१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देवघाटको त्रिकोणात्मक पुलका लागि बजेट अभाव



अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाटमा  निर्माणाधीन त्रिकोणात्मक पुलका लागि  बजेट अभाव भएको छ । चार वर्षदेखि निर्माणका प्रक्रियामा रहेको सो पुलका लागि बजेट अभाव भएपछि काम अगाडि बढाउन नसकिएको  सस्पेन्सन ब्रिज डिभिजनले जनाएको छ ।

डिभिजनका आयोजना प्रमुख ई कुमार थापाले पुल निर्माणका लागि रु ८३ करोड हाराहारी खर्च हुने जानकारी दिनुभयो । उहाँका अनुसार डिभिजनले परामर्शदाता कम्पनीमार्फत नक्शाङ्कनको काम सम्पन्न भई वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा पुर्याएको छ । उहाँले भन्नुभयो, “हाम्रो थोरै लागतका पुल बनाएको कार्यालयले यति ठूलो बजेट आएपछि निर्णय लिन सकेका छैनौँ ।” अर्थमन्त्रालयसँग परामर्श गरेर बजेट सुनिश्चितता भएपछि मात्रै काम अगाडि बढाउने उहाँको भनाइ छ । डिभिजनले पुल निर्माणलाई आफ्नो कार्यक्रमा समावेश गरेको छ । 
 
अर्थले बजेट सुनिश्चित गरेमा आउँदो आर्थिक वर्षको शुरुमा नै बोलपत्र आह्वान गर्न सकिने उहाँको भनाइ छ । यस कार्यालयले झोलुङ्गे पुलको काम गर्दै आएको छ । डिभिजनका सिनियर डिभिजनल इञ्जिनीयर हुमाकान्त मिश्रका अनुसार पुलको बीचको पिलरबाट तीनैतर्फ लम्बाइ १९०÷१९० मिटर छ । तीनैतर्फको जोडेर पुलको कूल लम्बाइ ५७० मिटर हुनेछ । चितवनतर्फ बीचमा ठूलो एउटा पिलर रहन्छ भने पुलले चितवन, नवलपरासी र तनहुँलाई जोड्दछ । पुल २।४ मिटर फराकिलो हुन्छ । उहाँले अहिले प्रचलनमा भइरहेका झोलुङ्गे पुलभन्दा दोब्बर फराकिलो हुने जानकारी दिनुभयो । आकर्षक उच्चस्तरको स्टिलको प्रयोग गरेर आर्च पुल बनाउन लागिएको हो ।
 
धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको परिकल्पना गरिएको थियो । चार वर्षअघि तत्कालीन देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलले समितिका तर्फबाट पुल निर्माणका लागि पहल थाल्नुभएको थियो । उहाँले भन्नुभयो, “हामी निरन्तर लागिरहेका छौँ, केही दिनमा काठमाडौँ गएर सम्बन्धित निकायमा अनुरोध गर्दैछौँ ।” यो पुल रकमका कारण रोक्न नहुने जनाउँदै उहाँले देवघाटलाई विश्वसामु चिनाउन पुल सार्थक हुने बताउनुभयो । 
 
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले पुल निर्माणका लागि पहल भइरहेको जानकारी दिनुभयो । ठूलो रकम खर्च हुने भएकाले उच्चस्तरमा राजनीतिक र प्रशासनिक क्षेत्रमा पुलको महत्वको बारेमा बुझाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ, छिट्टै पुल निर्माण अघि बढ्छ ।” देवघाट विश्वका हिन्दूहरुका लागि पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ । धार्मिक क्षेत्रमा आकर्षक पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उहाँको भनाइ छ ।