८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन



अ+ अ-

मार्था इर्भाइन
सिकागो, संयुक्तराज्य अमेरिका, ५ मङ्सिर (रासस/एपी)ः शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् ।

“लौ ? मैले जित्नै लागेको थिएँ, म त मरें,” उनी गस नाम गरेका साथीलाई भन्छन् । पाँच कक्षाका यी सहपाठी साथी गसको घर हेनरीको भन्दा दुई–चार घर टाढा मात्र छ । “साथी, मैले हार्नु हुँदैनथ्यो ।”

उनीहरुबीचको यो डिजिटल ब्याटल (प्रतिस्पर्धा) पुनः शुरु हुन्छ, र हेनरीको उत्साहमा कमी आएकै छैन । के बाबुआमाले नरोक्ने हो भने ऊ दिनभर खेलिरहन्छ ? “सम्भवत,” उनी स्वीकार्छन् ।

तर उनीहरुले भनेजति खेल्न पाउँदैनन् । अरु धेरै बाबुआमा झैं, हेलीहरुले हेनरी र उसका १५ वर्षे दाजु एभरेटको डिजिटल खेल सीमित गर्ने धेरै प्रयास गरेका छन् । कतिपय अभिभावकका लागि यो व्यर्थको अभ्यास हुँदैछ । उनीहरु ज्यादै व्यस्त हुन्छन्, र जताततै भेटिने डिजिटल सामाग्रीसँग कति जुध्नु ?

हेनरीलाई स्क्रीनबाट छुटाउन दिनहुँ सङ्घर्ष नै गर्नु पर्दछ, उनका बुबाआमाले भने । “उसलाई स्क्रीनबाट छुटाएर अरु केही काम लगाउनासाथ एकछिन त उसले रुखो व्यवहार देखाउँछ, फत्फताउँछ,” उनकी आमा बार्ब हेली भन्छिन् । “ऊ रिसाउँछ, निराश हुन्छ । आमा कति खराब हुनुहुन्छ भन्छ । यो किन, केका लागि गरेको भन्छ ।”

विज्ञहरुको भनाइमा यसको लक्ष्य नै बच्चाहरुले ठूलो भएपछि आफ्नै ढङ्गले केही सोचुन्, गरुन् तथा शारीरिक रुपमा सक्रिय र समाज के हो भनेर थाहा पाउन् भन्ने हुनु पर्दछ । अफलाइन हुँदा उनीहरु बढी समाजमा घुलमिल गर्न थाल्ने उनीहरुको भनाइ छ । तर धेरै अमेरिकी घरपरिवारमा अभिभावकहरुले बालबच्चासँग धेरै नै सङ्घर्ष गर्नु परिरहेको छ ।

कमन सेन्स मिडियाले हालै १३ देखि १७ वर्षका बच्चाहरुमा गरेको सर्भेक्षणमा यो उमेरका ९५ प्रतिशत बालबालिकासँग मोबाइल रहेको पाइएको छ । तीमध्ये ७० प्रतिशतले दिनमा धेरै पटक सामाजिक सञ्जालमा केही छ कि भनेर हेर्ने गर्दछन् । सन् २०१२ मा ३४ प्रतिशतले मात्र सामाजिक सञ्जाल प्रयोग गर्दथे । आधाभन्दा बढीले मोबाइलले उनीहरुलाई स्कुलका गृहकार्य गर्ने समयमा अल्मल्याउने गरेको बताए ।

केही प्रविधि क्षेत्रका कम्पनीहरुले बल्ल डिजिटल मिडियाको अति प्रयोग र दुरुपयोगका बारेमा सरोकार राख्न थालेका छन् । एप्पल कम्पनीले आफ्नो पछिल्लो आइफोन सफ्टवेयरमा “स्क्रीन टाइम” सुविधा थपेको छ । यसले एप्सको प्रयोगको अनुगमन गर्दछ र प्रयोगकर्तालाई वा उनीहरुका अभिभावकलाई एप्स प्रयोगको सीमा तोक्न मद्दत गर्दछ । गूगल फर फेमिलिज र गूगल प्ले तथा अरु धेरै एप्सले पनि अभिभावकलाई त्यस्ता एप्स बारे अनुगमन गर्न तथा कुनै किसिमको नियन्त्रण गर्ने सुविधा प्रयोग गर्नेगरी सेवा दिएका छन् ।

तर यी सुविधाहरु मोबाइलमा आफैँ सेट हुँदैनन् ।

सिकागोस्थित हेलीको घरमा यस्तै समस्या आयो । वाइफाईमा ठूलो छोरा एभरेटले कति समय बिताउँछ भन्ने नियालेका उनका बाबु एलेन हेली त्यो देखेर छक्कै परे । छोराले दिनमा चार घण्टाभन्दा बढी समय खेलकूदका भिडियोहरु, अरु मनोरञ्जनात्मक खेलहरु र सामाजिक सञ्जालमा साथीहरुसँग गफिएर बिताएका थिए ।

“मलाई लाग्दैन उसलाई अनलाइनमा कति समय बिताएँ भन्ने जानकारी छ,” एलेन भन्छन् । त्यसपछि एलेनले कुनै निश्चित घण्टा वाइफाई बन्द गर्ने निर्णय गरे । कुनै चेतावनी नदिई उनले एकरात वाइफाई बन्द गरिदिए ।

एक मिनेट, सामाजिक सञ्जालमा एभरेटले कुनै साथीसँग कुरा गर्दै थियो । “त्यसपछि ऊ बाहिरियो ।” यो अन्याय भो भन्दै ऊ बाहिर गयो । बाबुले एभरेटको कुरा सुनिरहे । उनले एभरेटलाई किताब पढ्न वा बाहिर बास्केटबल खेल्न जाऊ भने ।

“मैले केही गल्ती त गरेको छैन नि,” एभरेटले पटकपटक भनिरह्यो ।

यी प्रवृत्तिका बारेमा अध्ययन गरेका अनुसन्धाताहरु यसलाई “कुलत” भन्न चाहिँ रुचाउँदैनन् । मानसिक स्वास्थ्यका क्षेत्रमा यसको आधिकारिक र प्रामाणिक प्रभाव–अध्ययन भइसकेको छैन । तर, विश्व स्वास्थ्य संगठनले आफ्नो सूचीमा यस्तो प्रवृत्तिलाई “गेमिङ हलचल वा गडबडी” भनेको छ । डिजिटल खेलले सम्बन्धहरु, स्कुल र काममा गम्भीर रुपमै व्यवधान ल्याउँछ । अमेरिकी स्वास्थ्य निकायहरुबाट यसका बारेमा अझै पनि अध्ययन नै भइरहेको छ ।

कहिलेकाहिँ, विज्ञहरुको भनाइमा डिजिटल तन्मयताले विद्यमान परिस्थितिलाई अझ सङ्कटमा पार्दछ, जस्तै उदासी, चिन्ता बढाउँछ । त्यसैले, न्यूपोर्ट एकेडेमीमा उपचारका लागि आएका किशोर किशोरीको साथमा डिजिटल उपकरण छ छैन जाँच गर्नु जरुरी भइसकेको छ ।

“एउटा लक्षणमा प्रायः सधैंजसो स्मार्टफोनको अत्यधिक प्रयोग नै देखिन्छ,” न्यूपोर्ट एकेडेमीका प्रशासक तथा क्लिनिकल सामाजिक कार्यकर्ता हिथर सिनियर मोन्रो भन्छिन् । “यो नै सबैभन्दा ठूलो समस्याको रुपमा पाइएको छ ।”

एलेनले आफ्नो ठूलो छोराले दिनमा कम्तीमा ३० मिनेट पढोस् भन्ने जबर्जस्ती गरिरहे । वाइफाईमा समय तोकिएसँगै एभरेट घर बाहिर निस्कियो र दुई वटा पुस्तक किनेर ल्यायो । आजभोलि दुवै बच्चा केही समय मोबाइलमा हुन्छन्, र त्यसपछि फुटबल खेल्न थाल्छन् । एभरेटले साक्सोफोन पनि बजाउँछ । हेनरीले बिगुल बजाउनुका साथै ड्रम पनि सिक्न थालेका छन् ।