१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी ’



अ+ अ-

महेन्द्रनगर (कञ्चनपुर) । कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन् ।

सत्र वर्षअघि टीकापुर महोत्सवबाट थारू कला, संस्कृति, पहिरन र परिवारसहितको थारू गाउँ मेला–महोत्सवमा राखेर परम्परागत संस्कृतिको संरक्षणसँगै आयमूलक काममा जुटेका कुश्मीसँगै ३० जना थारू समुदाय यतिबेला सुदूर, लुम्बिनी र कर्णाली प्रदेशमा सक्रिय छन् । पहिलोपटक जारी कञ्चनपुर पर्यटन महोत्सवभित्र थारू गाउँ सञ्चालन गरेका कुश्मीलगायत थारू समुदायले हिउँदको समयमा मात्रै यस वर्ष १० महोत्सवमा प्रदर्शनी कक्ष राखिने बताएका छन् ।

“यहाँबाट कैलालीको बौनिया र चिसापानी सोल्टामा पनि महोत्सव आयोजकले बोलाइसकेका छन्”, कुश्मीले भन्नुभयो, “थारूको परम्परागत नृत्यदेखि परिकारसम्म एउटै थलोमा पाउँदा मेला अवलोकनकर्ताको प्रमुख आकर्षण नै थारू गाउँ बन्छ ।” थारू गाउँको सञ्चालक बन्नुअघि मेलामा लत्ताकपडाको व्यापार गरेका कुश्मीले गर्मीयाम सुरु भएसँगै मेला–महोत्सवमा कमी आउने भएपछि आफूहरू खेतीपातीमा लाग्ने गरेको बताउनुभयो ।

“महेन्द्रनगरमा अहिले १२ स्टलको थारू गाउँ छ भने आठ स्टल सुर्खेत र बाँकी दिपायलमा गएको छ”, उहाँले भन्नुभयो, “अब दार्चुलामा जाने कुरा भइरहेको छ ।” उहाँले महोत्सवमा चहलपहल बढी भएका बेला प्रतिस्टलले रु एकदेखि रु एक लाख ५० हजारसम्मको कारोबार गर्ने गरेको बताउनुभयो । थारू गाउँमा परम्परागत पहिरनमा थारू युवायुवतीले नृत्य देखाउनुका साथै परिकारको स्वाद दिने गर्छन् ।

“थारू परिकार घोङ्गी, गङ्गटा, मुसा, ढिक्री, माछा र मासुका अन्य परिकार, अन्धी चामलको भात, जाँड र घोङ्गीलगायतका परिकार थारू गाउँमा उपलब्ध हुन्छ”, कुश्मीले भन्नुभयो, “ परिकार बिक्रीवितरण गर्दा यिनै परिकारको स्वादले धेरैलाई तान्छ ।”

मेलामा स्टल राख्ने क्रममा कैलाली, कञ्चनपुरका साथै सुदूरपश्चिमका पहाडी जिल्लाबाट पूर्वमा दाङसम्म पुगेको उनीहरूको भनाइ छ । “अब वैशाखपछि हामी खेतीपातीमा लाग्छौँ”, उहाँले भन्नुभयो, “मेला–महोत्सवबाट भएको आम्दानीले घरखर्च चलाउँछौँ ।”

कञ्चनपुर पर्यटन महोत्सवमा थारू संस्कृति झल्काउनुका साथै संरक्षणका लागि थारू गाउँ राखिएको थारू गाउँ स्टल संयोजक बेदप्रकाश चौधरीले बताउनुभयो । “थारू कला, संस्कृतिसमेत प्रदर्शन गर्ने भएकाले गाउँमा प्रवेशका लागि प्रतिव्यक्ति रु २५ टिकट राखिएको हो”, उहाँले भन्नुभयो, “गाउँगाउँभित्र हाम्रो समुदायको सबैखाले पहिचान झल्किने कुरा हेर्न पाइन्छ ।” उहाँले थारू गाउँबाट थारू समुदायको आयस्रोत पनि बनिरहेको बताउँदै महोत्सवहरूमा थारू गाउँलाई महत्व दिनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–२ का लक्ष्मी चौधरीले पनि थारू गाउँमा मिसिएर होटल व्यवसायमा लागेको चार वर्ष भयो । “यो व्यवसायमा लाग्नुअघि धनगढीमा मजदुरी गर्थेँ”, उहाँले भन्नुभयो, “श्रीमान् अहिले पनि मजदुरी गर्छन् म मेला–महोत्सवमा स्टल राखेर खटिएको छु ।”

उहाँले विभिन्न थारू परिकारका लागि कच्चा पदार्थ पाउन मुस्किल हुने गरेको बताउनुभयो । “कतिपय खानेकुरा त अहिले पनि भारतबाट मगाउनुपर्छ”, उहाँले भन्नुभयो, “गङ्गटा भने यसपालि लम्कीबाट ल्याइरहेका छौँ ।”

उहाँले थारू गाउँमा परम्परागत परिकार अवलोकनकर्तालाई खुवाउन पाउँदा खुसी लाग्ने गरेको बताउनुभयो । “मेला सकिएपछि धनगढीमा भाडामा लिएको १० कठ्ठा जमिनमा खेतीको तयारीमा लाग्छु”, उहाँले भन्नुभयो, “पछिल्लो समय मेला–महोत्सवमा प्रदर्शनी कक्ष लगाउँदा ठिकै आम्दानी हुने गर्छ ।” रासस