२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने तयारीमा सरकार



अ+ अ-

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा नजोडिएका स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडकमार्फत जोड्न लागिएको हो । अझसम्म १३ जिल्लाका ४२ वटा स्थानीय तह सडक सञ्जालबाट जोडिएको छैन । गतवर्ष नै सुरु गर्ने भनिएको उक्त कार्यक्रम कोरोना भाइरसका कारण केही ढिलाइ भए पनि यस वर्षदेखि कार्यान्वयनमा आउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वैदेशिक सहयोग समन्वय शाखाका प्रमुख रेशम कँडेलले बताए। उक्त सडक सङ्घ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माण गरिने छ । शाखा प्रमुख कँडेलले गतवर्ष नै सञ्चालन हुने भनिएको उक्त कार्यक्रम कोरोना भाइरसका कारण सञ्चालन हुन नसकेको र यस वर्ष कार्यान्वयन हुने बताए । सङ्घले ६०, प्रदेशले ३० र सम्बन्धित स्थानीय तहको १० प्रतिशत रकमको लागत साझेदारीमा उक्त सडक निर्माण गर्न लागिएको हो ।

नेपाल सरकारबाट बेहोर्ने रकम भने विकास साझेदारबाट अनुदान तथा ऋण सहयोग लिन सकिने व्यवस्था प्रदेश तथा स्थानीय तह सडक निर्माण कार्याविधिमा उल्लेख गरिएको छ । उक्त सडक सञ्जालसँगै आवश्यकताअनुसार पैदल मार्ग र साइकल ट्र्याकसमेत निर्माण गरिने छ । सडक कार्यान्वयन गर्नका लागि मन्त्रालयमा समन्वय एकाइ र प्रदेश तहमा कार्यान्वयन एकाइ गठन गरेको छ । उनले भने, “कार्यविधिलाई केही परिमार्जन गरी यस वर्षदेखि कार्यान्वयनमा आउने गरी काम तीव्र गतिमा अगाडि बढेको छ ।” भौगोलिक अवस्था हेरी सडक अधिकतम दुई लेनसम्मको निर्माण गर्न सकिने छ । भौगोलिक धरातल हेरी पहिरो जाने र वन क्षेत्र विनाश हुने भए त्यस्तो अवस्थामा सडक एक लेनको पनि निर्माण गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ । माग भइआएका सडकको स्वीकृति कार्य मन्त्रालयले गर्ने, सडकको अनुगमन, नियमन र समन्वय स्थानीय पूर्वाधार विभागले गर्ने गरी कार्यविधि निर्माण गरिएको छ ।

कार्यान्वयनमा ढिलाइ
सरकारले गत आर्थिक वर्षदेखि नै गर्ने भनिएको प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने कार्यक्रमको अहिलेसम्म कार्य प्रारम्भ नभएकोप्रति स्थानीय तहका जनप्रतिनिधिले आपत्ति जनाएका छन् । सरकारले सोही कार्यक्रमका लागि चालू आर्थिक वर्षमा पाँच अर्ब रुपियाँ विनियोजन गरे पनि भौतिक रूपमै काम अगाडि बढ्न नसकेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले जनाएको छ ।

“हामीले गत आर्थिक वर्षमै प्रदेश राजधानीदेखि गाउँपालिकाको केन्द्रसम्म जोडिन बाँकी भएका स्थानीय तहको नाम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाए पनि काम अगाडि बढ्न ढिलाइ भएको छ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपपालका महासचिव वंशलाल तामाङले भन्नुभयो, “यो कार्यक्रम प्रभावकारी भएकाले छिट्टै काम होस् भन्ने पक्षमा छौँं, त्यसमा आवश्यक सहयोग गर्न स्थानीय तहका जनप्रतिनिधि तयार छन् ।” सङ्घ र प्रदेशका सांसदले भनेको स्थानमा पैसा विनियोजन गर्न ढिलाइ नहुने तर दुर्गम स्थानका नागरिकलाई प्रदेश राजधानीसम्म पुग्न सहजताका लागि सडक निर्माण गर्न छुट्याइएको कार्यक्रम कार्यान्वयनमा ढिलाइ हुनु विडम्बना भएको उनले गुनासो गरे । गोरखापत्र दैनिक