काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालााई साहित्यिक तीर्थस्थल र गन्तव्यका रुपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारीहरुसँगको आज यहाँ भएको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरुप प्राप्त बजेटको सदुपयोग गर्न उहाँहरुलाई सुझाव दिनुभएको हो ! उहाँले भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्व उजागर गरी गुरुयोजना अनुरुप तदारुकताका साथ काम गर्न सुझाव दिनुभयो ।
नेपाल सरकार मन्त्रिपरिषदको केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाहरुको शालिक निर्माण र आवश्यक साहित्यसंस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई सशर्त पाँच करोड रुपैया बजेट दिने निर्णय गरेको थियो । सो अवसरमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा उहाँप्रति विशेष आभार व्यक्त गर्दै उहाँको प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने बताउनुभयो ।
सो अवसरमा उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिनुभयो । सो अवसरमा सहभागीहरुले संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय सरोकारवाला सक्रियतामा चुँदी रम्घालाई देश विदेशका साहित्य साधकहरुको गन्तव्य र साधना केन्द्र बनाउन काम गर्न सुझाव दिनुभएको थियो ।