९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

‘लू’ सँग लड्न सरकार सँग छैन रणनीति



अ+ अ-

काठमाडौँ । विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । नेपालमा लुको अवस्था अझै केही दिन रहने भएकाले सरकारले तत्काल सक्रियतापूर्वक काम गर्न सुझाव दिएका हुन् ।

हिट वेभलाई ख्यालख्याल नठानौ

यो वर्ष अधिक गर्मी र अधिक वर्षा हुने पूर्वानुमान रहेकाले पूर्वसूचना र पूर्व तयारीको काम अहिलेबाट नै शुरु गर्न सरकारसँग आग्रह गरेका छन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले सरकारले लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर/गाउँ कुन ठाउँलाई बढी प्राथमिकता दिएर योजनाहरु बनाउने भन्नेबारेमा चासो दिनुपर्नेमा जोड दिनुभयो । आम नागरिकहरुलाई लूबाट जोगाउन अहिले नै प्रतिकार्यका कार्यक्रम लागू गर्न आग्रह गर्नुभयो ।

उहाँले रोजगारीको क्षेत्रदेखि किसानहरुलाई समेत गर्मीले बढी असर गर्ने भएकाले कस्तो सावधानी अपनाउने र कस्तो योजना बनाएर अघि बढ्ने भन्नेबारेमा सरकार चनाखो हुन जरुरी रहेको बताउनु भयो । धेरै देशहरुले गर्मीबाट बच्ने रणनीति बनाइसकेको उल्लेख गर्दै डा.उपे्रतीले नेपालले पनि मानव स्वास्थ्यसहित पशुस्वास्थ्य र वनस्पतिहरुमा पर्ने असरलाई मध्यनजर गरी हिट एक्शन प्लान बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा गर्मीको प्रभाव न्युनिकरणका लागि नेपालले दिशानिर्देशका उपायहरु नबनाएको गुनासो गर्नुभयो । उहाँले तापक्रम वृद्धि भएको आधारमा लू भयो भन्ने मात्रै नभइ प्रभावमा आधारित पूर्वसूचनाको रुपमा रणनीति बनाइ अघि बढ्न जरुरी रहेको बताउनु भयो । पूर्व चेतावनीलाई बेवास्ता गर्नु नहुने भन्दै विज्ञ उप्रेतीले संवेदनशील भएर सरकारले काम थालिहाल्न आवश्यक रहेको बताउनु भयो । तातो हावा लूले निम्त्याउने समस्यालाई समयमै नबुझे जटिल बन्दै जाने चेतावनी दिनुभयो । उहाँले स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागले हिजो लूको अवस्था घोषणा गरेको छ । त्यो एक खालको यस्तो अवस्था आयो है भनेर साइन्स बोलेको अवस्था हो । तर के गर्न बाँकी छ भने अब हिट एक्शन प्लान । राष्ट्रिय रुपमा लू आएको अवस्थामा, अत्याधिक गर्मी भएको अवस्थामा के गर्ने ? कसले गर्ने, कहाँ गर्ने ? शहर, गाउँ, हाम्रो टोल, रोजगारीको क्षेत्रमा केके गर्ने भन्ने स्ट्याण्डर अप्रेटिङ प्रोसेस हुन्छ, त्यो बनेको छैन । हिटले ल्याउने सिधा असर मानव स्वास्थ्यमा, पशु, वनस्पति र वन सम्पदामा असर पर्छ । मानव स्वास्थ्यमा हिटको असर के हुन्छ भनेर धेरै वटा देशले हिट एक्शन प्लान इन हेल्थ बनाइसकेका छन् । स्वास्थ्य क्षेत्रमा हिटको प्रभाव भनेर गाइडलाइन बनाएको पाइन्छ ।

हाम्रोमा भने त्यो गाइडलाइन देखिएन, बनाइएको छैन । गाइडलाइन बनाउन जरुरी छ । आज हामी ४३ डिग्रि तापक्रममा छौँ । ४५ वा सो भन्दा बढी तापक्रम दुई वा दुई दिन भन्दा बढी रह्यो भने रेड अलर्ट तिर जान्छ । ४७ डिग्रि भन्दा माथि गए त्यो एक्स्ट्रिम हिटको अवस्था हुन्छ । भारतका धेरै जसो भूभागमा गत साल ४७ डिग्रि नाघेको थियो, यस वर्ष पनि नाघ्ने देखिन्छ । नेपालमा पनि त्यो सम्भावना नकार्न सकिँदैन । पहाडमा ३० डिग्रि भन्दा बढी भयो भनेपनि त्यो हिट वेभ हो । ठाउँअनुसार थ्रेसहोल्ड हुन्छ । तापक्रम वृद्धि भयो, लू भयो भनेर मात्रै हुँदैन । यसलाई हामीले प्रभावमा आधारित पूर्वसूचनाको रुपमा पनि लैजानुपर्छ ।’

औसत भन्दा बढी गर्मी/बढी वर्षा हुने

यस वर्ष नेपालमा औषत भन्दा बढी गर्मी हुनेछ । साथै बढी वर्षा हुने पूर्वानुमान रहेको विज्ञ उप्रेतीले बताउनु भयो । नेपालमा वैशाख, जेठ र असारको महिनासम्म बढी गर्मी हुने र असारदेखि असोज सम्म औषत भन्दा बढी वर्षा हुने पूर्वानुमान रहेको बताउनु भयो । उहाँले यो अवस्थालाई सामान्य मौसममा परिवर्तन भएको अवस्थाका रुपमा बुझ्न नहुने बताउनु भयो । उहाँले लामो समय देखि समुन्द्रमा एल निनो जलवायु चक्रको असर थियो । जसले हिउँदमा वर्षा हुन दिएन । यस्तै ला निना नामको जलवायु चक्रको प्रभाव बढिरहेकाले हिट वेभको अवस्था छ । यी दुवै अवस्था जलवायु परिवर्तनसँग जोडिएको बताउनु भयो ।

उहाँले यही समयमा गत वर्ष विश्व तापमान वृद्धि १.१ डिग्रि रहेकोमा अहिले विश्व तापमान वृद्धि १.२ डिग्रि पुगेको बताउनु भयो । विश्वतापमानमा वृद्धि हुनु, समुन्द्रको तापक्रममा आएको परिवर्तन र हिन्द महासागरको आइवोडी सकारात्मक भएको अवस्थालाई हेर्दा क्लाइमेटिक प्यारामिटरहरु आकर्षित भएको बताउनु भयो । लामो समयको क्लाइमेटिक प्यारामिटर आकर्षित हुनुको अर्थ वा त्यसमा आएको परिवर्तनको अर्थ भनेको जलवायु परिवर्तनको असर भएको बताउनु भयो । जलवायु परिवर्तनसँग विश्लेषण गर्ने दक्षिण कोरियामा अवस्थित एपेक सेन्टरले निकालेको विश्लेषणको आधारमा नेपालमा औषत भन्दा बढी गर्मी हुने अवस्था ९१ प्रतिशत रहेको बताउनु भयो ।

नेपालमा तातो हावा अझै ५ दिनसम्म रहने

विज्ञ उप्रेतीकाअनुसार अबको ४ देखि ५ दिनसम्म नेपालमा लू रहनेछ । पश्चिमी वायु सक्रिय भइ पानी परेको अवस्थामा भने लू बाहिरिने बताउनु भयो । उहाँले आगामी शुक्रवारदेखि हल्का वर्षा हुने सम्भवना भएकाले तातो हावालाई बिस्थापित गरी चिसो हुने अवस्था रहेको बताउनु भयो । अहिले वायुमण्डलीय चाप उच्च रहेको बताउनु भयो । वायुमण्डलीय उच्च चापले माथिबाट हावालाई धर्तीमा थिच्ने काम गरिरहेकोले बलियो पश्चिमी वायु र समुन्द्री आँधीले ल्याउने वाष्पीकरणले मात्रै लूको अवस्था घटेर जाने बताउनु भयो । तीन महिनासम्म तातो हावा आउने/जाने क्रम जारी रहने बताउनु भयो ।

के हुन् लू का लक्षण ?

गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्ने खतरा बढी हुन्छ । यदी अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरुरी हुन्छ । यी दुवै लू लागेको लक्षणहरु हुन् । लू ले मिर्गौला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहको कार्य क्षमता प्रभावित हुन्छ । लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तिब्र हुन्छ । छाला रातो हुनुलाई पनि लू को लक्षणका रुपमा लिने गरिन्छ । केही मानिसहरुमा लू का कारण छिटो छिटो पिसाव आउने, शरीर चिलाउने आदि लक्षणहरु देखा पर्दछन् ।

गर्मीबाट बच्न के गर्ने/के नगर्ने ? विज्ञ उप्रेतीका सुझाव:

घरमै बस्ने ।

बसेको स्थानमा चिसो अवस्था कायम गर्ने ।

मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म घर, कार्यालय बाहिरि हिँडडुल कम गर्ने, गर्नैपरे, छाता लगायतको प्रयोग गरेर मात्रै हिँडडुल गर्ने ।

गर्मीको बढी असर मुटुका बिरामी, बालबालिका, गर्भवती महिलालाई हुने भएकाले सम्बन्धित व्यक्तिहरुले स्वास्थ्यमा ध्यान दिने, सावधानी अपनाउने ।

गर्मीको प्रभाव न्युनिकरण गर्न स्वास्थ्यचौकीदेखि अस्पतालसम्मको अवस्था नियाल्ने र तयारी अवस्थामा राख्ने ।

स्वास्थ्यकर्मी/स्वास्थ्य स्वयंसेविकाहरुलाई गर्मीबाट बच्ने अवस्थाको बारेमा तालिम दिने ।

खानेकुरामा सावधानी अपनाउने: जस्तै चिया कफीको ठाउँमा लस्सी, मोही, दही, पुँदिनाको रस, चामल पखालेको (चौलानी) खाने ।

प्रोटिनयुक्त खानेकुरा कम गर्ने/नखाने । जस्तै: दुध, माछा मासु आदि ।

सरकारले के गर्नुपर्छ ?

सरकारले भएका अस्पतालहरुको अवस्था नियालेर गर्मीबाट हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गरी शतर्क रहन आग्रह गर्नुपर्छ ।

स्थानीय सरकार (७५३ वटै पालिकाहरु) ले पालिकामा रहेका स्वास्थ्य केन्द्रहरुलाई शतर्क रहन आग्रह गर्नुपर्छ ।

क्षेत्रिय अस्पतालहरु पनि सक्रिय बनाउनुपर्छ ।

तीन तहकै स्वास्थ्य केन्द्रहरुले गर्ने कामको सन्दर्भमा स्पष्ट नीतिका साथ अघि बढ्नुपर्छ ।

पूर्व चेतावनीलाई ख्यालख्यालमा लिनु हुँदैन र संवेदनशील हुन जरुरी छ ।

स्वास्थ्य आपत्कालीन केन्द्रलाई सक्रिय बनाउनुपर्छ ।

लू बाट बच्ने घरेलु उपाय:

घरबाहिर निस्किँदा छाताको प्रयोग गरौँ ।

घाममा निस्किँदा टाउको छोप्ने कपडाको प्रयोग गरौँ । यसरी पनि लू बाट बच्न सकिन्छ ।

घरबाट बाहिर निस्कनु पर्‍यो भने चिसो पानी र चिसो सर्वत पिएर मात्रै निस्किने बानी बसालौँ ।

गर्मीबाट हिँडेर आउने बित्तिकै तत्काल चिसो पानी नपिउनुस् ।

गर्मी समयमा बारम्बार पानी पिइराख्नुस् । किनभने यसले शरीरमा पानीको मात्रालाई कम हुन दिँदैन ।

पानीमा कागती हालेर र नुन मिसाएर दिनमा तीन पटक जति पानी पिउनुभयो भने पनि लू लाग्नबाट बच्न सकिन्छ ।

गर्मीमा बाहिर जाँदा खाली पेट नहिँड्नुस्, तरकारीको झोल पिउँदा पनि लू बाट बच्न सकिन्छ ।

गर्मीमा कम खाना खाने बानी बसालौँ । खानामा दही अनिवार्य गरौँ ।