काठमाडौं । प्रधानमन्त्री नभएपनि सत्ता गठबन्धनको सबैभन्दा ठूलो पार्टी नेपाली काँग्रेसको महासमिति बैठक यसै साता ललितपुरको गोदाबारीमा हुन लागेको छ ।
काँग्रेसमा महासमिति खासमा विधान अर्थात् नीति अधिवेशन हो । पार्टीका लागि आगामी दिनमा लिनुपर्ने नीति र अख्तियार गर्नुपर्ने रणनीतिमा यो महासमिति बैठक केन्द्रित हुनुपर्ने हो । तर सारमा त्यस्तो नहुने देखिएको छ । किनभने अहिले सो बैठकमा अरुभन्दा पनि वर्तमान सत्ता गठबन्धन नै अगाडि आएको छ र यो नै बढी पेचिलो हुने देखिएको छ । काँग्रेसको संस्थापन इतर पक्ष अर्थात शेखर कोइरालाहरु अहिले पनि सत्तामा माओवादीलाई बोकेर जान नहुने पक्षमा छन् । यो कुराको बहस शेखरले खुलमखुला रुपमा गर्न थालेका छन् । केही दिनमात्र अघि पनि उनले माओवादीले काँग्रेससँगको सहकार्य किन तोड्न नसकेको भनेर प्रश्न नै गरेका छन् ।
केही दिनअघि प्रचण्डले नै आफ्नो पार्टीको बैठकमा काँग्रेसले कोशी प्रदेशमा धोका दिएको बताएपछि त्यसको जवाफमा शेखरको यो प्रतिक्रिया आएको हो । त्यसो त माओवादीभित्रै पनि अहिले सत्ताको वर्तमान गठबन्धन फेर्नुपर्छ भन्ने बहसलाई वर्षमान पुन, देब गुरुङहरुले चर्र्काएका छन् । यो उनीहरुको सुरुदेखिकै लाइन हो र अहिले पनि त्यसैमा अडिग छन् । उनीहरुलाई कोशीको चुनावले पनि थप बल दिएको छ । उनीहरु बामपन्थी एकता हुनुपर्छ र सत्ताका लागि हुने गठबन्धन पनि बामपन्थी अर्थात् एमालेसँग नै हुनुपर्छ भन्ने लाइनमा स्पष्ट छन् । लाग्छ पार्टीभित्रको यो लाइनको दबाबमा अध्यक्ष प्रचण्ड नै पर्दै आएका छन् ।
उतापट्टीको सो बहसले यता काँग्रेसको महासमितिलाई पनि थप पेचिलो बनाउने देखिएको छ । काँग्रेस र माओवादीको वर्तमान सत्ता गठबन्धनमा राष्ट्रियसभाको निर्वाचनले दरार उत्पन्न गरेको देखिएको छ । कोशीमा कांग्रेसले धोका दिएको ठहर माओवादीको छ र यही बलमा बर्षमानहरु प्रचण्डलाई च्याप्दैछन् । कोशी प्रदेशमा माओवादी उम्मेदबार हारेर उता विपक्षी दल एमालेले जित्ने स्थिति पैदा भएपछि प्रचण्ड पनि पार्टीको यो लाइनको यो तर्कका विपक्षमा उभिन सकेका छैनन् । यही मेसोमा यतिखेर छिटपुट रुपमा बाम एकताको एजेण्डा उठेको छ । हालै राजधानीमा भएको माओवादीको विधान अधिवेशनमा पनि यी धेरै कुरा आए र त्यसमा वर्तमान सत्ता गठबन्धन फेर्ने र बामपन्थी एकतामा अर्थात् एमालेसँगको सहकार्यमा अघि बढ्ुनुपर्ने भन्ने पनि आए ।
यो कुरा काँग्रेसको महासमितिमा पनि आउनेवाला नै छ । किनभने शेखर कोइराला खुलेरै माओवादीसँग सत्ता साटेर अघि बढ्नुुहन्न भनिरहेकै छन् । मलाई लाग्छ यो आवाज काँग्रेसको महासमितिमा झन् चर्काे हुनेवाला । किनभने गगन थापा पनि पछिल्लो समयमा माओवादीसँगको सहकार्यको आलोचनामा उत्रिएका छन् । उनी अहिले शेखरको लाइनमा छन् र यो गठबन्धन निरन्तर हुँदा काँग्रेस पार्टी नै सकिने निष्कर्षमा पुगेका छन् । त्यसैले उनको प्रतिवेदन पनि महासमितिमा यही विचारमै आउनेवाला छ । महासमितिमा आउने पार्टीका पदाधिकारीका प्रतिवेदन या दस्ताबेजमा पार्टीको नीति तथा कार्यक्रम त छँदैनै छ त्यो भन्दा पनि अझ बढी चासो र चर्चाका रुपमा हेरिएको विषय सत्ता गठबन्धनका विषयमा कुन पदाधिकारीको कस्तो विचार आउँछ भन्ने छ ।
यता सत्ताका दुवै प्रमुख गठबन्धन पार्टीमा सहकार्यलाई निरन्तरताका बारेमा प्रश्न उठिरहेका बेला काँग्रेसको महाधिवेशनजत्तिकै शक्तिशाली यो महासमिति बैठकमा आउने निर्णयप्रति बढी चासो हुनु पनि स्वभाविकै हो । काँग्रेस स्रोतका अनुसार यस विषयमा पार्टीमा अनेक मतहरु आउने देखिएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धनलाई आवश्यकताअनुसार अगाडि बढाइने कुरा उल्लेख छ भने महामन्त्री विश्वप्रकाश शर्माले भने गठबन्धन अहिलेको आवश्यकता हो भन्ने लाइनको विचार आउने वाला छ । उनले माओवादीसँग मिल्नु अहिलेको समयको बाध्यता र आवश्यकता हो भन्ने विषयमा उनको विचार केन्द्रित छ ।
अर्का महामन्त्री गगन थापाको विचारले गठबन्धनको निरन्तरतामा प्रश्न उब्जाउने देखिएको छ । उनी अहिले प्रतिवेदन लेखनमा छन् र उनको लाइन यही देखिएको छ । अर्का उपाध्यक्ष धनराज गुरुङको भने विचार आएको छैन तर उनी पनि शेखरको लाइनमा नै देखिन्छन् । उनले पनि वर्तमान सत्ता गठबन्धनमा भन्दा पनि पार्टी सुदृढिकरणमा लाग्नुपर्ने पक्षमा देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवाको भने स्पष्टै छ कि यो सत्ता गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने नै छ । उनी अहिले हामीले माओवादीसँग गठबन्धन नगर्ने हो भने माओवादी एमालेसँग मिल्ने खतरा रहेको औँल्याउँदै आएका छन् ।