१७ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

स्थानीय जातको कालो सुँगुर जोगाउनै मुश्किल



अ+ अ-

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्राम मगरको बाक्लो बस्ती भएको ठाउँ हो । मगरको घरैपिच्छे पालिँदै आएको स्थानीय जातको कालो सुँगुर अहिले कमै पाइन्छ । घरैपिच्छे पालिने कालो सुँगुर अहिले फ््याट्टफुट्ट मात्रै देखिन थालेको छ ।

पुर्खादेखि पालिँदै आएको कालो तङ्ग्रामे सुँगुरको बीउ जोगाउनै मुश्किल परेपछि यहाँका एक युवाले विदेशबाट फर्केर कालो सुँगुरको व्यावसायिक पालन थाल्नुभएको हो । परम्पराकालदेखि तङ्ग्रामका मगरले पाल्दै आएको कालो सुँगुर आयातित बङ्गुरको पाठापाठीका कारण लोप हुने अवस्थामा आएको हो । व्यावसायिकरुपमा आयातित बङ्गुरपालन र कृत्रिम गर्भाधारणको चलन आएपछि यहाँको स्थानीय जातको कालो सुँगुर लोप हुन थालेको छ ।

यहाँका स्थानीय जातको कालो सुँगुर हराउने अवस्था आएपछि व्यावसायिक बनाउने सोचमा पाँच वर्षदेखि तङ्ग्राम धारा गाउँ निवासी ४२ वर्षका भुवनबहादुर थापा लाग्नुभएको छ । उहाँको काफालबोट पशुुपन्छी तथा कृषि फार्ममा अहिले एक दर्जन कालो सुँगुर छन् । करिब १० वर्ष मलेसियामा बस्नुभएको थापाले कालो सुँगुरलाई व्यावसायिक बनाउने योजनामा रहे पनि पाठापाठी बचाउनै हम्मे परेको उहाँको भनाइ छ ।

“दश वर्ष मलेसिया बसेर फर्किए, तङ्ग्रामको रैथाने कालो सुँगुर देखिनै छाड्यो, पहिला घरघरमा पाइने कालो सुँगुर अहिले परम्परा धान्ने काममा मात्रै पाल्दै आएको देखेपछि पाठापाठी जोड्दै पाँच वर्षयता तङ्ग्रामे स्थानीय जातको कालो सुँगुर पाल्दै आएको छु”, थापाले भन्नुभयो, “खासगरी यसको मुख्य समस्या भनेको पाठा बचाउनै समस्या भएको छ, जन्मेको दुई दिनमै पाठापाठी मर्ने निकै समस्या छ, १२ पाठापाठी जन्मेकामा मुश्किलले दुई तीन वटामात्रै बाँच्छन् ।”

पशु प्राविधिबाटसमेत पटकपटक पाठापाठी बचाउने प्रयास भए पनि समस्या भइरहेको उहाँको भनाइ छ । कृत्रिम गर्भाधारणका कारण अहिले आयातित बङ्गुरपालनले गाउँका रैथाने जातको कालो सुँगुर पाइन छाडेपछि कालो सुँगुरको भाउसमेत उच्च रहेको छ । काठेखोला–४ तङ्ग्रामका पशु प्राविधिक लक्ष्मण थापाले स्थानीय जातको सुँगुर संरक्षणमा चुनौती रहेको बताउनुभयो । उहाँले उक्त जातको सुँगुर अन्त नपाइने भएकाले हाडनाता गर्भाधारणका कारण पाठापाठीमा समस्या आइरहेको बताउनुभयो ।

पाँच पुस्ता फरक पर्नेगरी गर्भाधारण गराउनसकेमा मात्रै राम्रो पाठापाठी उत्पादन गर्न सकिने पशु प्राविधिकको भनाइ छ । “आयातित सुँगुरबाट गर्भाधारण गराउँदा स्थानीय जात लोप हुन्छ, चार–पाँच पुस्ता फरक पारेका बङ्गुरबाट गर्भाधारण गराउन किसानलाई आग्रह गर्दै आएको छु”, पशु प्राविधिक थापाले भन्नुभयो ।

स्थानीय कालो सुँगुरको मासु थोरै हुने र पाल्न धेरै समय लाग्ने भएकाले व्यावसायिक बङ्गुरपालनमा यहाँका मगर समुदाय लागेपछि स्थानीय सुँगुर ओझेलमा परेको हो । उहाँले हालसम्म सुँगुरपालनमा रु पाँच लाख लगानी गरेको जनाउँदै गाउँपालिकाले रु एक लाख ५० हजार अनुदानसमेत दिएको किसान थापाले बताउनुभयो ।

“बङ्गुरको मासु प्रतिकिलो रु चार सयदेखि पाँच सयसम्ममा पाइन्छ, कालो सुँगुरको मासुलाई प्रतिकिलो रु छ सय पर्दछ, तर मासुसमेत पाउनै मुश्किल छ”, उहाँले भन्नुभयो, “मैले कालो सुँगुर नकाट्दै माग आइसकेको हुन्छ, कालो सुँगुरको मासु बजार पठाउन सकेको छैन, फार्म विस्तार गरेर ५० वटा माउ सुँगुर पालेपछि बजार पठाउने हो, विस्तारै व्यावसायिक बनाउँदै लैजानसके बजारको माग थेग्न सकिएला ।”

स्थानीय क्षेत्रमा पाइने कर्कलो, मोही र छोक्रा धानको भुस खुवाएर सुँगुर पाल्न सकिने थापाको भनाइ छ । एउटै बङ्गुर एक सय किलोभन्दा धेरै हुने भए पनि स्थानीय जातको सुँगुर अधिकतम ३० किलोसम्मको मात्रै हुने गरेको छ । स्थानीय जातको सुँगुर संरक्षणका लागि गाउँपालिकाले थापालाई प्रोत्साहन गर्दै आएको काठेखोला–४ तङ्ग्रामका वडाध्यक्ष लक्ष्मण पुनले बताउनुभयो । रासस