१० मंसिर २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

घट्दै चैते धानखेती



अ+ अ-

बेदकोट । कञ्चनपुरमा विगतको तुलनामा चैते धानखेती घट्दै गएको छ । विगतका वर्षको तुलनामा पछिल्लो केही वर्षयता चैते धानखेतीको क्षेत्र घट्दै गएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कुनैबेला कञ्चनपुरमा तीन/चार सय हेक्टर क्षेत्रमा चैते धानखेती हुने गरेकामा अहिले उक्त क्षेत्रफल खुम्चिएर एक सय ५० हेक्टरमा पुगेको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिनुभयो । “विगतका वर्षभन्दा चैते धानको खेती घट्दो क्रममा छ । कुनैबेला तीन सय बढी हेक्टरमा खेती हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले डेढ सय हेक्टर पनि पुग्न मुश्किल छ ।”

सिँचाइको सुविधा नहुँदा चैते धानखेती घट्दै गएको जोशीको भनाइ छ । “यो धानका लागि नियमित सिँचाइ हुने जमिन हुनुपर्छ । सबैतिर सिँचाइ सुविधा पुगेको छैन । बोरिङ हुनेहरुले मात्रै निरन्तरता दिँदै आएका छन्”, उहाँले भन्नुभयो, “कतिपयले समयमै गहुँ काट्न नसकेर र खाली जग्गा नहुँदा पनि चैते खेतीबाट छुटिरहेका छन् ।”

कृषकले बेर्ना राख्नेदेखि रोपाइँ गर्नेलगायतमा समस्या झेल्न थालेपछि चैतमा धान रोप्न छाडिएको बताउँछन् । जिल्लाको भीमदत्त नगरपालिकाको दक्षिणी क्षेत्र, वेदकोट, कृष्णपुर, बेलडाँडी, बेलौरी र पुनर्वासलगायत क्षेत्रमा चैते धानखेती बढीमात्रामा गरिनेमा अहिले कृषकको सङ्ख्या पनि घट्दै गएको केन्द्रका सूचना अधिकारी जोशीले बताउनुभयो । उहाँका अनुसार भीमदत्त, बेलडाँडी र बेलौरीको केही क्षेत्रमा अहिले पनि खेती भइरहेको छ ।

“फागुनमै बेर्ना (बीउ) राखिन्छ । चैतमध्यसम्म धान रोपीसक्नुपर्छ”, बेलडाँडी–५ का तीर्थ रोकायाले भन्नुभयो, “सिँचाइको सुविधा नहुँदा समस्या हुने गरेको छ । असारमा यो धान तयार हुने भएकाले बर्खामा बाली भित्र्याउन सकस हुन्छ ।”

कञ्चनपुरमा चैते धानको उत्पादन भने राम्रो हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी जोशीले बताउनुभयो । निकै सम्भावना बोकेकोे यो खेतीबाट दोहोरो फाइदा लिन सकिने उहाँको भनाइ छ । “अरु बेलाको धानको उत्पादन औसत चार मेट्रिकटन प्रतिहेक्टर छ । चैते धानको उत्पादन साढे चार मेट्रिकटनभन्दा बढी छ”, उहाँले भन्नुभयो, “यो धान भित्र्याएलगत्तै अर्को खेती गरेर दोहोरो फाइदा लिन सकिन्छ ।”

चैते धानखेती विशेष गरेर चिउरा तथा भुजाका लागि उपयुक्त मानिन्छ । स्थानीयस्तरमा उत्पादित धानले सहजै बजार नपाउँदा बिक्रीवितरणमा समस्या हुने गरेको कृषकको भनाइ छ ।

किसानलाई चैते धानतर्फ आकर्षित गर्न चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रमअन्तर्गत उक्त धान प्रदर्शनका साथै कृषकलाई बीउवितरण गरिँदै आइएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । केन्द्र र प्रधानमन्त्री कृषि आयोजनाले संयुक्तरुपमा चैते धान प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत चैते–५ र हर्दिनाथ जातका धानको बीउ वितरण गरिएको उहाँको भनाइ छ ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, बेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ । रासस