
हेटौंडा । वाग्मती प्रदेशका प्रतिपक्षी दलहरूले तत्काल प्रदेशसभा बैठक राख्न आग्रह गरेका छन् । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव तत्काल टुंगोमा पुर्याउन जरुरी रहेको भन्दै प्रतिपक्षी दलहरूले बैठक राख्न सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेका हुन् । सरकारको दबाबमा सभामुख श्रेष्ठले पटक–पटक प्रदेशसभाको बैठक स्थगित गरेर संसदीय मूल्य र मान्यताको खिल्ली उडाएको उनीहरूको आरोप छ ।
प्रमुख प्रतिपक्षी कांग्रेस वाग्मती प्रदेश संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रदेशसभाका बैठक लगातार स्थगित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संसदीय दलका सचिव निमा लामाद्वारा जारी विज्ञप्तिमा फागुन ५ गते बस्ने तय भएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको भन्दै तत्काल प्रदेशसभा सञ्चालनको माग गरिएको छ ।
नेकपा दाहाल–नेपाल समूह, कांग्रेस र सत्तारूढ नेकपाबीच गत मंगलबार प्रदेशसभा सचिवालयमा बैठक सञ्चालन गर्ने सहमति भए पनि सूचना टाँसेर ‘विशेष कारण’ भन्दै स्थगित गरेकामा कांग्रेसले असहमति जनाएको हो ।
‘संसदीय अभ्यासको मर्म र भावनाविपरीत अचानक भएको यस्तो कार्य पटक–पटक दोहोरिँदा सभामुखको गरिमा र मर्यादा घट्ने र प्रदेशसभाको भूमिका कमजोर देखिनेतर्फ गम्भीर हुनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ । कान्तिपुर दैनिक