१९ माघ २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

नक्कली शरणार्थी बनाइ करोडौँ असुली गर्ने पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र रु १३ करोड ६३ लाखभन्दा बढी ठगी गरेको पाइएको छ ।

नक्कली शरणार्थी बन्न फारम भर्नुपर्ने भन्दै प्रतिव्यक्ति रु २० लाखसम्म असुलेको पीडितले बताएका छन् । उनीहरुले आफ्नो सम्पर्कमा आएका र उनीहरुको चिनजानमा रहेका व्यक्तिलाई प्रयोग गरी तिनका आफन्त र नातागोतालाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनी लोभमा फसाएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

त्यसरी लोभमा फसाएर उनीहरुले भुटानी शरणार्थीको नाम दर्ताका लागि भनेर फाराम भर्न लगाएका पाइएको कार्यालका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उनीहरुले पीडितबाट त्यसरी लोभमा फसाएर प्रतिव्यक्ति रु १५ देखि २० लाख लिने गरेका थिए । यसरी फाराम भरेका सबै नेपाली नागरिक रहेको अनुसन्धानमा भेटिएको प्रहरीले जनाएको छ ।

उनीहरुले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ भइरहेको भन्दै गृह, श्रम मन्त्रालय र शरणार्थीसँग सम्बन्धित विभिन्न निकायसँग सम्बन्धित पत्र, निर्णय देखाएर विश्वासमा पार्ने गरेको पनि खुलेको छ ।

अमेरिका लैजाने भनेर बहानामाथि बहाना बनाएपछि मात्रै पीडितहरुले आफू ठगिएको चाल पाएका थिए । त्यतिबेला भने उनीहरुले रकम बुझाइसकेका थिए ।

लामो समयसम्म अमेरिका जाने नदेखिएपछि आफूहरु ठगी भएको थाहा पाई पीडितहरुले आफ्नो पैसा फिर्ता गरभन्दा पीडकले उल्टै ज्यान मार्नेसम्मको धम्की दिएका थिए । त्यसपछि ८१ जना पीडित प्रहरीकामा आइपुगेका हुन् । ठगी भएको रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग भएको पाइएको छ । पीडितले ६५ लाखभन्दा बढी रकम ती व्यक्तिको खातामा जम्मा गरेको भेटिएको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

पीडितमध्ये १० जनाभन्दा बढीका नाममा गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचय पत्र तथा ट्राभल डकुमेन्ट समेत बनेको पाइएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने खेलमा तत्कालीन मन्त्रालयका पदाधिकारी र शरणार्थी समस्या समाधानसम्बन्धी कार्यदलका सदस्यकोसमेत मिलेमतो रहेको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । उक्त घटनामा अन्य व्यक्तिसमेत संलग्न रहेको आशङ्कामा खोजी पनि जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउपर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ सीतापाखा हाइट बस्ने वर्ष ५० का सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भई हाल ललितपुरको धापाखेल बस्ने वर्ष ४९ का केशवप्रसाद दुलाल र पाँचथरको फिदिम घर भई हाल ललितपुरको धापाखेल बस्ने ४५ वर्षका टङ्ककुमार गुरुङ रहेका छन् । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।