काठमाडौं । स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । स्वादमा मिठो हुनुका साथै यसले स्वास्थ्यमा पुर्याउँने फाइदा पनि धेरै नै विशेष छ ।
स्वास्थमा हुने फाइदाहरु :
१) पोषक तत्वको भण्डार : भुइँकटहर पोषक तत्वको भण्डार नै हो । यसमा ब्रोमिलेन, प्रोटिन, कार्बोहाइड्रेट, चिनी र फाइबर पाइन्छ भने भिटामिनमा ए, सी, बिटा क्यारोटिन, थियामिन, बी ५, बी ६ र फोलेट पाइन्छ । यस्तै, खनिज तत्वमा पोटासियम, कपर, म्यागनिज, क्याल्सियम, सोडियम र म्याग्नेसियम पाइन्छ । यसमा कम क्यालोरी हुने हुनाले तौल घटाउन पनि उपयोगी मानिन्छ।
२) रोगप्रतिरोधी क्षमतामा वृद्धि : भुइँकटहर भिटामिन सीको राम्रो स्रोत हो । यसले शरीरमा रोग लाग्न दिँदैन र श्वेत रक्तकोषका गतिविधिमा वृद्धि गरी रोग प्रतिरोधी क्षमता बढाउँछ ।
३) आर्थराइटिस (बाथ) मा उपयोगी : आर्थराइटिससँग सम्बन्धित जोर्नी र मांसपेशीको दुखाइ घटाउने गुण भुइँकटहरमा पाइन्छ । यसमा ब्रोमिलेन नामक दुर्लभ खालको प्रोटियोलाइटिक इन्जाइम हुन्छ । जसले जटिल खालका प्रोटिनलाई टुक्रा पार्छ र पीडा कम गर्न सघाउँछ।
४) क्यान्सर रोकथाम : एन्टिअक्सिडेन्टका साथै भिटामिन ए, बिटा क्यारोटिन, ब्रोमिलेन, फ्लाभोनोइड्स र म्यागनिज पाइने भएकाले भुइँकटहरले मुख, घाँटी तथा स्तन क्यान्सर लाग्नबाट जोगाउँछ ।
५) पाचन प्रणाली मजबुत पार्छ : नियमित भुइँकटहरको सेवनले कब्जियत, पखाला, एथेरोस्केलोसिस, रगत जम्ने समस्या र उच्च रक्तचाप समाधानमा सहयोग पुर्याउँछ । यो फाइबरको राम्रो स्रोत भएकाले पनि पाचन प्रणालीलाई दुरुस्त बनाउँछ र ग्यास्ट्रिक हुन दिँदैन ।
६) खोकी र रुघामा उपयोगी : ब्रोमिलेन र भिटामिन सीको स्रोत भएकाले भुइँकटहरले श्वासप्रश्वास सम्बन्धी समस्यालाई हटाउन र शरीरबाट अनावश्यक खकारजन्य पदार्थ सफा गर्न मद्दत गर्छ ।
७) हड्डी मजबुत पार्छ : भुइँकटहरमा म्यागनिज तत्व यथेष्ट परिमाणमा पाइन्छ । यो तत्वले हड्डीलाई मजबुत पार्नुका साथै हड्डीको वृद्धि र मर्मतमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । एउटा भुइँकटहरबाट शरीरलाई दैनिक चाहिने खनिज तत्वको ७० प्रतिशत हिस्सा प्राप्त गर्न सकिन्छ।
८) घाउ चाँडो निको पार्छ : भिटामिन सी उच्च मात्रामा पाइने हुनाले भुइँकटहरले घाउ तथा चोटपटक चाँडो निको पार्न मद्दत गर्छ र संक्रमणको प्रतिरक्षा गर्छ । यसले रक्त धमनीका भित्ता, छाला, अंगहरु तथा हड्डीका लागि आवश्यक एक प्रकारको प्रोटिन ‘कोलाजेन’ निर्माणमा प्रमुख भूमिका खेल्छ।
भुइँकटहरका अन्य फाइदा : दममा राहत , मधुमेह नियन्त्रण, प्रजनन क्षमतामा वृद्धि, छालाको स्वास्थ्यका लागि फाइदाजनक, मुखको स्वास्थ्यमा उपयोगी, दृष्टि सुधार, रक्तचाप नियमित, मुटुको रक्षा, रक्त सञ्चालनमा सुधार, मिर्गौलाको पत्थरी निकाल्छ ।
स्वास्थमा हुने बेफाइदाहरु :
१) भुइँकटहरमा भएको ब्रोमिलेन तत्वका कारण धेरै खाएका बेला दाँत कुँडिन सक्छ ।
२) मधुमेहका बिरामीले क्यानमा राखिएको जुस सेवन गर्नु हुन्न, त्यसमा बढी मात्रामा चिनीको प्रयोग गरिएको हुन्छ ।
३) गर्भवती महिलाले धेरै भुइँकटहर खानाले गर्भपतन हुने खतरा हुन्छ ।
४) यसमा पोटासियम पाइने भएकाले मिर्गौलाका बिरामीले खाँदा ख्याल पुर्याउनुपर्छ ।
भुइँकटहरका साइड इफेक्ट :
यसो त कसै-कसैलाई भुँइकटहरको एलर्जी पनि हुन सक्छ । आफुलाई भुँइकटहरको एलर्जी वा साइड इफेक्ट छ कि भन्ने थाहा पाउँन पनि सजिलो छ । यो तलका कुनै पनि लक्षण भुइकटहर खाए पछि देखियो भने तपाईलाई भुइकटहरको एलर्जी भएको हुन सक्छ । ध्यान दिनुहोला ।
१) बान्ता आउन सक्छ ।
२) मुख र गाला सुन्निन सक्छ ।
३) छालामा दाग आउन सक्छ ।
४) पखाला लाग्न सक्छ ।
५) टाउको दुख्ने र रिँगटा लाग्न सक्छ।
(एजेन्सीको सहयोगमा)