
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक ल्याइएको हा ।
यसअघि गत माघमा मलेसियाबाट १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको थियो । त्यसो त चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो नौ महिनामा मलेसियाबाट मात्रै २१९ वटा शव आएको बोर्डले जनाएको छ । बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १६ महिलासहित ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।
गएको साउनदेखि चैत २२ गतेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये त्यो सङ्ख्याले रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव स्वदेश ल्याइएको बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी दिए । बोर्डका अनुसार सो अवधिमा साउदी अरबबाट १७० वटा र कतारबाट ९५ वटा शव आएका छन् । यस्तै सो अवधिमा संयुक्त अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन् । त्यसैगरी यस अवधिमा दक्षिण कोरियाबाट पाँचवटा शव आइपुगे भने जोर्डनबाट तीनवटा र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।