२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

व्यावसायिक केरा खेतीमा रमाएका निर्मल



अ+ अ-

मध्यविन्दु । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आउनुभएको छ ।

“उमेरमै जागीरबाट पेन्सन निस्किए, राम्रो देशमा आकर्षक तलबसहित रोजगारीका लागि साथीहरू गइरहेका थिए तर मलाई यही माटोमा पसिना बगाउन मन थियो अहिले केरा खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “विदेशमा १० घन्टा बगाउने पसिना यहाँ चार पाँच घन्टा मेहनत गर्ने हो भने कृषिबाट नै राम्रो मनग्य गर्न सकिने रहेछ ।”

दीर्घकालीन सोचसहित निर्मलले कावासोती नगरपालिका– १० रतौलमा १२ बिघा जमिन भाडामा लिएर व्यावसायिक केराखेती गरिरहनुभएको छ । छिटो आम्दानी गर्न सकिने, अनुकूल हावा पानी र वातावरण, सिँचाइ, बजारको सुविधासमेत रहने भएकाले कावासोतीमा व्यावसायिक केराखेतीतर्फ आफू आकर्षित भएको उहाँले बताउनुभयो ।

“पहिलो वर्ष प्रतिगोटा रु ४० का दरले १७ हजार आठ सय ५० वटा बिरुवा ल्याएर केरा खेती सुरु गरेको हो”, उहाँले भन्नुभयो, “तीन वर्ष अगाडि रोपेका बिरुवाले अहिले उत्पादन दिन थालेका छन् ।” निर्मलले गर्नुभएको व्यावसायिक केराखेतीबाट दुई जनाले रोजगारीसमेत पाएका छन् । उहाँ आफँै पनि पूर्ण रूपमा काममा लाग्ने गर्नुभएको छ भने अन्य दुई जनासहित आवश्यकताअनुसार दैनिक ज्यालामा कामदार राख्ने गर्नु भएको छ । अहिले केराखेतीबाट मेहनतअनुसारको आम्दानी हुन थाले पछि उहाँलाई सन्तुष्टि दिलाएको छ ।

“अहिले बारीमै भैरहवा, बुटवल र आसपासका व्यापारीले प्रतिगोटा रु सातका दरले काँचो केरा खरिद गरेर लाने गरेका छन्”, उहाँले भन्नुभयो, “प्रतिफल राम्रै पाएकाले अझै विस्तार गर्ने योजनामा रहेको छु ।” समयमा बीउ, मल नपाउनु, सिँचाइको अभाव, कामदार नपाउनुजस्ता समस्याले गर्दा केरा खेती गर्ने किसानले दु:ख पाउने गरेको उहाँको अनुभव रहेको छ । पर्याप्त सिँचाइ नभएकाले थोपा सिँचाइबाट खेती गरेको निर्मलले बताउनुभयो ।

“सिँचाइ, हावाहुरी र कीरा केराखेतीको मुख्य समस्या रहेछन्, रोग लागेन र हावाहुरीले क्षति पुगेन भने यसबाट राम्रो आम्दानी लिन सकिने रहेछ”, उहाँले भन्नुभयो । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा करिब पाँच सय ५१ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

“कृषि ज्ञान केन्द्रमार्फत व्यावसायिक केराखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप ५० प्रतिशत अनुदान दिँदै आएका छाँै”, उहाँले भन्नुभयो, “किसानको खेतबारीमा गएर अनुगमन गरी समस्याका बारेमा सुझाव दिने गर्ने गरेका छौँ ।” पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिने क्रम बढ्दो छ । केही युवा स्वदेशमै स्वरोजगारसँगै आम्दानीको क्षेत्र पहिचान गर्न लागि परेका छन् । यसरी स्वदेशमै पसिना बगाउन चाहने युवालाई राज्यले उचित सहयोग गर्ने हो भने रोजगारीको समस्या नपर्ने किसानको भनाइ छ । रासस