काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ले नेपाल ‘ए’लाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो ।
क्यानडा–११ को लागि श्रेयस मोभाले सर्वाधिक ६८ रन जोडे । उनले ८२ बदमा ५ चौका प्रहार गरे । यस्तै, ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए । उनीहरुले पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरे । नवनित धालिवालले ६० बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ४६ रन थपे ।
नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । शेर मल्ल र रासिद खानले दुई–दुई विकेट लिदा सागर ढकाल र बसिर अहमदले एक–एक विकेट लिए ।
शृंखलाको पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । तेस्रो एकदिवसीय खेल बिहीबार खेलिने छ ।