काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेबाट मतदान गरिने भएको छ ।
निर्वाचन समितिका अनुसार सोमबार मतदान भएका स्थानहरूबाटै आज पनि मतदानको व्यवस्था मिलाइने छ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिने कांग्रेस विधानअनुसार सभापतिमा पुनः मतदान हुन लागेको हो ।
जसअनुसार दोस्रो चरणमा शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे । यस्तै, तेस्रो स्थानमा प्रकाशमान सिंहले ३७१ मत प्राप्त गर्दा विमलेन्द्र निधिले २४९ मत ल्याए भने कल्याण गुरुङले २० मत प्राप्त गरे ।