काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनताका ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ ।
एमालेले संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त सुझाव सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले ध्यानाकर्षण पत्र बुझाएका हुन् । आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । जसमा गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५, बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पनि ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने बताउनुभएको ज्ञवालीले जानकारी दिए ।
ध्यानाकर्षण मा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् । यसको कार्यान्वयनको पहल र अनुगमनका लागि एमालेले उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी तोकेको उनले बताए ।
Press Statement Magh 9