
काठमाडौं । विगत केही दिनदेखिको लगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरको सडकमा क्षति पुगेको छ । बाढी र पहिरोका कारण देशभर राष्ट्रिय राजमार्गमा मात्र दर्जनभन्दा बढी स्थानमा अझै पनि अवरोध जारी रहेको छ । सडक विभागका अनुसार बिहीबार साँझसम्म देशभरका विभिन्न स्थानमा राष्ट्रिय राजमार्गमा मात्र एक दर्जन बढी स्थानमा सडक अवरुद्ध छ । अवरोध सिर्जना भएको झन्डै एक सय स्थानमा भने अवरोध हटाएर एकतर्फी तथा आंशिक रूपमा सवारी आवतजावत खुलाइएको छ ।
पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक चार किलोमा बिहीबार मध्याह्नदेखि दुईतर्फी नै गाडी चलेका छन् । पाँच किलोमा भने एकतर्फी मात्र गाडी चलेको छ ।पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सडक खुलेको छ । सो स्थानमा बुधबार बिहानदेखि नै पहिरोले सडकमा अवरोध सिर्जना गरेको थियो । सडक विभागका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गतको पिपलडाँडामा सडक अवरोध जारी रहेको छ । यस्तै, कान्तिपथअन्तर्गत भालुखोला, छपेलीमा पनि सडक अवरुद्ध भएको छ । बेनी जोमसोम कोरोला सडक अन्तर्गत काभ्रे र रुप्सेमा सडक अवरुद्ध छ । बेंसीसहर चामे सडकअन्तर्गत घोप्टे खोलामा पनि सडक अवरुद्ध भएको छ ।
सडक विभागले साँफेबगर–मार्तडी सडकअन्तर्गत बलेना–जडंगामा बेली ब्रिजमा क्षति पुर्याउँदा सडक अवरुद्ध भएको जनाएको छ । सोही सडकखण्डको बूढीगंगास्थित आरसीसी ब्रिज पनि भत्काइदिएको छ भने बाजुरास्थित बलेनामा पनि सडक अवरुद्ध छ ।
सडक विभागले भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण क्षति पुगेर अवरुद्ध हुन पुगेका राष्ट्रिय राजमार्गअन्तर्गत ९८ स्थानमा आंशिक तथा एकतर्फी सवारी आवतजावत सुरु भएको जनाएको छ । विभागका प्रवक्ता शिवहरि सापकोटाले क्षति पुगेका विभिन्न ठाउँमा सडक खुलाउन पहल जारी रहेको र झन्डै सय स्थानमा आंशिक तथा एकतर्फी रूपमा सडक खुलाइएको जनाएका छन् । सडक विभागका अनुसार अरनिको राजमार्गअन्तर्गतको कोठे, लामोसाँघु बाह्रबिसे, खुर्सानी, सिरिसे, खग्दोलमा अवरुद्ध भएको सडक आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ । अरनिको राजमार्गअन्तर्गतकै खग्दोल, जम्बु, झ्याले, चाकु, डाकलांगस्थित तीन ठाउँ, माथिल्लो भोटेकोसी ड्याम, कोप्लुंग, घट्टेखेलामा अवरुद्ध भएको सडक पनि एकतर्फी तथा आंशिक रूपमा खुलाइएको छ ।
यसैगरी, कोसी राजमार्गअन्तर्गतको भेडेटार मूलघाट खण्ड, बेंसीसहर चामेड सडकअन्तर्गतको पुमा खोला, कान्तिपथअन्तर्गतको घट्टे पख, बाघधारा, शिलालेख र छपेलीमा अवरुद्ध भएको सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ । पृथ्वी राजमार्गअन्तर्गत केवलकार, सिद्धिचरण राजमार्गअन्तर्गतको सिस्नेरी भीर, साल्मे भीर, चित्रेबजार क्षेत्र, लेगुवा भोजपुर सडकअन्तर्गतको ओदाने, बीपी राजमार्गअन्तर्गतको कमेरेफाट, टुपिडाँडा, बेंसीहर चामे सडकअन्तर्गतका पुवा खोला, खरखरेभरी, तारिकुना, रामबजार, स्यांगे, श्रीचौर र राम्दीमा अवरुद्ध भएको सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ ।
यस्तै, सिद्धार्थ राजमार्गअन्तर्गतको राम्दी, दोभान, सिद्धबाबा र पाल्पास्थित गौडे पुल, बेनी जोमसोम कोरोला सडक खण्डका एक आधा दर्जन स्थान, कान्ति लोकपथका आधा दर्जन स्थान, गल्छी त्रिशूली मैलुंग स्याफ्रुबेंसी रसुवागढी सडक खण्डका दुई स्थानमा अवरुद्ध सडक पनि खुलाइएको छ । अरनिको हाइवेअन्तर्गतको जुरे, दक्लांग र राप्ती राजमार्गअन्तर्गत एरही, शहीदमार्ग सडक योजनाअन्तर्गतको घर्तीगाउँ–थवाङ खण्डमा अवरुद्ध सडक पनि आंशिक तथा एकतर्फी रूपमा खुलाइएको छ । सडक विभागले अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका सडक खुलाउने प्रयास भइरहे पनि वर्षा जारी रहेकाले समस्या भएको जनाएको छ । राजधानी दैनिक