२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

३ महिनामा करिब ७ सय प्रतिशत बढी पुँजीगत लाभकर संकलन



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा सेयर बजारबाट करिब सवा अर्ब रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आर्थिक वर्षको पहिलो त्रैमासमा संकलित लाभकर करिब आठ गुणा (करिब ७ सय प्रतिशत) बढी हो । गत आर्थिक वर्षको पहिलो तीन महिनामा सेयर बजारबाट १३ करोड ८५ लाख रुपैयाँ मात्र पुँजीगत लाभकर संकलन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा ठूलो परिमाणमा प्राथमिक निष्कासन (आईपीओ) सूचीकरण भएको, अनलाइन कारोबार बढेको, कारोबार रकम बढेकोलगायत कारण धेरै पुँजीगत लाभकर संकलन भएको बताइएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज) मा पुँजीगत लाभकर र अग्रिम कर कट्टी (टीडीएस) गरी कुल १ अर्ब २८ करोड रुपैयाँ कर संकलन भएको छ । जसमध्ये करिब १ अर्ब १२ करोड रुपैयाँ पुँजीगत लाभकरबाट र १६ करोड ६७ लाख रुपैयाँ टीडीएसबाट संकलन भएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा १३ करोड ८५ लाख रुपैयाँ पुँजीगत लाभकर र २ करोड ७ लाख रुपैयाँ टीडीएसबाट गरी १६ करोड ५५ लाख रुपैयाँ संकलन भएको थियो । हालको व्यवस्थाअनुसार सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले ५ र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । यसबाहेक धितोपत्र ब्रोकर, नेप्से, संस्थागत लगानीकर्ताले संस्थागत आम्दानी कर पनि तिर्नुपर्छ । सबै जोड्दा यो वर्ष सेयर बजारबाट संकलन हुने कर धेरैले बढ्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेप्से परिसूचक करिब २ सय अंक बढिसकेको छ । गत असार मसान्तमा करिब १ हजार ३ सय ५८ अंकमा रहेको नेप्से असोज मसान्तमा १ हजार ५ सय ६३ अंकमा उक्लेको छ । यो अवधिमा दैनिक औसत कारोबार पनि बढेको छ । दोस्रो बजारमा पूर्ण स्वचालित अनलाइन कारोबार सुरु भएको करिब डेढ वर्ष भइसक्दा पनि उल्लेख्य रूपमा कारोबार रकम बढ्न सकेको थिएन । तर कोभिड–१९ को जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि करिब तीन महिना बन्द भएर खुलेको बजारमा उल्लेख्य कारोबार बढेको छ ।

सो अवधिमा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या बढ्नुले पनि यो पुष्टि हुन्छ । नेप्सेका अनुसार दुई साताअघिसम्म करिब १ लाख २० हजार ५ सय जनाले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका छन् । गत भदौ दोस्रो साता यस्तो संख्या ६४ हजार ६ सय १६ थियो । गत साउन र भदौमा करिब ४० हजार लगानीकर्ताले अनलाइन कारोबारका लागि ‘युजर नेम र पासवर्ड’ लिएका थिए । लकडाउन सुरु हुनुअघि (गत चैत ११ अघि) यस्तो सख्या करिब २६ हजार ६ सय मात्र थियो । यो तथ्यांकले पछिल्लो ६ महिनामा अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या करिब एक लाखले बढेको देखाउँछ  । सरकारले लकडाउन सुरु गरेपछिका पाँच महिनामध्ये करिब तीन महिना बजार बन्द नै रह्यो । कोभिड–१९ को जोखिमले हिँडडुलमा अवरोध हुनुका साथै अनलाइन कारोबार सजिलो र झन्झटरहित भएकाले ‘युजर नेम र पासवर्ड’ लिनेको संख्या बढेको नेप्सेले जनाएको छ ।

पुँजीबजारको इतिहासमा करिब साढे दुई दशकपछि नेप्सेले ०७५ कात्तिक २० देखि पूर्ण स्वचालित विद्युतीय कारोबार सुरु गरेको थियो । विद्युतीय कारोबार सुरु भएको पनि झन्डै दुई वर्ष पुगिसकेको छ । अनलाइन कारोबार सुरु हुँदा ताका लगइन लिने लगानीकर्ताको संख्या न्यून थियो । गत चैत ६ गतेसम्म लगइन लिएको संख्या २६ हजार ६ सय मात्र थियो । पुँजीबजारमा करिब १८ लाख लगानीकर्ता आबद्ध रहेको विभिन्न सरकारी निकायले बताउँदै आएका छन् । तर दोस्रो बजारमा कारोबारका लागि योग्य लगानीकर्ता साढे तीन लाखभन्दा कम नै रहेको नेप्सेको तथ्यांक छ । कान्तिपुर दैनिक