९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नयाँ वर्ष : वाग्द्वार र सपनतीर्थमा स्नान गर्नेको भीड



अ+ अ-

काठमाडौँ । नयाँ वर्षको सूर्योदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा रहेको वाग्द्वारमा स्नान गर्नेको घुइचो लागेको छ ।

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ । मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ लागेको हो । कति भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी बिहीबार पुगेका थिए ।

राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । चार वर्षअघि वाग्द्वार एवं यसको प्रवेशमार्ग सुन्दरीजलको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्द्वारको प्रचारप्रसार गर्न गोकर्णेश्वर नगरपालिकोले महोत्सवको आयोजना गरेको थियो । नगरपालिकाले महोत्सवका नाममा बजेट सक्ने तर पर्यटकीय स्थलको प्रचारप्रसारमा वर्षभर काम नगर्ने गरेको स्थानीय सोमबहादुर तामाङको गुनासो छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र काठमाडौँ र नुवाकोट जिल्ला एवं गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वार नववर्षका दिन स्नानका लागि पवित्र तीर्थस्थल मानिन्छ । आजको दिनमा यहाँ आई स्नान गरेमा पाप पखालिई अक्षय पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको वैशाख सङ्क्रान्तिका दिन वाग्मतीमा स्नान गरेमा मनकामना सिद्ध हुने धार्मिक विश्वास समेत छ ।

वैशाख महिना र वाग्मतीको सम्बन्ध रहेकाले प्राचीनकालदेखि नै चोभारदेखि वाग्द्वारसम्म वाग्मती तीर्थयात्रा गर्ने विधान छ । विसं २०३० देखि लोप भएको यो जात्रालाई पशुपति क्षेत्र विकास कोषले २०७५ देखि निरन्तरता दिएको छ । विसं २०७७ देखि २०७९ सम्म कोरोना महामारीका कारण वाग्मती तीर्थयात्रा हुन सकेन । यस वर्ष भने वाग्मती तीर्थयात्रा गर्ने नगर्ने निश्चित नभएको कोषले जनाएको छ ।

वाग्मती उत्पत्तिको कथा

वाग्द्वारको उत्पत्तिका विषयमा विभिन्न किम्बदन्ती प्रसिद्ध छन् । सृष्टिको सुरुमा ब्रह्माजी मृगेन्द्रशिखरको मध्यभागमा तपस्या गरेर बस्दा पानीको अभाव भयो । ब्रह्माजीले शिवजीको ध्यान गरी शिवजीको वाग्अर्थात् बोलीबाट प्रकट भएकाले यस नदीको नाम वाग्मती रहेको नेपाल माहात्म्यको हिमवत्खण्डलगायतका धार्मिक ग्रन्थमा व्याख्या गरिएको वेदमा विद्यावारिधि गर्नुभएका प्रा डा ऋषिराम पोखरेल बताउनुहुन्छ ।

“ब्रह्माजीले शिवजीको तपस्या गर्दा सबै देवता आई देवसभा नै यहीँ भएको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ, यही सभाका समयमा शिवजीको बोलीबाट वाग्मती प्रकट भएकाले यस नदीलाई ब्राह्मी, सरस्वती, भारती, वाग्मती र वाग्मती आदि नामले पुकारिन्छ”, उहाँले भन्नुभयो ।

वाग्मती प्रकट भइसकेपछि शिवजीले यस नदीमा स्नान गर्न हिँडेमा मात्र पनिअश्वमेध यज्ञ गरे बराबरको फल प्राप्त हुनेछ, भुक्ति र मुक्ति प्राप्त हुनेछ भनी वरदान दिएकाले अहिलेसम्म पनि स्नान मेला लागेको धार्मिक विश्वास छ ।

वाग्मती नदी प्रकट भएको मृगेन्द्र शिखरको जल खाएमा भकभके बोली भएकाको बोलीमा शुद्धता आउने जन विश्वास छ । यही विश्वासका कारण पनि वैशाख १ गते हजारौँ मानिस स्नान र जल सेवनका लागि वाग्द्वारमा आउने गर्छन् ।

शिवजीको बोलीबाट वाग्मती प्रकट भएर अरु नदी मिसिने प्रत्येक स्थानमा तीर्थ बन्नेछ र यहाँ स्नान एवं दान गरेमा पुण्य प्राप्त हुनेछ भनी भगवान् विष्णुले वरदान दिएकाले सूर्यग्रहण, चन्द्रग्रहण र औँसी आदि पर्वमा वाग्मतीमा स्नान गरी दान दिने परम्परा सनातनदेखि चली आएको वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटा बताउनुहुन्छ ।

वाग्मती नदी भारतमा रहेको जमुना नदीसँग नमिलुञ्जेल अविच्छिन्नरुपमा वाग्मतीकै नामले चिनिने र यसबीचमा एक हजार आठ तीर्थस्थल बनेका छन् । यसैकारण पनि नेपालमा मात्र नभई भारतमा समेत वाग्मतीलाई पवित्र तीर्थस्थलका रुपमा लिइन्छ ।

प्राचीनकालमै तपस्या, ध्यान र साधनाका लागि सिद्ध स्थल मानिएको शिवपुरी क्षेत्रमा अगस्त्य, दधिची र कार्तिकेयलगायतका ऋषिले आई तपस्या गरेको प्रमाण विभिन्न शास्त्रमा उल्लेख गरिएको छ । आधुनिक युगमा पनि शिवपुरी बाबा यसै क्षेत्रमा आई तपस्या गरेर विश्वप्रसिद्ध हुनुभयो । हाल २८ वर्षदेखि टोड्के बाबा नामले परिचित एकजना साधु वाग्द्वारमै बसेर तपस्या गरिरहनुभएको छ ।

यस क्षेत्रमा शिव पार्वतीको जोडी घुम्दै आउँदा सुन्दरीजलको झरनाबाट मोहित भएर शिव त्यहीँ बसी तपस्या गर्दा शैलमतेश्वर र पार्वती तपस्या गरेको स्थान शैलवतीअर्थात् सुन्दरीमाईका रुपमा अहिलेसम्म पनि प्रख्यात छन्् । दुवैको नामबाट प्राचीनकालदेखि नै सुन्दरीजल नामकरण भएको स्थानीयवासीको विश्वास छ ।

प्रत्येक वर्ष वैशाख १ गते वाग्द्वारमा स्नान गर्न आउने धुनिबेँसीका रामचन्द्र बजगाईँँ आफूमा आनन्द बढेको र वर्षमा एकपटक मात्र भए पनि वन जङ्गलको मार्गमा तीन घण्टा हिँड्दा स्वास्थ्यमा राम्रो भएको अनुभवले स्नान गर्न जाने गरेको बताउनुहुन्छ ।

वाग्द्वार क्षेत्र सेवा समितिका अध्यक्ष अरुण ठकुरी वाग्मतीको उद्गमस्थलमा स्नान गरी शिवपुरी डाँडामा रहेको ३५ मिटर अग्लो शत रुद्रेश्वर शिलामा पूजा गर्ने विधि रहेको बताउनुहुन्छ । दर्शनार्थीले यसपछि विष्णुद्वारमा स्नान गरेर विष्णुपादुकामा दर्शन गर्ने विधान छ । यसो गरेमा दर्शनार्थीको मनकामना पूरा हुने जनविश्वास छ । यहाँबाट भक्तजन टोखा नगरपालिकाको सपनतीर्थ मेला भर्न जान्छन् ।

टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ आजको दिन सपनतीर्थको कुण्डमा पुगी स्नान गरेमा घाउ खटिरा नआउने जनविश्वास रहेको बताउनुहुन्छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष यहाँ हजारौँ भक्तजन आउने गरेको उहाँले जानकारी दिनुभयो ।

यसरी पुगिन्छ वाग्द्वार

वाग्द्वार बूढानीलकण्ठ र सुन्दरीजल दुई ठाउँबाट जान सकिन्छ । बूढानीलकण्ठबाट तीन घण्टा र सुन्दरीजलबाट साढे तीनदेखि चार घण्टा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रमणीय यात्रा गरेपछि प्राकृतिक छटा र सौन्दर्यले भरिएको वाग्द्वार पुगिन्छ । यहाँबाट विष्णुपादुका हुँदै सपनतीर्थमा स्नान गर्न जाने विधि प्राचीनकालदेखि राजधानीवासीमा रहेको छ ।

वैशाख १ गते वाग्द्वार र सपनतीर्थ स्नान गरी भक्तपुरको बिस्केट जात्रा हेरेमा वर्षभर रोगव्याध नलाग्ने किम्वदन्तीसमेत उपत्यकावासीमा प्रचलित रही आएको छ । यही मान्यताका आधारमा भक्तजनको भीड लाग्छ । रासस