१० फाल्गुन २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आम्दानीको बलियो स्रोत भुइँकटहर खेती



अ+ अ-

त्रिवेणी, (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो गाउँका किसानका लागि भुइँकटहर आम्दानीको बलियो स्रोत बनेको छ ।

बन्दीपुरका तुलबहादुर फालमगरले करिब तीन हेक्टर पहाडी पाखोमा भुइँकटहर लगाउनुभएको छ । गत वर्ष खर्च कटाएर रु दुई लाख ५० हजार आम्दानी गर्नुभएका उहाँले यस वर्ष भुइँकटहर राम्रो भएकाले रु तीन लाख बढी आम्दानी हुने बताउनुभयो । “गत वर्षभन्दा यस वर्ष राम्रो भुइँकटर फलेको छ, भाउ पनि राम्रो छ, यसपालि आम्दानी बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

भुइँकटरलाई वर्षमा एकपटक मात्र गोडमेल गरे पनि राम्रो आम्दानी लिन सकिने उहाँको अनुभव छ । रेखदेख राम्रो गरे फल पनि राम्रो लाग्ने उहाँले बताउनुभयो । अन्य बाली लगाउँदा खासै केही नहुने पहाडी पाखोमा भुइँकटर आम्दानीको बलियो स्रोत बनेको उहाँले बताउनुभयो । “यस पाखोमा अरु लगाएर खासै केही हुँदैनथ्यो, भुइँकटहरले राम्रो आम्दानी दिएको छ, माग पनि राम्रो छ”, तुलबहादुरले भन्नुभयो ।

अहिले भुइँकटर प्रतिगोटा रु ५५ देखि रु एक सयसम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । भुइँकटर लिन व्यापारीहरू गाउँमै आउने गरेको उहाँले बताउनुभयो । पहिले बन्दीपुरसम्म यातायातको सुविधा नहुँदा डोकोमा स्थानीय बजार पुर्याउनुपर्ने बाध्यता रहेकामा अहिले त्यो बाध्यता हट्नाले थप सुविधा भएको अर्का किसान होमबहादुर दिसुवाले बताउनुभयो । गत वर्षसम्म बन्दीपुरसम्म यातायातको पहुँच नहुँदा बर्खामा भुँइकटहर बजार पुर्याउन समस्या हुने गरेकामा अहिले कालोपत्र सडक गाउँ पुग्दा बजारीकरणमा सुविधा भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको लागनीमा मुण्डे–कीर्तिपुर–बन्दीपुर सडक कालोपत्र भएपछि उत्पादन भएको भुइँकटर नारायणगढ, बुटवल, भैरहवासम्मका व्यापारीले गाउँमै आएर खरिद गरी लैजाने गरेको उहाँले बताउनुभयो । एक हेक्टर क्षेत्रमा भुइँकटर लगाउनुभएका होमबहादुर यसको बिक्रीबाट आउने आम्दानीले घरखर्च चलाउन सहज हुने जानकारी दिनुहुन्छ ।

बन्दीपुरका करिब ४० घरपरिवार सबैले भुइँकटर लगाएका छन् । दुई याममा उत्पादन हुने भुइँकटहर यहाँका स्थानीयको आम्दानीको स्रोत बनेको छ । पाकेपछि सिधैँ बजारमा नगदमा बिक्री हुने हुँदा यसको खेतीमा यहाँका स्थानीयको आकर्षण बढेको छ । गत वर्षमात्र यहाँका किसानले करिब रु ५० लाख बराबरको भुइँकटहर बिक्री गरेको तुलबहादुरले बताउनुभयो ।

देवचुली नगरपालिकाअन्तर्गत पर्ने बन्दीपुर गाउँमा राम्रो भुइँकटर उत्पादन हुने भएकाले यस गाउँलाई भुइँकटहरको पकेट क्षेत्र निर्माण गर्ने गरी चालु आर्थिक वर्षमा कार्यक्रम तय गरिएको देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले बताउन्भयो । बन्दीपुरको भुइँकटहर बजारीकरणका लागि पालिकाले सहयोग गर्दै आएको र अन्य सङ्घसंस्थासँग मिलेर किसानलाई भुइँकटहरखेतीतर्फ आकर्षित गर्नेगरी काम गरिने उहाँले जानकारी दिनुभयो । भुइँकटरकै माध्यमबाट बन्दीपुरका स्थानीयको आर्थिक विकास गर्न सकिने भएकाले यसलाई लक्ष्यित गरी काम गरिने नगरप्रमुख न्यौपानेले बताउनुभयो । रासस