१८ मंसिर २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

अन्तरिक्षमा ‘अड्किएका’ वैज्ञानिक के गरेर बस्छन्, कसरी फर्काइन्छ ?



अ+ अ-

काठमाडौँ । अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा दुई अन्तरिक्षयात्री निर्धारितभन्दा बढी समय बसिरहेका छन्। त्यसरी अन्तरिक्षमा मानिस अड्किएको यो पहिलो घटना होइन र सम्भवतः अन्तिम पनि हुने छैन।

हामीमध्ये कैयौँ बिग्रेको बस तथा रेलमा घण्टौँ फसेका छौँ वा कुनै सफ्टवेअरले काम नगरेका कारण विमानस्थलमा अलपत्र परेका छौँ। मैले असाध्यै सम्झने चाहिँ फाकल्यान्ड टापुमा विमानको इन्जिनमा आगो लागेपछि फसेको घटना हो। तर त्यहाँ मन बहलाउन कमसेकम पेङ्गुइन त थिए नि।

अब हामी आठ दिनका लागि भनेर गएका तर अहिले दुई महिनादेखि त्यहीँ अड्किएका सुनिता विलिअम्स र बुच विल्मोर बारे सोचौँ न। उनीहरूलाई अन्तरिक्षमा लगेको बोइङको चमकदार ‘न्यू स्टारलाइनर’ यान उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काउन सक्षम नहुन पनि सक्छ।

गत ७ अगस्टमा नासाको मिडिया ब्रिफिङमा अधिकारीहरूले स्टारलाइनरको धेरै वटा ‘थ्रस्टर्स’मा समस्या आएकोबारे विस्तृतमा बताएका थिए। त्यो यानको ‘प्रोपल्शन प्रणाली’मा समस्या उत्पन्न भएको थियो र केही थ्रस्टर्स बन्द भएका थिए।

पृथ्वीमा व्यापक परीक्षण गर्दा पनि इन्जिनियरहरूले यो समस्या कसरी भयो भन्ने बुझ्न सकेका छैनन्। यसैबीच कक्षमा गरिएको परीक्षणले अहिले थ्रस्टर्सले राम्रो काम गरिरहेका देखाएको छ। यसले अझ बढी अन्योल थपेको छ।

अब के होला ?
जबसम्म इन्जिनियरहरूमा यो प्रोपल्शन प्रणालीमा विश्वास हुँदैन, तबसम्म विलिअम्स र विल्मोर तत्काल घर फर्कने सम्भावना हाललाई छैन।

त्यसबारे निर्णय लिइसकिएको छैन, तर एउटा सम्भावित परिदृश्य चाहिँ के हो भने उक्त अन्तरिक्ष यानलाई उनीहरूबिना नै पृथ्वीमा फर्काउनुपर्ने हुन सक्छ।

नासाको अन्तरिक्ष सञ्चालन निर्देशक केन बोवेरसोक्सले भने, “गएको एक वा दुई सातामा जे देखिएको छ, चालकदलबिना नै स्टारलाइनर फर्कने सम्भावना केही बढेको छ। तर हामीलाई थाहा छ निश्चित समयमा हामीले बुच र सुनिलाई घर फर्काउनु छ।”

तर त्यो छिटै नहुन पनि सक्छ। यदि स्टारलाइनर खाली फर्क्यो भने नासाले चार सीट भएको ‘स्पेसएक्स क्रू ड्र्यागन स्पेसक्र्याफ्ट’ पठाउने योजना बनाएको छ, जसमा दुई जना मात्र अन्तरिक्षयात्री हुनेछन्। विलिअम्स र विल्मोर अन्तर्राष्ट्रिय स्टेशनमा फेब्रुअरी २०२५सम्म बस्ने छन् र यो नयाँ यानमा फर्कने छन्।

अहिले आईएसएसमा कार्यरत नासाका अन्य चार अन्तरिक्षयात्री सेप्टेम्बरमा पृथ्वीमा फर्कने योजना छ। आईएसएसमा नियमित रूपमा बस्ने चार र तीन जना रुसी अन्तरिक्षयात्रीसहित आईएसएसमा सात जना रहने छन्।

“उनीहरू माथि आईएसएसमा रहँदा हामीसँग थप मानवस्रोत उपलब्ध हुनेछ र उनीहरूले त्यहाँ धेरै काम गर्न सक्ने छन्। तर त्यसको अर्थ उनीहरूले त्यहाँ भएका खानेकुरा पनि धेरै सिद्ध्याउने छन्,” बोवेरसोक्स भन्छन्, “त्यसैले हामीले त्यहाँ नियमित रूपमा राख्न सकिने सङ्ख्या मात्र राख्नुपर्ने हुन्छ।

अन्तरिक्षमा ‘फस्दा’को अनुभव
हामी फसेका कैयौँ स्थानहरू नराम्रा पनि पर्न सक्छन्।

“अन्तरिक्ष स्टेशनमा खासमा अहिले सात शयनकक्ष र तीन बाथरूम छन्,” सन्२०२०( २०२१ मा आईएसएसमा छ महिना समय बिताएका नासाका अन्तरिक्षयात्री भिक्टर ग्लोभरले स्पेस बफिन्स पड्कास्टलाई जुन महिनामा ‘स्टारलाइनर’ प्रक्षेपण गर्नुअघि भनेका थिए।

त्यहाँ पानी टन्न छ। हालै पठाइएका खानेकुराका कारण त्यहाँ त्यसको पनि कमी छैन।

त्यहाँभित्र केही भिडभाड भए पनि त्यहाँबाट तल पृथ्वीको दृश्य मन्त्रमुग्ध पार्ने किसिमको छ। अन्तरिक्षयात्री निकोल स्कोटले एक पटक भनेकी थिइन् कि तल हेर्दा देखिने निलो गुच्चा जस्तो पृथ्वी हेर्दाहेर्दै मग्न भएर काममा फर्कनका लागि उनले अलार्म नै राख्नुपरेको थियो।

“अन्तरिक्षयात्रीहरू त्यहाँ खुसीसाथ बसिरहेका छन्,” अन्तरिक्षसम्बन्धी समाचार छाप्ने ‘स्पेसअपक्लोज’का संस्थापक तथा सम्पादक केन क्रेमरले भने, “धेरै मानिसले उनीहरू त्यहाँ फसेको भन्ठान्छन्, तर त्यस्तो हैन।”

“त्यसो भन्नुको अर्थ त्यहाँको समस्याहरूलाई कम आँक्न खोजिएको होइन, तर ती अन्तरिक्षयात्रीको यो यात्रा आठ दिनको हुन नै हुँदैनथ्यो,” क्रेमरले भने। “उनीहरू दुवैले यसअघि छमहिने अन्तरिक्षयात्रा गरिसकेका छन् त्यसैले उनीहरूको यात्राको अवधि पहिले नै लामो तय गरिनुपर्थ्यो। ”

धेरै जिम्मेवारी
हामीमध्ये कैयौँ हाम्रा रेलयात्रा रद्द हुँदा आक्रोशित या दिक्क हुन सक्छौँ ।

तर अन्तरिक्षयात्रीहरू उच्च तालिमप्राप्त व्यक्ति हुन् र उनीहरू हरेक परिस्थितिका लागि तयार व्यक्ति हुन्।

“हामी व्यावसायिक रूपमा नै खतरा मोल्ने मानिस हौँ,” ग्लोभर भन्छन्। हामी त्यस्ता खतरा कम गर्ने उपाय अवलम्बन गर्छौँ तर अन्तरिक्षमा जाने भनेको खतरामुक्त काम होइन।”

विलिअम्स र विल्मोर नासाका सबभन्दा अनुभवी दुई अन्तरिक्षयात्री हुन्। अनि योजनाकारहरूले उनीहरूको त्यहाँको उपस्थितिको उचित उपयोग गर्न खोजिरहेका छन्।

उनीहरूलाई दैनिक समय तालिकामा राखेर ‘स्टारलाइनर’ परीक्षणमा उपयोग गर्न खोजिराखेका छन्। ती अन्तरिक्षयात्रीले स्टेशन सफा राख्न, अन्तरिक्ष पोसाक मर्म सम्भार गर्न, वैज्ञानिक परीक्षणहरू गर्न र ‌’ओलिम्पिक तालिम’का लागि समय पनि निकालेका छन्।

“उनीहरू विशेष चालकदल हुन्, विशेष अन्तरिक्षयात्री हुन् र स्टारलाइनर उडाउन सक्षम पनि, ‘आईएसएसकी निर्देशक डाना वेइगेलले यो महिनाको सुरुमा एक ब्रिफिङमा भनेकी थिइन्।

“हामीसँग सधैँ एउटा योजनामा समस्या उत्पन्न भए के गर्ने भन्ने दोस्रो योजना पनि हुन्छ। उनीहरू पूर्ण रूपमा तालिमप्राप्त छन् र उनीहरू अबको बाटो के भन्नेमा तयार पनि छन्।”

वैज्ञानिक परीक्षण गर्नुबाहेक ती अन्तरिक्षयात्रीहरूको स्टेशनको ज्ञान र आन्तरिक कुराहरूको ज्ञानका कारण उनीहरूलाई तुरुन्तै त्यहाँ गर्नुपर्ने बन्दोबस्तीका कामहरू जस्तो कि कार्गो तयार पार्ने, केके खानेकुरा छ भनेर जाँच्ने र उपकरण राखिएका र्‍याकहरूको गहिरो सरसफाइ गर्ने काम पनि दिइएको छ। गुरुत्वाकर्षण न्यून भएका ठाउँमा उपयोगमा आउने उनीहरूको प्लम्बिङ दक्षताको पनि उपयोग गरिएको छ।

स्टेशनमा साधरणतया अन्तरिक्षयात्रीको पसिना र पिसाब पुनर्प्रयोगमा ल्याएर पानी बनाइन्छ। तर त्यसका लागि चालकदलले पिसाब भण्डारण गर्नुपर्छ। त्यो अलि कोचाकोचको स्थितिमा त्यति राम्रो कुरा त होइन। हालै आवश्यक सरसामग्री लग्दा उनीहरूसँग लगिएका स्पेअर पार्ट्स र थप उपकरणको सहयोगमा विलिअम्स र विल्मोरले समस्या आएका प्रणाली मर्मतसम्भारमा प्रयोग गरेका छन्।

यसले स्पेस स्टेशनको सफलता र त्यो लक्षमा काम गर्नेहरूको व्यावसायिकताबारे बताउँछ।

र त्यहाँ यस्ता नाटकीय घटना कम नै हुने गर्छन्।

सन् २०००को नोभेम्बरयता अन्तरिक्षमा निरन्तर रूपमा मानिस बसेर काम भइरहेको छ भन्ने कुरा हामी सजिलै बिर्सन्छौँ।

विगतको अनुभव कस्तो छ
अहिलेको स्थिति पहिलोपल्ट भएको होइन र स्थिति योभन्दा निकै खराब पनि हुन सक्थ्यो।

जब सोभियत अन्तरिक्षयात्री सेर्गेइ क्रिकलेभ मे १९९१ मा अन्तरिक्ष स्टेशन ‘मिर’को यात्रामा गएका थिए, उनले कक्षमा केही महिना बिताउनुपर्ने ठानेका थिए। त्यो यात्राको सुरुका हप्ताहरू त योजनाअनुरूप नै भइरहेका थिए र त्यसमा ब्रिटिश अन्तरिक्षयात्री हेलेन शर्मनलाई पनि संलग्न गरिएको थियो। तर तल पृथ्वीमा उनको देश टुक्रिँदै गइरहेको थियो।

अगस्टमा मस्कोका सडकहरूमा ट्याङ्कहरू गुडिरहेका थिए र सोभियत नेता मिखाइल गोर्भाचोभविरुद्ध कम्युनिस्ट कट्टरपन्थीहरूले कू प्रयत्न गरेका थिए।

क्रिकलेभले मलाई भने, “मेरी श्रीमती मिशन कन्ट्रोलको काम गर्थिन्। उनीहरू हाम्राबारे चिन्तित थिए र हामी उनीहरूबारे चिन्तित थियौँ – दोहोरो चिन्ता।” उनीसँग सन् २०१९ मा मस्कोमा भेटेका बेला भएका कुरा हुन् यी।

हामीले तल पृथ्वीको आधारमा भएका यी उथलपुथलका कुरा सुन्यौँ र हामी हाम्रा बाआमा, साथीभाइ र नातेदारबारे चिन्तित भएका थियौँ।

चार महिनापछि सोभियत यूनियन सम्पूर्ण रूपमा तहसनहस भयो। माथि सामान पुर्‍याउने यानहरू चलिरहेका भए पनि क्रिकलेभ र उनका सहकर्मी एलेक्सान्डर भोल्कोभ कहिले फर्किन पाउने हुन् भन्नेबारे शङ्काहरू थिए।

सोभियत प्रक्षेपणस्थल र अवतरणस्थल नयाँ र स्वतन्त्र देश कजकस्तानमा परेका थिए र रुसी सरकारले अन्तरिक्ष कार्यक्रम जारी राख्न एक सम्झौता गर्नुपर्थ्यो।

मलाई क्रिकलेभले भनेका थिए, ‘हामीलाई अन्तरिक्ष स्टेशनमा बिर्सिइयो भनेर भनिएका सबै कथा मैले सुनेँ। तर त्यो सत्य थिएन किनभने हामी हरेक दिन पृथ्वीस्थित केन्द्रका मानिससँग कुराकानी गरिरहेका हुन्थ्यौँ । खाना, पानी र परीक्षणका लागि आवश्यक सामग्री नियमित रूपमाआपूर्ति भइरहेका हुन्थ्यो।’

सोभियत यूनियन छोडेपछि एक वर्ष कक्षमा बिताएर अन्तरिक्षयात्री उनको नयाँ देश रुसमा फर्के। नयाँ परिवर्तनका कारण उनी अन्तरिक्षयानमा चढ्ने पहिलो रुसी र आईएसएसमा बस्ने पहिलो चालकदलका सदस्य बनेका थिए।

अहिलेको पछिल्लो स्थितिको स्पष्ट कुरा के हो भने अहिले कोही पनि आत्तिएका वा चिन्तित छैनन् र स्टारलाइनरको स्थिति के छ भन्नेबारे तथ्य सङ्कलन भइरहेको छ।

नासाले चालक दलसहित मानिसहरू फिर्ता ल्याउने कि खाली यान फिर्ता ल्याउने भन्नेबारे निर्णय गर्न अझै केही साता बाँकी छ।

यदि विलिअम्स र विल्मोर सेप्टेम्बरमा फिर्ता आए भने पनि यस्तै परिस्थिति भविष्यमा पनि आउने छ किनभने यानहरू थप आधुनिक बन्दै छन् र चन्द्रमा र अन्य स्थानमा जाने काम पनि बढ्दै जाने छ।

अर्को वर्ष, भिक्टर ग्लोभर ‘आर्टेमिस दोस्रो’का चालक बन्ने छन्। यो सन् १९७२ पछि पृथ्वीको कक्ष छोड्ने पहिलो मिशन हुने छ। “हामी हाम्रो व्यवसायका लागि काम गरिरहेका हुने छौँ र आम सर्वसाधारणका लागि हामीले गर्ने काम नियमित जस्तो लाग्ने छन्,” ग्लोभर भन्छन्, “हामी जब दशौँ स्टारलाइनर मिशन उडाउने छौँ, त्यो पनि असाध्यै जटिल र पेचिलो हुने छ।’ बीबीसीबाट साभार