धनुषा । प्रधानमन्त्री केपी ओलीले आफुले राम्रा र नयाँ काम गरेको दावि गर्दै परम्परा तोड्नु नराम्रो नभएको बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युत्को सब–स्टेसन उद्घाटनपछि बोल्दै प्रधानमन्त्री ओलीले नयाँ कामका लागि परम्परा भत्काउनुपर्ने बताएका हुन् ।
‘पशुपतिमा १ सय ४१ किलोको सुनको जलहरी हालिदिने भनेपछि परम्परा बिग्रने भयो भनेर केही मिडियाले लेखे,’ उनले भने,‘चाँदीकै हाल्नुपर्थ्यो । सुनको हाल्नुहुन्न, परम्परा बिग्रिन्छ रे । म त्यस्तालाई सोध्न चाहन्छु, तपाइको बुवा पण्डित तपाई किन पत्रकार हुनुभयो ? पण्डितै भएको भए पो परम्परा बाच्थ्यो। मेरो बुवा प्रधानमन्त्री थिए र म प्रधानमन्त्री भएँ । नयाँ कामका लागि परम्परा भत्काउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले मध्यवर्ती चुनाव तोकिएकै दिनमा हुने बताएका छन् । चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले एक दिन पनि पर नसर्ने बताएउदै वैशाख १७ गते नै धनुषामा चुनाव हुने दाबीसमेत गरेका हुन् ।
‘धनुषाको यो क्षेत्रमा वैशाख १७ गते नै चुनाव हुन्छ,’ ओलीले भने,‘चुनावको तयारीमा लागिहाल्नुस । तोकिएकै समयमा चुनाव हुन्छ । एकदिन पनि पर सर्दैन ।’
प्रधानमन्त्रीले आफूलाई मधेसविरोधी भनेर प्रचार गरिएको भन्दै चित्त दुखाए । ‘केपी ओली मधेसीविरोधी हो भनेर कान–कानमा पुर्याएका होला । ती मधेसप्रेमी डोम, चमार र दुसाधको छोरालाई काँखमा राख्न सक्छ,’ ओलीले भने, ‘हेरु त कतिको मधेसीप्रेमी हो । केपी ओलीले नै मधेसमा बाटो, ढल र सिंचाइ बनाउँछ । तराईमा सिंचाइ गर्न पहाड छेडेर कोसी ल्याउँदैछौ ।’
प्रधानमन्त्री ओलीले पार्टीभित्र उपद्रो गर्नेहरु अलग भएको पनि बताए । ‘दशा लागेको रहेछ । प्रधानमन्त्री खान हिँडेका थिए । एउटा भनाइ छ नि, चोक्टा खान गएकी बुढी झोलमा डुबिन् ।’