
काठमाडौँ । संवैधानिक परिषद्को गत मंगलबार सुटुक्क बसेको बैठकले विभिन्न संवैधानिक आयोगमा सिफारिस गरेकामध्ये कम्तीमा ५ जना प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नजिकका व्यक्तिहरू रहेको खुलेको छ । सर्वोच्च अदालत स्रोतका अनुसार कतिपयको पहिचान नखुलेकाले यो संख्या धेरै पनि हुन सक्छ । ४५ जनाको नाम सिफारिस भनिए पनि ३८ जनाको नाम मात्रै सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा सिफारिस किशोर सिलवाल प्रधानन्यायाधीश जबराका पुराना साथी हुन् । काठमाडौं स्कुल अफ लका संस्थापकमध्येका उनी प्रधानन्यायाधीशकै कोटामा सिफारिसमा परेका स्रोतको दाबी छ ।
निर्वाचन आयुक्तमा सिफारिस रामप्रसाद भण्डारी वरिष्ठ अधिवक्ता हुन् । केही साताअघि उनको नाम न्यायपरिषद्को सदस्यका लागि चर्चामा थियो । नेकपानिकट भए पनि उनलाई प्रधानन्यायाधीशकै रुचिमा सिफारिस गरिएको बताइएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर यसअघि राष्ट्रिय न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशक थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा सुशील प्याकुरेलको नाम सिफारिस गर्ने हल्ला चले पनि उनको विवादित ट्रयाक रेकर्ड र न्यूनतम शैक्षिक योग्यताका कारण प्रधानन्यायाधीशको सिफारिसलाई नै कार्यान्वयन गरे ।
प्रधानन्यायाधीश जबरासँग राम्रो सम्बन्ध भएका कारण प्रतिष्ठानमा जागिर पाएका पूर्वन्यायाधीश मगरले त्यहाँबाट ६ वर्षका लागि मानव अधिकार आयोगको अध्यक्षमा फड्को मारेका हुन् । न्याय सेवामा प्रवेश गर्नुअघि प्रधानन्यायाधीश जबरा वरिष्ठ अधिवक्ता किशोर अधिकारीको ल फर्ममा काम गर्थे । अहिले त्यही फर्ममा काम गर्ने अधिवक्ता मनोज दुवाडीलाई उनले मानव अधिकार आयोगको सदस्यमा सिफारिस गराएका छन् । समावेशी आयोगमा सदस्य बनेका डा. रामकृष्ण तिमिल्सिना सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार हुन् ।
सूचनाको हकसम्बन्धी कानुनका ज्ञाता उनलाई प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विज्ञका रूपमा नियुक्ति दिएका थिए । अहिले उनी समावेशी आयोगमा सिफारिस भएका हुन् । उनी नेसनल ल कलेजका पनि प्राचार्य हुन् ।
को कहाँ सिफारिस
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
प्रमुख: प्रेमकुमार राई
सदस्य: जयबहादुर चन्द,
किशोर सिलवाल
निर्वाचन आयोग
आयुक्त: रामप्रसाद भण्डारी
डा जानकी तुलाधर
राष्ट्रिय मानवअधिकार आयोग
अध्यक्ष: तपबहादुर मगर
सदस्य: मनोज दुवाडी
सूर्य ढुंगेल
लिली बस्नेत थापा
मीहिर ठाकुर
राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग
जुद्ब गुरुङ
अम्मरराज मिश्र
महिला आयोग
अध्यक्ष: कमला पराजुली
सदस्य: कृष्णकुमारी पौडेल
विद्याकुमारी सिन्हा
राष्ट्रिय दलित आयोग
अध्यक्ष: देवराज विक
सदस्यह: मीना सोब
पर्शुराम रम्तेल
तुन्ज बराइली
मेहेले पार्की
समावेशी आयोग
अध्यक्ष: रामप्रसाद खत्री
सदस्य: रामचन्द्र जोशी
रामकृष्ण तिमिल्सिना
हरिदत्त जोशी
आदिवासी जनजाति आयोग
अध्यक्ष: रामबहादुर थापा
सदस्य: मिनश्रीस मगर
मेन्चुङ लामा
रिना राना
चरण राई
मधेसी आयोग
सदस्य: जिवत्स साह
रेणुदेवी साह
विजय गुप्ता
थारु आयोग
सदस्य: विकास चौधरी
वविता चौधरी
सुवोध सिंह
भोलाराम चौधरी
मुस्लिम आयोग
सदस्य: महमुद्दिन अली
मिर्जा अरसद बेग
कान्तिपुर दैनिक