काठमाडौँ : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास ‘अपराजिता’ को लोकार्पण गरिएको छ ।
सुदूरपश्चिम क्षेत्रको सामाजिक परिवेश तथा सशस्त्र द्वन्द्वका समयमा त्यहाँका जनताले भोग्नुपरेको समस्यालाई उजागर गरी लेखिएको उक्त उपन्यासको आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो ।
लोकार्पणपछि पूर्वराष्ट्रपति भण्डारीले ८० वर्ष नाघिसक्नुभएका चन्दले उपन्यास लेखेर देखाउनुभएको सक्रियताबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो । “८० वर्ष नाघिसकेको अवस्थामा समेत चन्दले साहित्य सिर्जनालाई निरन्तरता दिएर अपराजिता जस्तो उत्कृष्ट उपन्यास लेखन गर्नु हामी धेरैलाई विस्मृत पार्ने कुरा हो,”– उहाँले भन्नुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले उक्त उपन्यासले नेपाली साहित्यको भण्डारलाई थप सुदृढ र समृद्ध बनाउन मद्दत पु¥याएको उल्लेख गर्नुभयो । चन्दको सक्रियता र लगनशीलताबाट अन्य साहित्यरकाले प्रेरणा लिनुपर्ने उहाँको भनाइ थियो ।
पुस्तकका लेखक, पूर्वप्रधानमन्त्री चन्दले आफ्नो एउटा उपन्यास लेख्ने धोको भए पनि विगतमा समय अभावका कारण कथामै टुङ्ग्याएको बताउनुभयो । उक्त कृतिलाई उपन्यासको रुपमा प्रकाशित गर्न पाउँदा सन्तोष लागेको उहाँले उल्लेख गर्नुभयो ।
पुस्तकमा शान्तिपूर्ण अहिंसात्मक आन्दोलनको माध्यमबाट नै सिङ्गो सामाजिक परिवर्तन गर्न सकिने आफ्नो वैचारिक एवं दार्शनिक मतलाई प्रस्तुत गरेको पूर्वप्रधानमन्त्री चन्दको भनाइ थियो । रासस