७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ७५औँ बैठकमा भाग लिने सिलसिलामा न्युयोर्कमा रहनुभएका उपप्रधानमन्त्री यादवले आज राष्ट्रसङ्घको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग भएको भेटवार्तामा उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले जनाएको छ ।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गर्नुभएको थियो । उहाँले शान्ति, समृद्धि र दिगो विकासका निम्ति अध्यक्ष फ्रान्सिसले अगाडि बढाउनुभएका प्राथमिकताप्रति नेपालको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

महासभाका अध्यक्षले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको उल्लेखनीय सुधारको सराहना गर्दै नेपालको दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असर घटाउन राष्ट्रसङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यसअघि नेपालसहित डेनमार्क, आयरल्याण्ड, स्वीडेन, कोलम्बिया र संयुक्त अधिराज्यले राष्ट्रसङ्घमा संयुक्त रूपमा आयोजना गरेको एक कार्यक्रममा उपप्रधानमन्त्री यादवले स्वास्थ्य क्षेत्रमा नेपालले गरेका प्रगति तथा चुनौतीबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण भएको बताउनुभयो ।

त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासहित नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति थियो । रासस