
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले तोकिएकै समयमा महाधिवेशन हुने दाबी गरेका छन् । कोभिड–१९ अनुगमन समितिद्वारा बुबाधर आयोजित प्रदेश ५ को अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू पार्टीको विधानबाहिर जान नसक्ने बताएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका बढाइरहेका बेला देउवाले नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको बताए । ‘तपाईंहरू चिन्ता नगर्नुहोस्, पार्टीको विधानबाहिर जान सक्दिनँ । किन आशंका गर्नुहुन्छ ? तोकिएको मितिमै महाधिवेशन हुन्छ,’ उनले भने, ‘कांग्रेसमा मेरो विरोध जति पनि गर्न पाइन्छ तर जनता मालिक हुन् । भोलिको चुनावमा कसरी जितेर आउने, त्यतातिर सोच्नुहोस् ।’
उनले पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री केपी ओलीको विरोध गर्न नसकेको बताए । ‘शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर ओलीको विरोधमा कोही बोल्दैन,’ देउवाले भने, ‘सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा बोल्न सक्दैनन् ?’ कान्तिपुर दैनिक