
काठमाडौं । सरकारले मनसुन सुरु भएसँगै विपदबाट हुने घटना न्यूनीकरणका लागि जोखिम क्षेत्रको नक्सा तयार गरी प्रतिकार्य योजना बनाएको छ । प्रतिकार्य योजनामा विपदबाट प्रभावित हुनेहरूको ३० मिनेटभित्रै उद्धार गर्नेगरी तयारी गरिएको छ ।
गृह मन्त्रालयले बुधबार ‘ मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०७८’ पारित गर्दै विपदबाट हुन सक्ने जोखिम कम गर्नेगरी रणनीति तय गरेको हो । गृहमन्त्री खगराज अधिकारीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ११औं बैठकले विपदबाट हुन सक्ने क्षति र त्यसलाई रोक्न सरकारी स्तरबाट गरिनुपर्ने कार्यलाई पारित योजनामा राखेको छ ।
जसअनुसार प्रत्येक जिल्लामा सडकको पहुँच भएको ठाउँमा घटना भएको ३० मिनेटभित्र सुरक्षाकर्मीको टोली परिचालन गर्ने निर्णय गरिएको छ । सो कार्यको प्रभावकारी कार्यान्वयनका लागि बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीनवटै सुरक्षा निकाय सम्मिलित डेडिकेटेड डिजास्टर रेस्पोन्स टिम (डीडीआरटी)समेत गठन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।