
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको 'हेडवर्क्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि 'हेडवर्क्स’को निर्माण गरिँदैछ ।
अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुनेछ । 'हेडबक्सु' तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै 'हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिए ।
उनले भने, “अहिले हेडबक्सको भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै 'हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।” 'हेडबक्समा' सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको कामसमेत भइरहेको छ ।
सुरुङको परीक्षण सम्पन्न भएसँगै 'हेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी 'हेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।