२७ माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुगाको बथानले मकैबाली सखाप



फाईल फोटो
अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले लगाएको मकैबाली सुगाको बथानले खाएर सखाप पार्न थालेको छ । सुगाको बथानले मकैको घोगा खाएर नोक्सानी गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका हुन् ।

बथानका बथान सुगा बिहान, साँझको समयमा आएर मकैबालीमा पसेर नोक्सानी गर्न थालेको मध्यवर्ती क्षेत्रको शुक्लाफाँटा नगरपालिका–२ का किसान गङ्गा बोहराले बताउनुभयो । “दश कठ्ठा जग्गामा बर्खे मकैबाली लगाएको थिएँ”, उहाँले भन्नुभयो, “मकैमा घोगा लाग्न सुरु भएपछि सुगा खेतमा छिर्न थालेका हुन्, पाक्न नपाउँदै पूरै बाली सखाप पारेका छन् ।” सूर्योदय हुनुअघि नै सुगा खेतमा छिर्ने भएकाले थाली ठटाएर सुगा भगाउने गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बादल लागेको दिन र साँझपख सुगाले मकै खान बढी मन पराउने गरेका छन् । “एक हुल भगाउँछौँ अर्को हुल खेतमा बसेर मकै खान सुरु गर्छ, एकछिनमै पूरै मकैका घोगा खाएर फर्कन्छन्”, सिमलफाँटाका रामबहादुर चौधरीले भन्नुभयो, “सुगा भगाउनकै लागि एक जनाको ड्युटी खेतमै दिनभर हुन्छ ।”

उहाँले गुनासो पोख्दै भन्नुभयो, “दिउँसो सुगाले मकैबाली खाएर हैरान पार्छन्, राति निकुञ्जबाट छिर्ने बँदेल खेतमा छिरेर बचेको मकै खाएर फर्कन्छन् ।” खेतमा छरेको मकैको बीउसमेत उठाउन मुस्किल हुन थालेको उहाँले उल्लेख गर्नुभयो । सुगाकै कारण मकैखेती गर्दा खनजोत, सिँचाइ, मलखादको लागत खर्च नउठ्ने भएकाले अधिकांश किसानले बर्खे मकैबाली लगाउन छाड्दै गएका छन् ।

मध्यवर्ती क्षेत्रका किसानले मकैको सट्टा उखुबाली, धानबालीलगायतको खेती गर्न थालेका छन् । पहिला मध्यवर्ती क्षेत्रको कालागौंडी, रानीपुर, ढकनिया, जोनापुर, पिपलाडी, असैना, सिमलफाँटा, दैजी अधिकांश किसानले मकैबाली लगाउने गरेका थिए ।

सुगाकै कारण हाल नगन्य मात्रामा मात्रै किसानले मकैबाली लगाउने गरेका छन् । स्थानीय किसान नरेन्द्र नेगीले सुगाले गरेको मकैबालीमा क्षतिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति दिनुपर्ने बताउनुभयो । निकुञ्ज कार्यालयलाई क्षतिपूर्तिका लागि जनाउँदै आए पनि सुनवाइ नभएको उहाँको भनाइ छ । रासस