७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

प्रधानमन्त्रीद्वारा देशकै सर्वाधिक ठूलो विद्युत् सबस्टेसन उद्घाटन



अ+ अ-

कीर्तिपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका-८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइनको उदघाटन गर्नुभएको छ ।

काठमाडौँ उपत्यकाको बढ्दो विद्युत् माग पूर्ति गर्न र मर्स्याङदी नदी करिडोरमा उत्पादन हुने बिजुलीलाई काठमाडौँसम्म लैजान उक्त सबस्टेसन र विद्युत् प्रसारण लाइन प्रयोग हुनेछन् । अब उत्पादन हुने विद्युत् परिमाणलाई हाल रहेको एक सय ३२ केभी क्षमताको प्रसारण लाइनले धान्न नसक्ने अवस्था छ ।

कूल ८३ किलोमिटर लामो काठमाडौँ-मर्स्याङदी प्रसारणलाइन तनहुँ, गोरखा चितवन र धादिङ हुँदै काठमाडौँ ल्याइएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही वर्षयता उत्साहजनक ढङ्गले वृद्धि भएको विद्युत् उत्पादनअनुरुप आन्तरिक खपतलाई गुणात्मक ढङ्गले बढाउन र बचत भएको विद्युत्लाई निर्यात गर्न मातातीर्थ सबस्टेसन र मस्र्याङ्दी-काठमाडौँ दुई सय २० केभी प्रसारण लाइन महत्वपूर्ण पूर्वाधार भएको बताउनुभयो ।

उत्पादनमा वृद्धि भए पनि हिउँदयाममा कम उत्पादनका कारण आयात गर्नुपर्नेजस्तो असन्तुलित स्थिति अन्त्य गर्न कर्णाली चिसापानी, माथिल्लो अरुणजस्तो ठूला परियोजना र दूधकोशीजस्तो जलाशययुक्त परियोजना अघि बढाइएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।

उत्पादनसँगै विद्युत्को आन्तरिक खपत बढाउन यससम्बन्धी कार्ययोजना अघि बढाइएको जानकारी उहाँले दिनुभयो । आगामी एकदेखि डेढ वर्षभित्र देशमा शत्प्रतिशत विद्युतीकरण गरिने उहाँले बताउनुभयो ।

छिमेकी मुलुकहरुसँग भएको विद्युत् सम्झौताले उत्पादित विद्युत्को बजार सुनिश्चित गरेको उहाँको भनाइ थियो । भारत र बङ्गलादेशसँग यससम्बन्धी सम्झौतामा हस्ताक्षर भइसकेको र उत्तरमा चीनतर्फ पनि विद्युत् निर्यात गर्न चिलिमे केरुङ प्रसारण आयोजना अघि बढाइने जानकारी प्रधानमन्त्रीले दाहालले दिनुभयो ।

विश्वव्यापी मौसम परिवर्तनबाट देशको विद्युत् उत्पादन केन्द्रमा पर्न सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउने र अन्तर्राष्ट्रिय समुदायको ध्यान यससम्बन्धमा आकर्षित गर्न थालिएको उहाँले स्पष्ट पार्नुभयो ।

“विद्युत् आयोजना निर्माणका क्रममा आउने वन र जग्गा प्राप्तिसम्बन्धी व्यवधानलाई हटाउन विद्यमान कानुनलाई विकास निर्माणको बाधक नभई साधक बनाइनेछ,” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

उत्पादनलाई थप गति दिन हाल चलिरहेको लगानी सम्मेलनमा विद्युत् उत्पादन र प्रसारण लाइन निर्माणलाई प्राथमिकताका साथ राखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत्को खुद निर्यातक देश बन्दै गरेको अवस्थामा मातातीर्थ सबस्टेसन र काठमाडौँ-मातातीर्थ सबस्टेसन लाइन समृद्धिको सूचक भएको बताउनुभयो ।

सरकार आगामी १२ वर्षभित्र २८ हजार सात सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यतर्फ अघि बढेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले उत्पादित विद्युत्मध्ये ५० प्रतिशत देशभित्रै खपत गर्ने र ५० प्रतिशत निर्यात गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो ।

यसैगरी, विद्युत् उत्पादनमा जनतालाई प्रत्यक्ष सहभागी बनाउन ‘जनताको जलविद्युत्’ जस्ता कार्यक्रमलाई स्थानीय सरकारमार्फत अघि बढाइने उहाँले बताउनुुभयो । रासस