१३ मंसिर २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

वैशाखदेखि १२ रोगविरुद्ध नियमित खोप: रोटा भाइरसविरुद्धको खोप पनि दिइँदै, के हो रोटा भाइरस ?



अ+ अ-

काठमाडौं । सरकारले आगामी वैशाखबाट नियमित रूपमा ११ वटा रोगविरुद्ध निःशुल्क दिइँदै आएको खोप अब १२ वटा पुर्याउने भएको छ । रोटा भाइरसविरुद्धको खोप थप गर्न लागेसँगै अब नियमित खोप १२ पुग्ने भएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । ‘रोटा भाइरसविरुद्धको खोप आगामी वैशाख, जेठबाटै सुरु गर्छौं,’ डा. गौतमले भने, ‘यसका लागि सरकारले तयारी थालेको छ ।’

रोटा भाइरसविरुद्धको खोप १५ महिनासम्मका बालबालिकालाई दिइन्छ । उनका अनुसार यो खोप शिशुलाई जन्मेको ६ हप्ता र १० हप्तामा दिइने छ । उक्त खोप सरकारले निःशुल्क उपलब्ध गराउने भएको हो । यसअघि सरकारले क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्ल्यूएञ्जा बी, पोलियो, दादुरा, रुबेला, निमोनिया र जापानिज इन्सेफलाइटिस विरुद्धको खोप तथा गर्भवती महिलाहरूका लागि टी।डी।खोप उपलब्ध गराउँदै आएको थियो ।

विश्वमा खोपले बचाउन सकिने रोगहरूबाट हुने मृत्यु मध्ये ३० प्रतिशत मृत्यु रोटाबाट हुने गरेको पनि डा. गौतमले सुुनाए । पखालाको कारणबाट हुने कुल मृत्युुमध्ये करिब ३५ प्रतिशत मृत्यु रोटाबाट हुन्छ । नेपालमा वार्षिक ५ वर्ष मुनिका बच्चाहरूमध्ये करिब ५० प्रतिशतलाई पखाला हुने गरेको छ । पखाला लागेर अस्पताल भर्ना भएकामध्ये करिब ३० प्रतिशतमा पखालाको कारण रोटा भएको पनि उनले बताए । यो रोगको संक्रमण ५ वर्ष मुनिका बालबालिकामा धेरै हुने र यसबाट २ वर्ष मुनिका बालबालिका संक्रमित भएमा धेरै असर गर्छ ।

के हो रोटा भाइरस ?रोटा भाइरस जाडो मौसममा बढी सक्रिय हुन्छ । चिसो बढेपछि बालबालिका यो प्राणघातक भाइरस संक्रमणको जोखिममा पर्छन् । डा. गौतमले भने, ‘रोटा भाइरसले खासगरी ५ वर्षमुनिका बालबालिकामा बढी समस्या निम्त्याएको देखिन्छ भने १ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम उच्च सम्भावना हुन्छ ।’

सरसफाइले मात्रै रोटा भाइरस नियन्त्रणमा ल्याउन नसकिने विज्ञहरू बताउँछन् । यो सरुवारोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा छिट्टै र सजिलै सर्दछ । दिसामा यो भाइरस अत्यधिक मात्रामा पाइने हुँदा कुनै मध्यमबाट मुखमा पुगेमा उक्त व्यक्तिमा संक्रमण हुन्छ । भाइरस सर्ने प्रमुख माध्यम भाइरस संक्रमितको हात, सामान, बालबालिकाले प्रयोग गरेको खेलौना, संक्रमित पानी तथा खानेकुरा हो ।

के देखिन्छ लक्षण:तारन्तार पानीजस्तो पातलो दिसा लाग्नु, बान्ता हुनु, पेट दुख्नु, अति जलवियोजन हुनु रोटा भाइरस संक्रमणका प्रमुख लक्षण हुन् । त्यसैगरी, मन्द गतिको ज्वरो आउनु, बालबालिकाले झिँझिने स्वभाव देखाउनु, पेट दुखेर रुनु, खानमा अरुचि हुनुजस्ता लक्षण देखापर्छन् । सामान्य लक्षणसँगै बच्चाको आँखा गड्यो भने, पेटमा मुजा पर्यो भने, खाएपछि बान्ता गर्यो वा बेहोस भयो भने यसलाई जटिल वा खतरनाक मानिन्छ । यस्ता लक्षण देखिनासाथ यथाशीघ्र अस्पताल लैजानुपर्दछ ।

बच्चालाई छुनुअघि र केही खुवाउनु पहिले सफा साबुन पानीले हात धुनुपर्छ । यदि फोहोर छोएर हात नधोई खाना खायौँ भने त्यो पेटमा जान्छ । त्यसका साथै फोहोर धेरै छ भने झिंगामार्फत् पनि यो भाइरस सर्न सक्छ । घरमा हुने मुसा, झिँगा, साङ्लाको माध्यमबाट खानेकुरामा भाइरस आउन सक्छ । त्यो सेवन गर्दा पनि झाडापखाला लाग्न सक्छ । यो भाइरसका कारण हुने झडापखालामा रगत भने देखिँदैन । झाडापखालाले नै बालबालिकाको मृत्यु भने हुँदैन तर, यसले गराउने जलवियोजनले गर्दा बालबालिकाको मृत्यु हुन सक्छ ।

बारम्बार पखाला लाग्दा बालबालिकाको शरीरमा आवश्यक पर्ने पानीको मात्रा घट्न जान्छ । लगातारको पानीसहितको दिसा र बान्ताले गर्दा उनीहरूलाई जलवियोजन हुन्छ । जलवियोजन हुँदा धेरै तिर्खा लाग्छ, छटपटी बढ्छ, हेर्दा आँखा गढेको देखिन्छ । पेटको छाला तानेर हेर्दा हतपत नफर्किने हुन्छ । कडा जलवियोजन भएमा बालबालिकाले झोल पदार्थ पिउन सक्दैन, खानेकुरा खान सक्दैन र सानो बच्चा छ भने आमाको दूध तान्न सक्दैन, बच्चा बेहोस हुन सक्छ । तर जति जलवियोजन भएर शरीरबाट पानी बाहिर जान्छ, त्यति नै झोल पदार्थ खुवाउनुपर्दछ ।

६ महिनासम्मको बच्चालाई सादा पानी र जीवनजलसँगै स्तनपान लगातार गराउनुपर्छ । यदि ६ महिनामाथिको बालबालिका छ भने जीवनजलको साथसाथै आमाको दूध, दालको रस, गेडागुडी तरकारीको रस खुवाउने, ताजा फलफूलको रस र केरा खुवाउनुपर्छ । थोरै मात्रामा जाउलोसँग दही वा मोही पनि झाडापखाला लागेका वेला राम्रो हुन्छ ।

झाडापखाला लाग्दा जंक फुड खुवाउनुहुँदैन । झोलपदार्थसँगै जिंक चक्की खुवाउनु राम्रो हुन्छ, यसले कहिलेकाहीँ उल्टी गराउन सक्छ, तर आफैँ ठीक हुन्छ । प्रायः झाडापखाला ३ दिनदेखि ७ दिनसम्ममा आफैँ ठीक हुन्छ तर सोभन्दा लामो समय लागेमा स्वास्थ्य संस्था लैजानुपर्छ ।

बच्ने उपाय:हात धोएर मात्र बच्चालाई खाना खुवाउने, बच्चा र बच्चा बस्ने वातावरण सफा राख्ने, रोटा भाइरसविरुद्धको खोप लगाउने, पानी उमालेर मात्र पानी पिलाउने गर्नुपर्छ । सधैँ ताजा र सफा खानेकुरा मात्र खुवाउनुपर्छ । केही खानुअघि र खाइसकेपछि अनिवार्य साबुनपानीले राम्ररी हात धुने । बाहिर गएर आएपछि सीधै बच्चालाई नसमाउने, समाउनुअघि हातखुट्टा राम्ररी धुने गर्नुपर्छ । झोलपदार्थ कम खाँदा कम पिसाब हुने र त्यसले मिर्गौलामा असर गर्ने हुन्छ । यदि दिसामा रगत गयो भने आउँ हुन सक्छ त्यसैले तत्काल स्वास्थ्य संस्थामा उपचार गर्न आवश्यक छ । सौर्य दैनिकबाट