काठमाडौं । सरकारले त्रिशूलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने भएको छ ।
२८ असारमा त्रिशूलीमा बेपत्ता भएका दईवटा बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको गृहसचिव एकनारायण अर्यालले बताए ।
बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहसचिव अर्यालले भने ‘खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए ।
बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ ।