काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिएको आरोप लागेका ८ जना दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले आरोप लागेका ८ जनालाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेका हुन् ।
इजलासले २ जनालाई ४/४ वर्ष, २ जनालाई २/२ वर्ष र ४ जनालाई १/१ वर्ष जेल सजाय गरेको छ । बिल्वा भूमि वन प्रालिका नक्कली प्रतिनिधि रेशमबहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई ४/४ वर्ष कैद र मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद सुनाइएको छ । चारै जनालाई जनही ७ करोड ६० लाख रुपैयाँ जरिवाना भएको विशेष अदालतले जनाएको छ । रामप्रसाद अधिकारी, इश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद र जनही ३ करोड ८० लाख रूपैयाँ जरिवाना सुनाइएको छ ।
अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर ऋण लिएको आरोपमा सीआईबीले उनीहरूविरुद्ध १९ करोड बिगो कायम गरेर मुद्दा दायर भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण विभागले पनि मुद्दा चलाएको थियो।
अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट बनाएर काठमाडौं न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।