१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

विदेशबाट फर्केर तरकारीमा खेतीमा रामपुरका युवा, वार्षिक पाँच लाख आम्दानी



अ+ अ-

पाल्पा । वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी खेती शुरु गरेको दिलबहादुर थापाले बताउनुभयो । “झण्डै एक दशक जति विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज छैन, गाउँमै बसेर तरकारी लगायो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भन्नुभयो ।

तरकारी खेती गर्न थालेको एक वर्ष भयो विभिन्न कृषिजन्य सामग्री अनुदानमा पनि पाइरहेको हुँदा व्यवसायमा झन हौसला बढेको थापाको भनाइ छ । अहिले गोलभेँडा, काँक्रा, सिमी, गाजरको उत्पादन शुरु भएको छ । बजार नजिकै भएको हुँदा बिक्री गर्न युवालाई सहज परेको छ ।

घरपरिवार, साथीभाइ, आफन्तको साथमा रहेर गाउँमा कृषि व्यवसाय गर्न पाउँदा आनन्दको अनुभूति भइरहेको लालबहादुर थापा बताउनुहुन्छ । उहाँ पनि करीब आठ वर्ष जति विदेशमा बस्नुभयो । विदेशको भोगाइले गाउँमै बसेर तरकारी खेती गर्ने मोह जगाएको उहाँ बताउनुहुन्छ ।

“विदेशमै लामो समय बिताइयो अहिले पछुतो लागिरहेको छ, विदेश जानुभन्दा अघि नै यहीँ बसेर तरकारी व्यवसाय गरेको भए अहिले ठूलै व्यवसायी भइँदो रहेछ”, थापाले भन्नुभयो । तरकारी व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने युवाको सोच छ । यहाँका दुई युवाले शुरु गरेको यो व्यवसाय रामपुर नगरपालिकाकै नमूना व्यवसायका रुपमा चिनिएको छ ।

बाँझो रहेको जमीनलाई सदुपयोग गर्दै युवाले तरकारी लगाएर हराभरा पारेको देख्दा छिमेकी दङ्ग छन् । वार्षिक रु ३० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका हुन् । युवाले गरेको व्यवसायलाई प्रोत्साहनस्वरुप रामपुर नगरपालिका–४ को कार्यालयले थोपा सिँचाइका लागि पाइप, तरकारीको बीउबीजन, स्प्रेलगायतका सामग्री प्रदान गरेको वडाध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ ।

“दुई युवाले विदेशबाट फर्केर अहिले गाउँमा नमूनाका रुपमा व्यावसायिक तरकारी खेती गरेको देख्न पाउँदा खुशी लागेको छ, व्यवसायमा वडा कार्यालयले विभिन्न सहयोग गर्दै जानेछ”, अध्यक्ष नेपालीले बताउनुभयो ।