काठमाडौं । कोरोना महामारी तीब्रगतिमा बढ्दैछ । संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन । यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति सहज बनाउन सुगम हुन्छ ।
१) हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा 'फिभर क्लिनिक' संचालन गर्ने, हरेक नागरिकले पिसिआर पोजिटिभ आउने वित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।
२) फिभर क्लिनिकमा Triage गर्ने अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने । मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने । छातीको एक्सरे र सिटि लगायतका परीक्षण गर्ने कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने । गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।
३) यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने ।
४) हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन रु यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय र सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।
५) समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने । सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने र गराउने वातावरण निर्माण गर्ने ।
६) कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने र गराउने । अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिवार्य गर्ने ।
७) संक्रमण नफैलिएका जिल्लाको औषधि र उपकरण र जनशक्तिलाई जीवनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने ।
८) सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ, अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरण निर्माण गर्ने ।
९) जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने । सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।
१०) स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत (जस्तै ५० किलो चामल र ५ किलो दाल) उपलब्ध गराउने । राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।
यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ। मानवताको उच्च उदाहरण बनौं ।