दुल्लु । महाबु गाउँपालिकाका बासिन्दाले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेका छन् । कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसिन सेवा जोडिएपछि नागरिकले स्वास्थ्यसेवा पाउन थालेका हुन् । बालरोग विशेषज्ञ डा नवराज केसीको पहलमा टेलिमेडिसिन स्वास्थ्यसेवा शुरु गरिएपछि महाबु गाउँपालिकाका नागरिकले विशेषज्ञसहितको स्वास्थ्यसेवा पाउन थालेको गाउँपालिका अध्यक्ष जङगबहादुर शाहीले बताउनुभयो ।
गाउँपालिकामा १० शयया अस्पताल सञ्चालनका लागि दरखास्त आह्वान गर्दासम्म चिकित्सकको निवदेन नपर्दा अस्पताल सञ्चालन हुने नहुने अन्योलमा थियो । नागरिक स्वास्थ्य सेवाबाट वञ्चित थिए । स्वास्थ्य सेवा पँहुच नभएका नागरिकका लागि सो सेवा शुरु गरिएको विशेषज्ञ केसीले जानकारी दिनुभयो । महाबुका जनतालाई स्वास्थ्य समस्या भएको बेला स्वास्थ्यचौकी गँैडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत बिरामी सिधैँ सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य समस्या राख्नेछन् र डाक्टरको सल्लाह बमोजिम स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले उपचार गर्छन् ।
उहाँले थप्नुभयो “नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौँ, टेलिमेडिसिनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाइ सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ ।” रासस