२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दुग्ध विकास संस्थानमा नै भेटियो १ लाख ९४ हजार ९ सय ७५ किलो बटर ‘डेट एक्सपायर’



अ+ अ-

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थानमा १ लाख ९४ हजार ९ सय ७५ किलो बटर डेट एक्सपायर भेटिएको छ । संस्थानले प्रशोधन गरी घिउ तयार पार्न राखेको बटरको ‘डेट एक्सपायर’ भएको भेटिएको हो । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले गरेको बजार अनुगमनका क्रममा दुग्ध विकास संस्थानको बालाजु गोदाममा घिउ तयार पार्न राखिएको बटर डेट एक्सपायर भएको फेला परेको समितिले जनाएको छ । महानगरपालिका कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीको नेतृत्वको अनुगमन टोलीले दुग्ध विकास संस्थाको बालाजु उत्पादन प्लान्टमा चार वटा गोदाममा रहेको बटर सबै डेट एक्सपायर भेटिएको बताएको छ । भण्डारीले संस्थानको गोदाममा भेटिएको डेट एक्सपायर बटरको नमुना परीक्षणका लागि ल्याएको जनाए । उनले भने, ‘दुग्ध विकास संस्थानले १ लाख ९४ हजार ९ सय ७५ किलो डेट एक्सापायर बटर पोखराको सुजल डेरीबाट खरिद गरेको पाइएको छ । बटरको प्याकेजिङमा उत्पादित मितिले आठ महिनाअघि नै उपभोग गरिसक्नुपर्ने उल्लेख छ ।’

तर, संस्थानको गोदाममा भएका अधिकांश प्याकेजिङ गरेका बटर डेट एक्सपायर नै छन् । सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा निर्मित बटर संस्थानको गोदाममा भेटिएको हो । पोखराको सुजल डेरीबाट खरिद गरिएको बटरमा दुग्ध संस्थानकै प्रशासन समितिले पनि छानबिन गरिरहेको पाएको छ । उनले भने, ‘संस्थानले बटरको डेट एक्सपायरका बारेमा कुरा गरेको छैन । तर, संस्थानमा अधिकांश बटर डेट एक्सपायर नै छन् । हामीले अन्यभन्दा पनि दुग्ध संस्थानले उत्पादन गर्ने दुग्धजन्य वस्तु उपभोग छ छैन भनी केन्द्रित भइ अनुगमन गरेका हौं । हामी डेट एक्सपायरको विषयलाई नै लिएर कारबाहीका लागि सिफारिस गर्नेछौं ।’ संस्थानको प्रशासन समितिको सहमतिमा बिक्री रोक्का गरिएको छ । भण्डारीले मंगलबार दुग्ध विकास महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँग भेट नभएको हुँदा बुधबार फेरि संस्थानमा जाने बताए । त्यसपछि छानबिन गरी कानुनी कारबाहीका लागि सिफारिस गर्ने बताए । संस्थानले डेट एक्सपायर बटरबाट घिउ तयार गरी बजारमा उपभोक्तालाई बिक्री वितरण गर्ने गरेको पाएको छ ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थानले नै म्याद सकिएका खाद्यान्न सामग्री बिक्री गर्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै छानबिन गरी कारबाही गर्नुपर्ने बताए । अध्यक्ष तिमल्सिनाले भने, ‘सरकारी सार्वजनिक संस्थानले उपभोक्तालाई स्वच्छ, सफा र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउनुपर्नेमा सरकारी संस्थानहरूले नै उपभोक्तालाई गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गरी ठगिरहेको छ ।’

उनका अनुसार सरकारी खाद्य व्यापार कम्पनी दुग्ध संस्थानहरूबाट म्याद सकिएका खाद्यान्न बिक्री वितरण गरेको पाइएको छ । सरकारी तहबाटै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम भएको छ । ‘सरकारले बजारलाई स्वच्छ र व्यवस्थित बनाउन सबैभन्दा पहिले आफ्ना मातहतका निकायमा नै छानबिन गरी कारबाही गर्नुपर्छ,’ उनले भने, ‘खाद्य तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थान जस्ता सरकारी कम्पनीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम गरेको छ ।’ दुग्ध विकास संस्थानका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले भने डेट एक्सपायर भनिएको बटर सुजल डेरीबाट खरिद नगरिएको बताए । उनका अनुसार सो बटर संस्थानकै हो । उनले संस्थानले सुजल डेरीलाई ज्यालामा पाउडर दुधलाई प्रशोधन गरी बटर बनाउन मात्र दिएको बताए । महाप्रबन्धक पौडेलले सो बटर प्याकेजिङमा आठ महिनामा भित्र प्रयोग गरी सक्नुपर्ने उल्लेख भए पनि एक वर्षसम्म प्रयोग गर्न मिल्ने बताए । उनले भण्डारण गर्दा १८ देखि २३ सम्मको तापक्रममा राखेको एक वर्षसम्मको बटर घिउ बनाउनलाई केही फरक नपर्ने बताए । आठ महिना प्रयोग गर्नु उपयुक्त डेट भए पनि एक वर्षदेखि डेढ वर्षसम्म प्रयोग गर्दा फरक नपर्ने महाप्रबन्धक पौडेलको भनाइ छ । राजधानी दैनिक