काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकलाई अहिले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।
सत्ता गठबन्धनका तीन राजनीतिक दलले प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जबरा (हाल निलम्बित) माथि संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएपछि सोबारे धारणा बनाउन संसदीय दलको बैठक बसेको हो । बैठकमा महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने सम्बन्धमा महत्वपूर्ण निर्णय हुने बताइएको छ ।
यसअघि हिजो आइतबार पार्टी अध्यक्ष ओली निवास बालकोटमा भएको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महाअभियोग प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
सो बैठकले सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको आरोप लगाएको थियो । एमाले महासचिव शङ्कर पोखरेलले सत्ता गठबन्धनले लोकतान्त्रिक गणतन्त्रविरुद्ध गतिविधि गरेको भन्दै महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको बताउनुभएको थियो।