छौ भने केहि यथार्थलाई हामीले कि त आत्मसाथ गर्नुपर्छ कि त ज्ञानको माध्यमबाट त्यसलाई बुझ्ने प्रयास गर्नुपर्छ । हिजोको गाउँघरका तथ्यहरु मान्द्रो, गुन्द्री, जस्ता सवाललाई नयाँ पुस्ता जो शहरमा बस्छन् तिनीहरुले भुल्नु गतिको एउटा परिणामको रुपमा हामीले स्विकार्नुपर्दछ होला । यि नयाँ पुस्ताका प्रतिनिधीले बुझ्नुपर्ने र सिक्नुपर्ने कुराहरु अरु धेरै छन् । किनकी हरेक संस्करणका अक्सफोर्ड डिक्सनेरीबाट सयौ शब्द हट्छन् र अरु सयौ शब्द थपिन्छन् । भर्खरै थपिएको सेल्फी र विफी यसकै उदाहरण होईनन् र ? यहाँले उल्लेख गर्नुभए जस्तै सबै कुरालाई संरक्षण गर्न सक्दा त्यो सुनमा सुगन्ध हुन्थ्यो यसमा मेरो विमती चाहि छैन । यसैगरी अमूर्त पृथ्वीको सबै कुरा पत्ता लगाउन निकै गाह्रो छ तर असम्भव होईन होला । किनकी ज्ञानको बाटोबाट गयौ भने यो सम्भव छ । किनकी ज्ञान भनेको अरुको लागि होईन आफ्नो लागी हो । हामी जति पढ्छौ अरुको लागि होईन आफ्नै लागि हो । आफुले बुझ्यौ भने त्यो संसार हो । बाबुको व्यापार छोरालाई हस्तान्तरण गर्न सकिन्छ तर अध्ययन तथा ज्ञान सकिन्न । त्यसको कारण यहि हो जस्तो लाग्छ मलाई । अन्त्यमा, हरेक व्यक्तिले आफुमा भएको ज्ञानलाई अरुमा हस्तान्तरण गर्ने जतिको पवित्रता अरु केहि छैन । त्यसमा जति शक्ति अन्य केहिमा छैन । पश्चिमाहरुले यो तथ्यलाई बुझे र अहिले हेगेमनी चलाईरहेका छन् । पूर्विय गुरुहरुले यो बुझेनन् र आफुमा भएको अथाहा ज्ञान आफ्नो मृत्युसँग अन्त्य गरेर आफैसँग लगे । हामी ज्ञानविहिन भयौ । त्यसैले मलाई शिक्षण पेशा मन पर्दछ । आर्थिक रुपमा आकर्षक नभएपनि यहि एउटा कुराले मलाई शिक्षणमा लाग्न प्रेरित गरिरहेको छ । थाहा छैन म यसमा सफल हुन्छु या हुन्न । तथापी यहाँले यो पवित्र र जीवनोपयोगी बाटो कुशलतापूर्वक यात्रा गरिरहनुभएको छ । म यसैपनि यहाँप्रति ऋणि छु, मेरो स्कुले जीवनलाई यहाँले पुर्याउनुभएको योगदान प्रति । थप अहिले अर्को कारण ऋणी छु यहाँले म जस्ता अरु हजारौको जीवनको गोरेटोलाई उज्यालो छरिरहनुभएको छ । यो चानचुने कुरा होईन । आफु बलेर अरुलाई उज्यालो दिने मैनबत्ती कदापी चानचुने हुदै होईन । यो महान हो । यहि महानतालाई पवित्र भन्छन् । यस्तै कुरालाई बढाउँदै लैजाने कामलाई क्रान्ती भन्छन् । किन पवित्र क्रान्तीलाई अन्त्यन्त अमूर्त रुपमा बुझ्ने बुझाउने गर्नु होईन र ?
उही तपाईको विद्यार्थी
दिपेश घिमिरे
बालकोट भक्तपुर