एजेन्सी । बलिउड अभिनेता रणदीप हुड्डाले आफ्नो विवाहको मिति घोषणा गरेका छन् । उनी आफ्नी लामो समयदेखिकी प्रेमिका लिन लैशरामसँग नोभेम्बर २९ मा मणिपुरमा विवाह गर्दैछन् । यसबारे जानकारी दिँदै रणदीपले पोस्ट साझा गरे ।
अभिनेताले लेखेका छन्, ‘महाभारतमा अर्जुनले मणिपुरी योद्धा राजकुमारी चित्रांगदासँग विवाह गरेका थिए । हामी पनि परिवार र साथीभाइको आशीर्वादमा विवाह गर्न जाँदैछौं । हामी तपाईसँग यो कुरा साझा गर्न पाउँदा धेरै खुसी छौं कि हाम्रो विवाह २९ नोभेम्बर २०२३ मा इम्फाल, मणिपुरमा हुँदैछ, त्यसपछि हामी मुम्बईमा रिसेप्शन पनि दिनेछौं । हामीलाई तपाईंको आशीर्वाद चाहिन्छ ।’
ई–टाइम्सको रिपोर्टका अनुसार रणदीप हुड्डा र लिन लैशरामको विवाह संस्कार २९ नोभेम्बरको दिउँसोदेखि सुरु भएर रातिसम्म चल्नेछ । उनीहरुले मणिपुरको परम्परा अनुसार मणिपुरी पहिरन लगाएर विवाह गर्नेछन् । विवाहको साँझ मणिपुरको लोकगीतले सजाइनेछ, जहाँ खाना पनि त्यही परम्पराको हुनेछ । विवाहका सबै संस्कार मणिपुरमा हुनेछन् । त्यसपछि जोडीले मुम्बईमा रिसेप्शन दिनेछन् ।
रणदीप हुड्डाकी प्रेमिका लिन लैशराम एक अभिनेत्री र मोडेल हुन् । उनले सन् २००७ मा रिलिज भएको फिल्म ओम शान्ति ओमबाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । यसपछि लिन म्यारी कोम र रंगुन जस्ता फिल्ममा पनि काम गरिन् । लिन हालै रिलिज भएको नेटफ्लिक्स फिल्म जाने जानमा पनि करिना कपूरसँग देखिएकी छिन् ।