६ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

छाडा चौपाया व्यवस्थापनः समस्या ज्यूँका त्यूँ



अ+ अ-

–शेरबहादुर सिंह

भीमदत्तनगर, १० असोज (रासस) ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिकाको सुडा चोक नजीक तीन दिनअघि छाडा चौपायासँग ठोक्किएर जिल्ला खेलकूद विकास समितिका खरिदार देवेन्द्र रावल घाइते हुनुभयो । उहाँको हाल कैलालीको धनगढीमा उपचार भइरहेको छ ।

सडकमा छाडा चौपायका कारण रावल मात्र होइनन् दैनिकजसो अन्य पनि दुर्घटनामा पर्ने गरेका छन् । राजमार्गमा छाडा पशुका कारण दैनिक दुर्घटना हुने गरेको छ । छाडा चौपायाको उचित व्यवस्थापनका लागि स्थानीय तहले सक्दो प्रयास पनि गरेकै छ । त्यसको दिगो व्यवस्थापन भने हुन सकिरहेको छैन । यात्रुले राजमार्गमा दैनिक सास्ती खेप्नु परेको छ । छाडा चौपाया कारण किसान पनि हैरान छन् । खेतमा लगाएको बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् ।

राजमार्गसँग जोडिएका स्थानीय तहले छाडा चौपायाको व्यवस्थापनका लागि कराडौँ रुपैयाँ खर्च गरेका छन् । समस्या उस्तै छ । राजमार्ग र आसपासका क्षेत्रमा जताततै छाडा चौपाया मात्र देखिन्छन । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा नगरक्षेत्रमा रहेका छाडा चौपाया व्यवस्थापनका लागि भन्दै रु ८० लाख खर्च गरेको छ । प्रभावकारी रुपमा चौपायाको व्यवस्थापन भने हुन सकेको छैन ।

पश्चिम गड्डाचौकीदेखि, सुकासाल, वनगाउँ, बसपार्कदेखि बजारका गल्लीसम्म जताजतै छाडा चौपाया देखिन्छन् । भीमदत्तनगरपालिकाले छाडा चौपाया व्यवस्थापन र नियन्त्रणका लागि निर्देशिका नै जारी गरेको भीमदत्त नगरपालिकाका सूचना अधिकृत हरिसिंह धामी बताउनुहुन्छ । “निर्देशिकाको कार्यान्वयन गरेर छाडा चौपाया छाड्नेलाई कारवाहीको दायरामा नल्याएसम्म समस्या रहिरहने देखिन्छ,” उहाँले भन्नुभयो, “पशुपालक किसान चौपाया व्यवस्थापनमा गम्भीर हुनु जरुरी छ ।”

भीमदत्त नगरपालिकाले चालू आवमा पशु व्यवस्थापन एवं गौशालालगायतका पूर्वाधार निर्माणका लागि रु एक करोड विनियोजन गरेको छ । गत आवमा रु ४६ लाख खर्च गरेर भीमदत्त नगरपालिका–१९ बागफाँटा तथा रु २६ लाखमा वडा नं ९ ब्रह्मदेवस्थित सामुदायिक वनमा गौशाला निर्माण गरी सञ्चालनमा ल्याइएको छ । “झण्डै एक हजार गाई÷गोरु व्यवस्थापनका लागि पहाडी जिल्ला बाजुरा पठायौँ,” धामीले भन्नुभयो, “नगरपालिकाले व्यवस्थापन गर्दैछ भन्ने सुनेर हुलका हुल चौपाया यहाँ ल्याएर छाड्ने गरेका छन्् ।” नगरपालिका क्षेत्रका किसानले पालेका चौपायालाई चिह्न (ट्याग)लगाउने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । घरपालुवा पशुको चिह्न लगाएपछि छाडा चौपाया व्यवस्थापनमा सहयोग पुग्ने धामीको विश्वास छ । नगरपालिकाको सबैभन्दा चुनौती चौपाया व्यवस्थापन हो ।

यस्तै बेदकोट नगरपालिका पनि छाडा चौपायाको समस्याबाट मुक्त छैन । उक्त नगरपालिकाको सुडा, लालपुर, दैजीलगायत राजमार्गसँग जोडिएको क्षेत्रमा जताततै छाडा चौपाया देखिन्छन् । बेदकोट नगरपालिका–२ हात्तीथलामा रु २२ लाखमा काञ्जी हाउस निर्माण गरिएको छ । त्यसबाट पनि छाडा चौपाया व्यवस्थापन गर्न सकिएको छैन । गत आवमा बेदकोट नगरपालिकाले छाडा पशु व्यवस्थापनका लागि रु ५० लाख विनियोजन गरेको नगर प्रमुख अशोककुमार चन्द बताउनुहुन्छ ।

शुक्लाफाँटा नगरपालिकामा पनि छाडा चौपाया व्यवस्थापनको समस्या अत्यधिक छ । योजना बनाए पनि झलारी बजारमा छाडा चौपाया नभएको दिनै हुँदैन । बजारभरी छाडा चौपाया मात्र देखिन्छन् । उद्योग वाणिज्य सङ्घलगायतका संस्था पनि व्यवस्थापनमा अग्रसर छन् । नगरपालिकाले हाल पारीफाँटास्थित बैजनाथ सामुदायिक वन क्षेत्रमा अस्थायी तारजाली लगाएर चौपाया व्यवस्थापनको काम गर्दै आएको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता जगतबहादुर सिंहले बताउनुभयो ।

छाडा चौपाया व्यवस्थापनका लागि गत आवमा सो नगरपालिकाले रु ४० लाख विनियोजन गरेको थियो । सो कार्यका लागि रु १८ लाख खर्च भएको नगरपालिकाले जनाएको छ । “शुरुमा वनहरा पुल छेउमै काञ्जी हाउस बनाएर व्यवस्थापनमा लाग्यौँ,” सिंहले भन्नुभयो, “त्यहाँ व्यवस्थापनमा समस्या आएपछि पारीफाँटामा दिगो व्यवस्थापनको योजनासहित काम थालेका हौँ ।” दुहुनो हुँदा दूध खाने त्यसपछि छाडा छाड्ने प्रवृत्तिले समस्या बढ्दै गएको उहाँको भनाइ छ । उहाँले पशु व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन गरिने बताउनुभयो ।

केही गैरसरकारी संस्थासमेत छाडा चौपाया व्यवस्थापन गर्न खटिएका छन् । कृष्णपुर नगरपालिकाले वडा नं २, ५, ६, ८ र ९ वडामा छाडा पशु व्यवस्थापनका लागि काञ्जी हाउस निर्माण गरिएको सूचना अधिकृत प्रेम बोगटीले जानकारी दिनुभयो । “प्रमुखदेखि वडास्तरसम्म जनप्रतिनिधि छाडा पशु व्यवस्थापनका लागि लाग्नुभएको छ ।” सूचना अधिकृत बोगटीले रासससित भन्नुभयो, “यहाँ अब थोरै सङ्ख्यामा मात्रै व्यवस्थापन गर्न बाँकी छ ।” गत वर्ष नगरपालिकाले पशु व्यवस्थापनका लागि रु २० लाख खर्च गरेको थियो । “हामीले हेरालु राखेरसमेत व्यवस्थापनमा जुटेका छौँ,” बोगटीले भन्नुभयो, “छिट्टै छाडा पशु व्यवस्थापन हुन्छ ।” अन्यत्रबाट आउने छाडा पशुका कारण समस्या बढेको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भरतबहादुर शाह छाडा चौपाया व्यवस्थापन गर्ने काम ट्राफिक प्रहरीका लागि चुनौती बनेको बताउनुहुन्छ । “दुर्घटनासँगै अरु समस्या पनि छाडा पशुले निम्त्याएका छन् ।” उहाँले भन्नुभयो, “पशु व्यवस्थापनमा सरोकारवाला निकायले योजनासहित दिगो व्यवस्थापनका लागि सहकार्य गरेर जानुपर्छ ।” छाडा चौपाया कञ्चनपुरसँगै कैलालीको पनि समस्या हो । यहाँका अन्य स्थानीय तह पनि छाडा चौपायाको समस्याबाट मुक्त छैनन् ।

यातायात व्यवसायी राजमार्गमा छाडा पशुका कारण समस्या निम्तिरहेको बताउँछन् । सर्वसाधारणलाई हिँडडुल गर्न समस्या छ । यातायात व्यवसायी सुशील भट्ट भन्नुहुन्छ, “दुर्घटनाको जोखिम बढेर आएको छ ।” नगर परिषद्मा स्थानीय तहले लाखौँ रुपैयाँ खर्च पशु व्यवस्थापन लागि लगाएको प्रतिवेदन देखाए पनि स्थलगतरुपमा समस्या नसुल्झिएको भट्ट बताउनुहुन्छ ।