काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पशुपतिनाथमाथि खनिने गरेका यहाँका कर्मचारी तथा सेवकहरुको गुनासो छ । नेपालका आराध्यदेव तथा विश्वकै हिन्दूहरुको आस्थाको धरोहर पशुपतिनाथ र यसको व्यवस्थापनमा कार्यरत कोषका कर्मचारी र पदाधिकारीहरु पनि मन्त्रीको यो व्यवहारले दिक्क भएको बताउने गरेका छन् ।
उनी मन्त्री भएर आएको केही हप्तामै पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र त्यहाँका कर्मचारीमाथि खनिएका थिए । कोषको अध्यक्ष समेत रहेका मन्त्री किरातीले विकास कोषका कर्मचारीहरु भ्रष्ट भएको भन्दै उनीहरुका काम कारबाहीप्रति सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । उनले कोषका कर्मचारी भ्रष्ट भएको बताएका थिए ।
उनको यो असन्तुष्टी केमा थियो भन्ने कुरा त थाहा भएन, तर पनि यो अभिव्यक्तिको आसय मानौँ कि नेपालका अरु क्षेत्रका कर्मचारी भ्रष्टाचार नै गर्दैनन्, पशुपतिमा मात्र भ्रष्ट कर्मचारी छन् भन्ने थियो । उनको मन्त्रालय अन्तर्गत अरु पनि विभाग छन्, निकाय छन्, कार्यालयहरु छन् । तर त्यहाँ उनले भ्रष्टाचार देखेनन्, पशुपति विकास कोषमा मात्र देखे ।
उनी पशुपतिनाथमाथि खनिएको अर्काे घटना हो पशुपतिनाथ मन्दिरमा राखिएका घयाम्पो (दान पेटिका) हराएको हराउनु, चोरी हुनु त मन्त्रीको दोष नहोला, तर पनि ती दानपेटिका हराउँदा चोरी हुँदा त्यहाँका सिसी क्यामेराका तार काटिएको विषय भने गम्भीर हो । गएको २०७९ माघ १४ गते पहिलो पटक, चैत १४ दोस्रो पटक र २०८० जेष्ठ २९ गते तेस्रो पटक त्यहाँ ती पेटिका नै चोरी भएको छ ।
यस विषयमा सो मन्त्रालयका पूर्वमन्त्री प्रेमबहादुर आलेले नै बिहीबार संसदमा विशेष समय लिएरै कुरा राखेका थिए । तार काट्ने मान्छेलाई कारबाही भएको छैन, बरु पुरस्कार नै दिइएको छ । प्रारम्भिक अनुसन्धानबाट ती व्यक्तिको पहिचान भइ पनि सकेको छ । कोषको प्रशासनलाई पनि थाहा छ । तर यति हुँदा समेत मन्त्री किरातीले कारबाहीका लागि कुनै अग्रसरता देखाएनन् । यो थाहा भएपछि मन्त्री किराती पशुपतिनाथमाथि खनिएको यो अर्काे प्रमाण हो भन्छन् यस क्षेत्रका जानकारहरु ।
यसैगरी विकास कोषको नाममा काठमाडौँको गोठाटारको ५ सय ३५ रोपनी जग्गा मध्ये ५ सय ४ रोपनी मात्रै हाल साबिक गरेर ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरी, त्यही जग्गा अपचलनमा मुछिएका बिचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको आरोप समेत मन्त्री किराँतीलाई लागेको छ । यो आरोप नभएर सही भएको स्वयं यहाँका कर्मचारी तथा पादाधिकारी बताउँछन् ।
गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरु विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाइएको छ भने सरकारी सम्पतीको संरक्षण, सम्र्बधन तथा सुरक्षा गर्नु पर्ने ठाउँमा चोरी भएका घयाम्पो (दान पेटिका) हरुका विषयमा मन्त्री किराँतीले घटना ढाकछोप गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका कर्मचारी सहित त्यहाँका स्थानीयवासीहरु आक्रोसित बनेका हुन् । उनीहरु भन्छन्– आश्थाको धरोहरमाथिको यो आक्रमण हाम्रा लागि असह्य भएको छ, अब हामी आन्दोलनमा उत्रिन्छौँ ।
मन्त्रीजस्तो व्यक्तिले आफै फोहोर टिपेको फोटो खिचेर सरकारी सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेर लोकप्रिय बन्ने बाटो समातेर मन्त्री किरातीका धेरैजसो मिडियाबाजी त मन्त्रालयका उच्च पदस्थहरुले बुझेकै छन् । मन्त्री किराँती पछिल्लो समय आफ्नै कारणले बिबादीत बन्दै गएको कतिपयको बुझाई रहेको छ ।
उनले आफू आएको तीन महिनामै नेपाल वायुसेवा निगम नाफामा गएको प्रचार गराए । तर त्यो पनि सही नभएको प्रष्ट देखिएको छ । यस वर्षको महालेखाको प्रतिबेदन र अर्थमन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा रु १ अर्ब ७० करोड देखिएको तथा वायुसेवाको कुल ऋण रु ५० अर्ब नाघिसकेको समयमा मन्त्री किराँतीले तीन महिनामा निगमले रु ४ अर्ब नाफा कमायो भन्दै भाषण गर्ने गरेका छन् । निगमको दुर्गम उडानमा रहेका टुइनअटर जहाजमा रु २५ लाख पर्ने भीएचएफ फेर्न नसकेर बिगत दुई महिनादेखि घाममा थन्किएका छन् । तर मन्त्रीले कोबाट डाटा लिए र निगम नाफामा छ भन्दै भाषण गर्ने गरेका हुन् ?
मन्त्री किरातीले आफू मन्त्री भएपछि नै खादा माला बहिस्कार गरेर प्रचार गराएका थिए । उनी प्रधानमन्त्रीसहित विशिष्ठ व्यक्तिहरुसँग केही दिनअघिमात्र पशुपतीनाथ मन्दिर दशर्नमा जादा पनि खादा, माला बहिस्कार गरेका थिए । तर पर्यटनमन्त्री किराँतीले आफ्ना परिवारजनको तीनपुस्ते विवरण पशुपतिको मुलढोकाको बिरुवामा टासेको विषयले अहिले निकै चर्चा पाएको छ ।
पशुपति क्षेत्र विकास कोषको रकमबाट मन्दिरमा तीनपुस्ते विवरण सहित फोटो टास्न लगाएका छन् भने आफ्नी आमाको स्मृतिमा चौतारी नै बनाउन लगाएका छन् । यो कार्यको जनस्तरबाट विरोध पनि भएको छ । यसरी सरकारकै खर्चमा आफ्ना आफन्तको नाममा बिरुवा रोप्ने या कुनै संरचना बनाउने हो भने मन्त्रीहरुले आफ्ना विभागका कार्यालयहरु आदिमा पनि त आफन्तका नाम राख्दै जाँदा भैगो नि भन्दै जनस्तरबाट पनि बिरोध सुरु भएको छ ।
यसैगरी गएको जेठ २६ गते मन्त्रीस्तरीय निर्णयबाट बन्दै गरेको कानुनको मस्यौदालाई हवला दिँदै मन्त्री किराँतीले काभ्रेमा निजी क्षेत्रलाई हेलिपोर्ट निर्माणका लागि अनुमति दिएको विषय अहिले निकै चर्चामा आएको छ । हेलिपोर्ट निर्माणका लागि अनुमति दिनु नेपालको संविधान बिपरित रहेको भन्दै नागरिक स्तरबाट आक्रोस व्यक्त हुन थालेको छ ।
जसमा रक्षा मन्त्रालय र जङ्गी अड्डाको गम्भीर असहमति थियो । ३२ रोपनी क्षेत्रफलमा भक्तपुरको नलिनचोकमा २७ हेलिकप्टर पार्किङ क्षमताको रु १५ करोड लगानीमा नेपाल सरकारको स्वामित्वको नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिपोर्ट बनाई रहदा निजी क्षेत्रलाई हेलिपोर्ट बनाउन किन दिइयो भन्दै जनस्तरमा आक्रोस फैलिएको बताइएको छ ।
पशुपति क्षेत्र विकास कोषका कर्मचारीलाई भ्रष्ट भन्दै उनीहरुको काम प्रति असन्तुष्ट देखिँदै आएका मन्त्री किरातीले पछिल्लो समय विकास कोषमा आफु निकटका तथा नातेदारहरुलाई धमाधम भर्ती गरेका छन् । यसकारण पनि यहाँका कर्मचारी आक्रोसित भएका छन् ।