२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सर्वोच्चद्वारा पूजाआजाका लागि पशुपतिनाथलगायतका मन्दिर हालसम्म पनि खुला नगरिनुको कारणको माग



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले पूजाआजाका लागि पशुपतिनाथलगायतका मन्दिर हालसम्म पनि खुला नगरिनुको कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायसँग माग गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथलगायतका मन्दिर पूजाआजाका लागि हालसम्म पनि खुला नगरिनुको कारण पेस गर्न आदेश दिएको हो । इजलासले त्यस्तो कारण १५ दिनभित्र पठाउन पनि आदेशमा भनेको छ । मुलुकमा लगाइएको लकडाउन (बन्दाबन्दी)को अवधि सकिएको भए पनि हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलगायतका मठमन्दिर हालसम्म पनि खुला नगरिएको हुनाले त्यसलाई खुलाई पाउन माग गर्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा नेपालमा झन्डै ९० प्रतिशत हिन्दू धर्म मान्ने व्यक्ति रहेका उल्लेख गर्दै लकडाउन खुलिसकेपछि पनि उनीहरूको आराध्य देव पशुपतिनाथको मन्दिरलगायतका मठमन्दिर खुला नहुने कार्यले संवैधानिक हक हनन भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत भदौ ३१ गते आदेश जारी गरी मठ, मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजाबाहेक भीडभाडजन्य गतिविधि सञ्चालन गर्न रोक लगाएको थियो । रिट निवेदक पौडेलले अप्रत्यक्षरूपमा मस्जिद, चर्चलगायतका स्थलहरू खुला भए पनि हिन्दूहरूको आस्थाको केन्द्र भने हालसम्म खुला नगरिएका कारण भेदभाद भएको उल्लेख गर्नुभयो । रिट निवेदनमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको भदौ ३१ गतेको आदेशलाई खारेज गर्न माग गरिएको छ ।

हाल मुलुकमा बन्दाबन्दीको अवस्था हटिसकेको, सम्पूर्ण यातायातका साधन, हवाई उडान, होटेल, रेस्टुरेन्टसमेत सञ्चालनमा आइसकेको अवस्थामा पनि मन्दिर बन्द राख्ने कार्यले नेपालको संविधानको धारा २६ मा रहेको धार्मिक स्वतन्त्रताको हक हनन भएको रिट निवेदनमा उल्लेख गरिएको छ । धारा २६ (१) मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुने स्पष्ट गरिएको छ ।

यसै गरी सरकारको कार्यले मुलुकी देवानी संहिता, २०२० को दफा २० को उपदफा (२) को खण्ड (ज) मा रहेको सार्वजनिक नैतिकता र परम्पराको मर्यादा राखी सनातनदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन र अभ्यास गर्ने अधिकारको हनन भएको रिट निवेदनमा जनाइएको छ ।

सर्वोच्च अदालतले रिट निवेदनमा माग गरेबमोजिमको आदेश जारी गर्नुनपर्ने कुनै कारण भए १५ दिनभित्र पेस गर्न पनि सरकारलाई आदेश दिएको छ । रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, सतीषकृष्ण खरेल र अधिवक्ताहरू अमिता पौडेल गौतम, रामेश्वर कोइराला, मनीषकुमार श्रेष्ठ, विशालकुमार उपाध्यायलगायतले बहस गरेका थिए। अन्तरिम आदेशबाट जिल्ला प्रशासनको आदेशलाई खारेज गर्ने वा नगर्ने भन्नेसम्बन्धमा यही असोज १९ गते छलफल हुनेछ । नेपाल समाचारपत्र दैनिक